सगरमाथा ब्युरोमा नेकपाको अभियानमा व्यापक बन्दै

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरिरहेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सगरमाथामा व्यापक रूपमा अघि बढिरहेको छ । अभियानका क्रममा दर्जनौँ क्रान्तिकारी नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् । पूर्वमाओवादी केन्द्रका सदस्य रामकृष्ण सदाको नेतृत्वमा १६ जना नेता–कार्यकर्ता नेकपामा समाहित भएका हुन् । ध्रुवीकरण हुने नेता–कार्यकर्तालाई पार्टीका केन्द्रीय सदस्य सञ्जीवले अबिर, टीका र खादा लगाएर स्वागत गरेका छन् । कार्यक्रममा नेता सञ्जीवले बाँकी क्रान्ति पूरा गर्न सबै इमानदार क्रान्तिकारी नेता–कार्यकर्ता ध्रुवीकृत हुनुपर्ने बताए । इमानदार क्रान्तिकारीहरू ध्रुवीकरण हुन ढिला गरे देश नै सङ्कटमा पर्ने सञ्जीवको भनाइ थियो । अहिलेको यो अभियान दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट थोपरिएको राष्ट्रघात, जनघात, भ्रष्टाचार, तस्करी र दलालीका विरुद्ध जनतालाई सुसूचित गर्दै वैज्ञानिक समाजवाद स्थापनाका लागि सबै इमानदार क्रान्तिकारी जनतालाई गोलबद्ध गर्ने बताए ।

अभियानका क्रममा उदयपुरको त्रियुगा नगरपालिका १३, १४ र १६ नं. वडाका भातिखर्क, असारी, धापखर्क, निपाने, चिलाउनेलगायत ठाउँमा दर्जनौँ कोणसभा, पिँढीसभा र भित्तेलेखन भएका छन् भने व्यापक रूपमा सङ्गठन निर्माण भएका छन् । त्यस्तै चौदण्डीगढी नगरपालिकाअन्तर्गत वडा नं. १, २, ३, ४ का कटहरे, अजिङ्गरे, स्कुलबारी, भोर्लेनी मकमडाँडा, अमलचौरी, गङ्गटे, कुसुमचौरी, तर्लङटार, भित्तेटोललगायत दर्जनौँ ठाउँमा कोणसभा, पिँढी सभा, भित्तेलेखन र सङ्गठन निर्माण भएका छन् । त्यस्तै बेलका नगरपालिकाका वडा नं. ३, ४ र ५ का शिखरमाडी, झोडापाटा, डाँडागाउँ, मैनी, लालबजार, जहडा, रातापानी, जोगिनी, गुरुङचौरी आदि ठाउँहरूमा दर्जनौँ कोणसभा, पिँढीसभा, भित्तेलेखन र सङ्गठन निर्माण भएको छ । त्यस क्षेत्रका क्याम्पस र विद्यालयहरूमा व्यापक छलफल चलाइएको र सहिद परिवार, बेपत्ता परिवार र पूर्वजनमुक्ति सेनासँग भेटघाट तथा छलफल भएका छन् । त्यस्तै सगरमाथा ब्युरोअन्तर्गतका जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुमा पनि अभियान व्यापक भइरहेको जानकारी सगरमाथा ब्युरो कार्यालय सचिव शैलेशले दिए ।

२०७५ माघ १६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :