सार्वजनिक जग्गामा ठडियो मिनी ठमेल भनिने छायाँदेवी कम्प्लेक्स

काठमाडौं : राज्यसत्ताको आडमा पुरातात्विक महत्व बोकेको श्री सिंहसार्थ बाहु गरुड भगवानको नाममा रहेको १२ रोपनी क्षेत्रफलमा फैलिएको कमलपोखरीमा मिनी ठमेल भनिने छायाँदेवी कम्प्लेक्स ठडिएको छ । काठमाडौं महानगरपालिका वडा नं. २९ ठमेलस्थित कित्ता नं. १४० र कित्ता नं. १६७ को पोखरीमा अहिले १५ तले छायाँदेवी कम्प्लेक्स निर्माण भएको छ । भवनमा १ सय ६८ कोठा रहेका छन् उक्त भवन १५ अर्व रुपैयाको लगानीमा बनेको र यहाँ ५ तारे होटेल, सिनेमा हल लगायतका संरचना निर्माण हुने छायाँदेवी सेन्टरका सञ्चालक महेश श्रेष्ठले जानकारी दिए । २०७१ सालमा कम्प्लेक्स निर्माणकार्य सुरु गर्दा उक्त जग्गा सार्वजनिक भएको र निर्माण कार्य अगाडि नबढाउनु भन्दै स्थानीयहरुले विरोध जनाए पनि शक्ति केन्द्रको दवाव र धम्कीको आडमा निर्माण कार्य अगाडि बढाएको स्थानीयहरुले बताएका छन् ।

 

२०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिकरण गरेको थियो । त्यसभन्दा अगाडि यसको स्वामित्व राणा परिवारमा रहेको थियो । केशरसमशेर राणाले गुठीलाई वार्षिक १ सय ५५ रुपैया तिर्नेगरी १९७७ सालमा उक्त पोखरी लिएका थिए । केशर समशेरको मृत्युपछि उनका छोरा केवर शमसेरले पोखरी सुकाएर २०२७ सालदेखि धान रोप्न सुरु गरे र त्यसपछि बदनियतपुर्वक मोही दर्ता गराई आफ्नो बनाएका थिए । त्यस समय भन्दा अगाडि उक्त पोखरी भगवानलाई चढाउँन यहीको कमलको फुल प्रयोग गर्ने चलन थियो ।

२०३३ सालमा शहरी क्षेत्र नापी हुँदा उक्त पोखरी कित्ता नं. १६७ मा मालपोत कार्यालयको रेकर्डमा छ । वि.स. २०३९ को भूमि सुधार मन्त्रालयको जग्गा धनी पुर्जामा समेत उक्त कित्ता पोखरीको नाममा नै रहेको छ । त्यसवेलाको पुर्जामा जग्गा धनी सिंहसार्थ बाहु गुठी लेखिएको छ । त्यसै गरी २०४२ सालमासमेत पोखरी नै कायम छ ।

२०४४ मा सरकारले निर्णय गरेर उक्त पोखरी सरकारको नाममा दर्ता गराएको पाइन्छ । त्यसयता बनेका जग्गा धनी श्रेष्तामासमेत पोखरी नै उल्लेख भएको छ । स्थानीयहरुका अनुसार उक्त पोखरी परापुर्वकालदेखि नै सार्वजनिक रहेको भन्दै बेलाबेलामा छायाँदेवी विरुद्ध आन्दोलन गर्दै आइरहेका छन् । स्थानीय तथा गुठियार भगवतसिंह प्रधानका अनुसार राज्यसत्ताको आडमा छायाँदेवी कम्प्लेक्सले सार्वजनिक गुठीको जमिन कब्जा गरेको भन्दै विरोध तथा आन्दोलन गरेको बताएका छन् ।

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :