मधेसी राष्ट्रिय मुक्तिमोर्चा बाराको सम्मेलन

 
बारा : मधेसी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) नेपाल बाराको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले किशोरकुमार मण्डलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । जसको उपाध्यक्षमा ललन पटेल, सचिव दिनेश यादव र कोषाध्यक्ष रुवागति चौधरी रहेका छन् ।

भेलामा  नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष देवनारायण शाह प्रमुख अतिथि थिए । सम्मेलनमा बोल्दै अध्यक्ष शाहले एकीकृत जनक्रान्तिमार्फत स्थापना हुने वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र मधेसी समुदायको मुक्ति सम्भव हुने बताए । साथै उनले हिमालमा यार्सागुम्बा हुने तर हिमाली जनताले प्रयोग गर्न नपाउने तराईको श्रोतसाधन पनि तराईका जनताले उपयोग गर्न नपाउने भन्दै दलाल संसदीय ब्यवस्था रहेसम्म यो प्रक्रिया चलिरहने बताए ।

       सम्मेलनमा नेकपाका रौतहट इन्चार्ज शंकर, बारा जिल्ला सेक्रेटरी राजन, पर्सा जिल्ला सेक्रेटरी राजु, मधेसी राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य पारस ठाकुर, पर्सा अध्यक्ष रामबाबु यादव लगायत उपस्थित थिए । मोर्चाका केन्द्रीय सदस्य नवीनाको अध्यक्षतामा सम्पन्न सम्मेलनको सञ्चालन शिवाले गरेकी थिइन् ।

सम्मेलनपुर्व मधेसी मुक्ति मोर्चाले निकालेको ¥यालीले बारा कलैयाको पशुअस्पताल, घण्टाघर, जिल्ला अदालत, सोना मार्केट हुदै नगरपरिकर्मा गरेको थियो ।

२०७५ माघ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :