आन्तोन चेखभ – २

चेखभ, जो आफैँ अति मोहक तरिकाले सीधासादा हुनुहुन्थ्यो । सब सरल, स्वच्छ र हार्दिक कुरा रुचाउनुहुन्थ्यो । मान्छेलाई सरल बनाउने उहाँको आफ्नै तरिका थियो । एकपल्ट भड्किलो लुगा, लगाएका तीनजना आइमाईहरू उहाँलाई भेट्न आएका थिए । रेसमी स्कर्टको सरसराहट र कडा अत्तरको सुगन्ध कोठामा फैलाउँदै उनीहरू बडो नक्कलझक्कल पार्दै चेखभको अगाडि बसे र राजनीतिबारे ठूलो चाख छ भन्ने स्वाङ पार्दै उहाँसँग प्रश्नहरू सोध्न थाले–
आन्तोन पाभलोभिच ! तपाईंको विचारमा यस युद्धको अन्त्य कस्तो होला ?
चेखभले खोक्नुभयो । एकछिन सोच्नुभयो र कोमल, गम्भीर र स्नेहपूर्ण स्वरमा जबाफ दिनुभयो– शान्ति हुनुपर्छ । अवश्य, हो त नि ! तर कुनै पक्षको विजय होला ? ग्रिक अथवा टर्क पक्षको ? मलाई लाग्छ त्यसै पक्षको विजय हुनेछ जो बढी शक्तिशाली छ ।
तपाईंलाई कुन पक्ष बढी शक्तिशाली लाग्छ ? आइमाईहरूले एकै स्वरले सोधे ।
त्यही पक्ष जसले बढी राम्रो खाना पाउँछ र बढी शिक्षित छ … ।
कति रमाइलो कुरा गर्नुभएछ त ! एउटीले प्रशंसापूर्वक भनिन् । तपाईं कुन पक्ष बढी मन पराउनुहुन्छ ग्रिकहरू अथवा टर्कहरू, अर्कीले सोधिन् ।
आन्तोन पाभलोभिचले स्नेहपूर्वक तिनलाई हेर्नुभयो र अति विनम्र, मीठो मुस्कानसहित जबाफ दिनुभयो– मलाई मुरब्बा मनपर्छ । तपाईं मन पराउनुहुन्छ ?
‘असाध्यै !’ युवतीले दङ्ग पर्दै भनिन् ।
‘कति मीठो बास्ना आउँछ !’, अर्कीले गम्भीरतापूर्वक भनिन् ।

अब तिनै युवतीहरु बडो जोससाथ वार्तालापमा भाग लिँदै थिए । उनीहरु मुरब्बाको विषयमा आफ्नो उत्कृष्ट जानकारी र सूक्ष्म ज्ञान प्रकट गर्दै थिए ।
आफ्नो दिमाग खियाउनु नपर्दा र टर्क र ग्रिकहरुप्रति जसबारे यसभन्दा अगाडि उनीहरुले सोचेकासम्म थिएनन् । गाढा रुचि भएको स्वाङ गर्नु नपर्दा उनीहरु निकै खुसी देखिन्थे ।
बिदा हुँदा उनीहरुले रमाउँदै आन्तोन पाभलोभिचलाई वचन दिए– हामी तपाईंलाई मुरब्बा उपहार पठाउँछौँ । कति राम्ररी कुराकानी चलाउनुभएछ त ? उनीहरु हिँडिसकेपछि मैले चेखबलाई भनेँ ।
चेखब सुस्तरी हाँस्नुभयो र भन्नुभयो, हरेक मान्छेहरुले आफ्नो भाषामा बोल्नुपर्छ ।

अर्कोपल्ट मैले उहाँको कोठामा एक सुन्दर युवा सायद अभियोक्तालाई भेट्टाएँ । ऊ चेखबको अगाडि उभिएको थियो र आफ्नो घुँग्रिएको कपाल हल्लाउँदै फूर्तिसाथ भन्दै थियो, अपराधी कथामा आन्तोन पाभलोभिच तपाईंले एक जटिल प्रश्न राखिदिनुभएको छ । डेनिस गिगोरिएभमा सचेतन , अराधी प्रवृत्ति छ भन्ने कुरा स्वीकार गर्ने हो भने मैले सामाजिक हितका लागि बिनाकुनै आनाकानी देनिसलाई जेल राख्नुपर्छ तर ऊ त जङ्गली हो । तर यदि मैले उसलाई विवेकहीन मान्छे ठान्ने हो भने र उसमाथि दयामाया गर्ने हो भने देनिसले फेरि रेलको लिकमा पेच फुकाल्नेछैन र फेरि दुर्घटना गराउनेछैन भन्ने कुराको ग्यारेन्टी समाजलाई कसरी दिन सक्छु ?
यही छ समस्या !
के गर्ने हो ? ऊ चुप लाग्यो, मेचमा पछिल्तिर झुक्दै पाभलोभिचलाई प्रश्नसूचक दृष्टिले हेर्न थाल्यो । त्यस युवा न्यायाधिकारीको बर्दी बिलकुल नयाँ थियो र कोटका टाँकहरु यस्तै घमन्डी र मूर्ख तरिकाले चम्किँदै थिए ।
‘म न्यायाधीश भइदिएको भए’, आन्तोन पाभलोभिचले गम्भीरतापूर्वक भन्नुभयो, ‘देनिसलाई रिहा गर्थें होला ।’
कुन आधारमा ?
म उसलाई भन्थेँ हुँला देनिस तँ अझ पक्का अपराधी बनिसकेको छैन् । जा पक्का अपराधी बन् !
त्यो वकिल हाँस्यो । फेरि तुरुन्तै एकदम गम्भीर अनुहार लाउँदै भन्नु थाल्यो, ‘होइन, आदरणीय आन्तोन पाभलोभिच, तपाईंले जुन प्रश्न अगाडि राख्नुभएको छ सामाजिक हितको पक्षमा मात्र त्यस प्रश्नको समाधन हुन सक्छ र सामाजिक जीवन तथा सम्पत्तिको संरक्षण गर्ने अभिभारा मैले लिएको छु । देनिस जङ्गली हो । तर ऊ अपराधी पनि हो र यही वास्तविकता हो ।’
होइन, ग्रामोफोन सुन्न मन पराउनुहुन्छ ?
चेखोभले स्नेहपूर्वह सोध्नुभयो, ‘हो, असाध्यै मन पराउँछु । बडो आश्चर्यजनक आविष्कार छ ।’ त्यस युवकले उत्साहजनक जबाफ दियो ।
मचाहिँ ग्रामोफोन भनेपछि पटक्कै रुचाउन्नँ । आन्तोन पाभलोभिचले खिन्नतापूर्वक भन्नुभयो ।
किन र ?
किनभने ग्रामोफोन बज्छ, गाउँछ तर यसमा भाव हुँदैन । यसको आवाज अचाक्ली निरस र निर्जीव हुन्छ । तपाईंलाईै फोटोग्राफीको सोख छ ?
वकिल फोटोग्राफी पनि अन्धभक्त रहेछ, उसले बडो उत्साहपूर्वक फोटोग्राफीबारे कुरा गर्न थाल्यो । ग्रामोफोनबारे जुन ‘आश्चर्यजनक आविष्कारसँग’ ऊ आफैँ धेरै मिल्दोजुल्दो थियो र जुन कुरा चेखोबले सूक्ष्म रुपले ठम्यषउनुभएको थियो ।
उसले ठ्याम्मै बिर्सिदियो ।
मैले देखेँ बर्दीभित्रबाट एक सजीव र निकै रमाइलो मान्छेले चियाउँदैछ । उसले जीवनमा अहिलेसम्म कुनै पिरमर्का सहेको थिएन ।
युवकलाई बिदा गरिसकेपछि आन्तोन पाभलोभिचले अँध्यारो मुख लाउँदै भन्नुभयो, ‘देख्नुभो त, कस्ताकस्ता मान्छेहरूलाई हाम्रो न्याय गर्ने अभिभारा सुम्पिइँदोरहेछ । मान्छेहरूको भाग्यसँग खेलबाड गर्न दिइँदोरहेछ । एकछिन चुप लागिसकेपछि उहाँले थप्नुभयो । यी अभियोक्ताहरू खुब मार्न मन पराउँछन्, विशेष गरेर पर्च माछा । अश्लीलता चाहे जहाँसुकै लुकेर बसेको किन नहोस्, यसलाई भेट्टाउने र यसको भण्डाफोर गर्ने कला चेखोभले जान्नुभएको थियो । यस्तो कलामा त्यस्तै मान्छेले मात्र निपुणता प्राप्त गर्न सक्छ । जसले जीवनप्रति उच्च माग राखेको हुन्छ । जो मान्छेलाई सरल, सुन्दर सर्वगुणसम्पन्न देख्न उत्कट अभिलाषाले प्रेरित भएको हुन्छ । उहाँ सदैव अश्लीलताको लागि एक अत्यन्त निर्दयी तथा कठोर न्यायाधीश बन्नुभएको थियो ।

किशोरावस्थामा अश्लीलता मनोरञ्जक अथवा तुच्छ मात्रै लाग्न सक्छ । तर बिस्तारै मान्छेलाई यसको खैरो बादलले घेर्दै लैजान्छ । बिख अथवा धुवाँजस्तो मस्तिष्क र रगतमा फैलिँदै जान्छ र मान्छे खिया लागेको पुरानो साइनबोर्डजस्तो देखिन थाल्छ । त्यस साइनबोर्डमा केही लेखिएको हुन्छ तर के हो ? बुझ्न सकिन्न ।
आन्तोन चेखभले आफ्ना सुरुका कथाहरूमा नै अश्लीलताको धमिलो सागरमा दुःखद्, उदास, ठट्टेउला कुराहरू भेट्टाइसक्नुभएको थियो । उहाँका हास्यकथाहरू ध्यानपूर्वक पढ्ने हो भने थाहा पाइन्छ– यी हाँसोलाग्दा कथनहरू र घटनाहरूको पछाडि कथाकारले कति निर्दयी र घृणित कुराहरू देख्नुभएको छ र लज्जित हुँदै ती कुराहरूलाई लुकाउनुभएको छ ।

उहाँ साधु–महात्माजस्तै सुशील हुनुहुन्थ्यो र कहिल्यै खुल्ला रूपमा कडकेर मान्छेहरूलाई भन्न सक्नुहुन्नथ्यो– किन तपाईहरू इमानदार जीवन बिताउन सक्नुहुन्न ? उहाँ मान्छेहरूले बढी इमानदार बन्ने आवश्यकता आफँैले महसुस गर्नेछन् भन्ने कुराको व्यर्थको आशा गर्नुहुन्थ्यो । सब प्रकारका अश्लीलता र फोहोर कुराकानीलाई घृणा गर्दै उहाँ जीवनको घृणित पक्षलाई एक कविको उदात्त भाषामा, हास्य कथाकारको कोमल खिस्याइसहित वर्णन गर्नुहुन्थ्यो । उहाँका कथाहरूका उत्कृष्ट बाह्य रूपरेखाभित्र लुकेर रहेको कटु आन्तरिक निन्दाको भेउ पाउन कठिनै हुन्छ । सम्मानित पाठकहरू अल्बिओनकी छोरी कथा पढेर हाँस्ने गर्छन् । तर यस कथामा डम्म डकारेको जमिनदारले कसरी एक्लो, परित्यक्त व्यक्तिको अत्यन्त घृणित तरिकाले हाँसो उडाउँछ भन्ने कुरा उनीहरूले सायद नै देख्न सकेका होलान् । आन्तोन पाभलोभिचको प्रत्येक हास्य कथामा म पवित्र एवम् वास्तविक मानवआत्माको मन्द, गहन सुस्केरा, आफ्नो मानवप्रतिष्ठा कायम राख्न असमर्थ भएका, बर्बर शक्तिको अगाडि नतमस्तक भएका दाससमान जीवन बिताइरहेका । यो सुस्केरा ती नै मानिसहरूका लागि थियो जो केही कुरामा विश्वास गर्दैनन्, जो हरेक दिन सकेसम्म बढी बोसिलो सुप खानेबाहेक अरू कुनै आवश्यकता देख्दैनन् र आफूभन्दा बढी शक्तिशाली र बढी निर्लज्ज मान्छेले कहीँ थिचोमिचो त गर्ने होइन भन्ने त्रास अरू केही कुरा अनुभव गर्दैनन् ।

आन्तोन चेखभले जति स्पष्ट र सूक्ष्म तरिकाले जीवनका तुच्छ कुराहरूको दुःखमय चरित्र अरू कसैले बुझेको छैन । उहाँभन्दा अगाडि अरू कसैले त्यति निर्मम सच्चाइसाथ मानिसहरूको अगाडि अस्तव्यस्त, एकनासे, कूपमण्डूक जीवनको लज्जास्पद र उराठिलो चित्र प्रस्तुत गर्न सकेको थिएन ।
अश्लीलता नै उहाँको शत्रु थियो । उहाँले सम्पूर्ण जीवनको अश्लीलताका विरुद्ध सङ्घर्ष गर्नुभयो । उहाँले यसको हँसी उडाउनुभयो । आफ्नो निडर र तिखो कलमले यसको चित्रण गर्नुभयो र त्यस्तो ठाउँमा पनि अश्लीलताको मयल भेट्टाउन सफल हुनुभयो जहाँ पहिलो दृष्टिमा यो कुरा सुव्यवस्थित र आरामदेह मात्र होइन, उत्कृष्टसमेत देखिन्थ्यो । अश्लीलताले यसका लागि अत्यन्त घृणित तरिकाले उहाँसँग बदला लियो । उहाँको मृत्युपछि उहाँको लास, एक कविको लासलाई सीपी माछा ओसार्ने डब्बामा राखेर पठाइयो ।
यो हरियो मैलो डब्बा नै मलाई आफ्नो शत्रुमाथि अश्लीलताको विजयी मुस्कुराहटजस्तो लाग्छ । अनि केही तुच्छ अखबारहरूले पाखण्डी उदासीनतासहित लेखेका अनगिन्ती ‘संस्मरणहरू’ मा पनि म त्यही अश्लीलताको चिसो गनाउने उच्छ्वास अनुभव गर्छु जो आफ्नो शत्रुको मृत्युले भित्रभित्र दङ्ग परेको छ ।
आन्तोन चेखभका कथाहरू पढ्दा शरदको अन्त्यतिरको त्यस उराठलाग्दो दिनको सम्झना हुन्छ जब चारैतिर वातावरण स्वच्छ हुन्छ, जताततै नाङ्गा रूखहरू मात्रै देखिन्छन् । घरहरू एक दोस्रोसँग टाँसिएका जस्ता लाग्छन् । मान्छेहरू उदास र खिन्न देखिन्छन् । सब कुरा अनौठा, निर्जन, निश्चल र निर्बल लाग्छन् । दूरवर्ती नीलो क्षितिज फिक्का आकाशसँग मिसिएको छ र जम्न थालेको माटोले ढाकिएको पृथ्वीमा चिसो उच्छ्वास छोड्दैछ । मूल बाटोहरू, घुमाउरा सडकहरू, आलस्य र विरक्तिले निसासिँदै बसेका ससाना तुच्छ मान्छेहरूको अचेत, अर्धनिद्रित कोलाहलले भरिएको साँघुरा फोहोर घरहरू, सब कुरा शरदकालीन सूर्यको प्रचण्ड प्रकाशले जस्तो कथाहरूको प्रतिभाले कठोर स्पष्टतासहित आलोकित हुँदैछ । ऊ हेर्नोस्, मुसाजस्तै तर्सेकी प्रियतमा (चेखभको यसै शीर्षकको कथाकी नायिका) जाँदैछिन् । यस प्रियदर्शिनी, सीधासादा नारीको हृदय प्रेमले ओतप्रोत छ । गालामा थप्पड हिर्काउँदा पनि तिनी अलि ठूलो स्वरले रुनेसमेत आँट गर्दिनन् । कति सहनशक्ति रहेछ यस दासीमा । तिनीसँगै तीन दिदीबहिनीकी नायिका ओल्गा निदाउरो मुख लाएर उभिएकी छिन् । तिनको हृदय पनि प्रेमले ओतप्रोत छ र आफ्नो अल्छी भाइकी पतीत तथा दुष्ट पत्नीको स्वेच्छाचारिता चुपचाप सहिरहेकी छिन् । तिनकै आँखाअगाडि तिनका बहिनीहरूको जीवन नष्ट हुँदैछ । तिनी रुन्छिन् । तर कसैलाई केही मद्दत गर्न सक्दिनन् । यस अश्लीलताको बिरुवा तिनको हृदयमा विरोधका लागि एउटा पनि सजीव र कडा शब्द छैन ।

रुन्ची रानेभ्स्काया र पैञुँबारीका भूतपूर्व मालिकहरू केटाकेटीजस्तै स्वार्थी छन् र बूढाबूढीहरूजस्तै जीर्ण भइसकेका छन् । उनीहरू आफ्नो समयमा मर्न सकेनन् र अब गुनासो मात्रै गरिरहन्छन् । आफ्नो वरिपरि केही देख्दैनन् र केही बुझ्दैनन् । यी परजीवीहरू शक्तिहीन छन् र फेरि सक्रिय जीवन बिताउन असमर्थ छन् । बेकम्मा विद्यार्थी त्रोफिमभ काम गर्ने आवश्यकताबारे भाषण छाँट्छ र बेकारमा समय खेर फाल्दैछ । भा¥यालाई जिस्क्याएर मन बहलाउन खोज्छ । त्यही भा¥या जो यी लम्पटहरूका लागि दिनरात ढाड खियाइरहेकी हुन्छिन् ।
भेर्सिनिन तीन सय वर्षपछि कस्तो गजबको जिन्दगी हुनेछ भन्ने कल्पना गर्छ । तर ऊ देख्दैन उसको वरिपरि सब कुरा भताभुङ्ग हुँदैछ । उसैको आँखाअगाडि साल्योनी बेकारी र मूर्खताले गर्दा तुच्छ ब्यारोन तुजेनबाखको हत्या गर्न तयार छ । प्रेमको बन्धनमा फसेका, आफ्नै मूर्खता, आलस्य र तुच्छ लालचको सिकार बनेका एकपछि अर्को कमाराकमारीहरू पाठकको आँखाअगाडिबाट पार हुन्छन् । जीवन देखेर तर्सेका, अस्पष्ट त्रासले अत्तालिएका यी कमाराकमारीहरू भविष्यबारे असम्भव कुरा गर्छन्, महसुस गर्छन् । वर्तमान जीवनमा उनीहरूलाई ठाउँ छैन ।

यिनीहरूको यस एकानासे भीडमा यदाकदा गोली पड्केको आवाज सुनिन्छ । यो इभानोभ्ना अथवा त्रेपलेभजस्ता पात्रहरूले वास्तवमा उनीहरूले के गर्नुपर्ने हो भन्ने बुझेको नतिजा हो र उनीहरूको अन्त्य हुन्छ । यिनीहरूमध्ये धेरैजस्तो दुई सय वर्षपछि कति सुन्दर जिन्दगी होला भन्ने भव्य कल्पना सागरमा डुबेका हुन्छन् । तर यति सानो प्रश्न पनि कसैको दिमागमा आउँदैन । सबैले कल्पनै मात्र गरेर बस्ने हो भने यस जीवलाई कसले सुन्दर बनाउला ?
यी अशक्त मान्छेहरूका एकनासे भीडको छेउबाट एक महान्, बुद्धिमान व्यक्ति जाँदैछन् । उनी आफ्ना यी बेकम्मा देशवासीहरूतिर ध्यानपूर्वक हेर्छन् । उनको मुखमा उदास मुस्कान छ । अनुहार र हृदय एक नैराश्यपूर्ण वेदनाले भरिएको छ । उनी हार्दिक इमानदारीसहित कोमल तर गहन तिरस्कारको स्वरमा भन्छन्–
महानुभाव हो, कति वाहियात जीवन बिताउँदै हुनुहुन्छ तपाईहरू !
ज्वरो आएको पनि पाँच दिन भइसक्यो तर आराम गर्ने पटक्क इच्छा छैन । फिनल्यान्डमा सिमसिम पानी पर्दैछ । जमिन ओसिलो धुलोले ढाकिएको छ । इन्नो किल्लामा निरन्तर तोप पड्कँदैछ । रातीराती टर्चलाइटको लामो जिब्रोले बादलका टुक्राहरू चाटिरहेजस्तो लाग्छ । अत्यन्त घृणित दृश्य छ । यस दृश्यले युद्धको ताण्डवीय प्रकोपबारे निरन्तर सम्झना गराइरहेको हुन्छ ।
चेखभ पढ्दैछु । दस वर्षअगाडि उहाँको देहावसान नभएको भए, मानिसहरूप्रतिको आफ्नो प्रचण्ड घृणाले वातावरण विषाक्त पार्दै युद्धले उहाँको हत्या गरिसक्थ्यो होला । उहाँको अन्त्येष्टिक्रिया सम्झेँ ।

मस्कोको ‘प्रेम पात्र’ बन्नुभएका कथाकार चेखभको लास राखिएको हरियो डब्बाको ढोकामा ठूल्ठूला अक्षरले लेखिएको छ– ‘सीपी माछाका लागि ।’ कथाकारको लास लिन स्टेसनमा जम्मा भएको सानो भीडको एक भाग मन्चुरियाबाट ल्याइएको जर्नेल केल्लरको लासपछाडि लागे । चेखभको अन्त्येष्टि जुलुसमा किन सैनिक ब्यान्ड बजेको होला भनेर चकित पर्दै थिए । गल्ती थाहा भएपछि केही ठट्यौउला मान्छेहरू हिहिः गर्न थाले । चेखभको लासयात्रामा करिब सय व्यक्ति जाँदै थिए, बढी मान्छे थिएनन् । तीमध्ये दुईजना वकिलहरूलाई अझै पनि सम्झन्छु । दुवैले नयाँ जुत्ता र झिलिमिली परेको टाई लगाएका थिए र दुलाहाजस्तै देखिन्थे । म उनीहरूको पछिपछि जाँदै थिएँ । उनीहरूमध्ये एकजना मक्लाकोभ थियो उसको नाम । कुकुरहरूको चलाखीबारे बताउँदै थियो । अर्कोलाई म चिन्दिनथेँ । ऊ आफ्नो ग्रीष्म बङ्गला र त्यहाँको प्राकृतिक सौन्दर्यको डिङ हाँस्दै थियो । बैजनी रङको पोसाक लगाएकी एउटी आइमाई, तिनको झल्लरवाला छाता ओढेकी थिइन्, मोटो चस्मा लगाएको बूढोलाई भन्दै थिइन्–
कति मजाको ठट्यौलो मान्छे थियो । बूढोले अविश्वासपूर्वक खोक्यो । गर्मी थियो । धुलो उड्दै थियो । अन्त्येष्टि जुलुसको अगाडि एक मोटो पुलिस अफिसर ऊजस्तै मोटो, सेतो घोडा चढेर जाँदै थियो । यी सब कुरा र अरू थुप्रै कुराहरू असाध्यै घिनलाग्दा थिए र एक महान् सच्चा, मर्मज्ञ कलाकारको सम्झनासँग ठ्याम्मै नमिल्दा थिए ।

बूढो अलेक्सेई सुभोरिनलाई लेख्नुभएको चिठीमा चेखभले भन्नुभएको थियो– अस्तित्वका लागि गरिने निरस सङ्घर्षभन्दा जसले जीवनको उल्लास खोस्छ र मान्छेलाई विरक्त बनाउँछ, बढी घिनलाग्दो र अकाव्यात्मक अर्को कुरा हुँनै सक्दैन । अझ किशोरावस्थामा नै ‘अस्तित्वका लागि सङ्घर्ष गर्न’ बाध्य हुनुभएको चेखभका लागि यस सङ्घर्षले एक गाँस भात, आफ्ना लागि मात्र नभएर एउटा ठूलो परिवारका लागि नै दालभातको चाँजोपाँजो मिलाउनुपर्ने समस्याले एक अन्यन्त्र घृणित निरस रूप लिन पुगेको थियो । यसै सङ्घर्षमा उहाँको आफ्नो किशोरावस्थाको सम्पूर्ण शक्ति लगाउनुप¥यो । आश्चर्यको कुरा त के छ भने यस्तो अवस्थामा पनि कसरी उहाँले आफ्नो उल्लास कायम राख्न सक्नुभयो ? उहाँले जीवनलाई पेटभरि खाने र आराम गर्ने वाक्कलाग्दो प्रवृृत्तिबाहेक अर्को रूपमा देख्नुभएन । जीवनका महान् नाटकहरू र दुःखान्तहरू दैनिक प्रक्रियाका तहमुनि छोपिएका थिए । आफ्ना नाताकुटुम्बहरूलाई पेटभरि ख्वाउने समस्याबाट अलि मुक्त भइसकेपछि मात्र उहाँले यी नाटकहरूको गहिराइभित्र चियाउने मौका पाउनुभयो । संस्कृतिका लागि श्रमको महत्व यति व्यापक रूपमा देख्नसक्ने चेखभजस्तो अर्को मान्छेसँग मेरो भेट भएको छैन । चेखभका लागि यो कुरा गृहस्थीका सानातिना सामानहरू रोज्ने कामदेखि लिएर वस्तुहरूप्रतिको त्यो भव्य प्रेमसम्म जसमा सोहोर्ने प्रवृत्ति लेस मात्र पनि थिएन । वस्तु सबैभन्दा पहिले मानिसको सिर्जनात्मक प्रतिभाको देन थियो । यी वस्तुहरूको प्रशंसा गर्न उहाँ कहिल्यै थाक्नुहुन्नथ्यो । उहाँ केही कुरा बनाउन, खेतबारी गर्न, बगैँचा सिँगार्न मन पराउनुहुन्थ्यो । परिश्रमको काव्यात्मक अनुभूतिसँग उहाँ परिचित हुनुहुन्थ्यो । आफ्नो बारीमा आफैँले रोप्नुभएको फलफूलका बिरुवाहरू र फूलझाडीहरूको उहाँ कति हृदयस्पर्शी तरिकाले स्याहारसुसार गर्नुहुन्थ्यो । आउत्कामा घर बनाउने झन्झटबारे चर्चा गर्दै उहाँले भन्नुभएको थियो–

प्रत्येक व्यक्तिले आफ्नो एक टुक्रा जमिनमा आफूले सक्दो परिश्रम गरिदिने हो भने हाम्रो यो विश्व कति रमाइलो हुन्थ्यो होला !
अस्वस्थ अवस्थामा उहाँको मुड निकै खराब हुन्थ्यो । मान्छेहरूको संसर्गलाई घृणासमेत गर्नुहुन्छजस्तो लाग्थ्यो । यस्तो मुड भएको बेला निकै जिद्दी गर्नुहुन्थ्यो र उहाँसँग व्यवहार गर्न गाह्रो पथ्र्यो । एकपल्ट उहाँ कौचमा पल्टिरहनुभएको थियो र हातमा डिग्री खेलाउँदै हुनुहुन्थ्यो । उहाँले खोक्दै भन्नुभयो– मर्नका लागि बाँच्नु त्यति रमाइलो कुरा होइन तर बेलै नभई मर्छस् भन्ने थाहा पाएर बाँच्नुचाहिँ असाध्यै मूर्खतापूर्ण लाग्छ ।
अर्कोपल्ट खुला झ्यालअगाडि बसेर टाढा समुद्रतिर हेर्दै उहाँले अकस्मात् रुष्ट स्वरमा भन्नुभयो–
हामीलाई राम्रो मौसमको, राम्रो बालीको, रमाइलो प्रेमकाण्डको आशा गर्ने, धनी हुने अथवा पुलिसको हाकिम बन्ने सपना देख्ने बानी परिसकेको छ । तर मान्छेहरूले बढी बुद्धिमान बन्ने आशा गरेकोचाहिँ मलाई थाहा छैन । हामी सोच्छौँ, नयाँ जारको पालिमा त राम्रो हुनेछ । दुई सय वर्षपछि अझ राम्रो हुनेछ । तर यो राम्रो भोलि नै होस् भन्नाखातिर केही गर्न चाहँदैन । साँच्ची भन्ने हो भने हरेक दिन हाम्रो जीवन झन्झन् जटिल हुँदै गइरहेको छ र आफसे आफ कता हो कता लाग्दैछ । मान्छेहरू स्पष्टतः मूर्ख हुँदै गइरहेका छन् । झन्झन् बढी मान्छेहरू जीवनबाट टाढिँदै गइरहेका छन् । एकछिन सोचिसकेपछि उहाँले निधार खुम्च्याउँदै थप्नुभयो– कुनै जात्रामा गइरहेका लुलालङ्गडा भिखारीहरूजस्ता ।
उहाँ डाक्टर हुनुहुन्थ्यो । डाक्टरको रोग उसका रोगीहरूको रोगभन्दा चर्को हुन्छ । किनभने रोगीहरू रोग मात्रै अनुभव गर्छन् । तर डाक्टरलाई त उसको शरीर कसरी जीर्ण हुँदैछ भन्नेसमेत थाहा हुन्छ । यसले गर्दा मान्छे कुन मात्रामा मृत्युको अझ नजिक पुग्न जान्छ भन्न सकिन्छ । उहाँ हाँस्नुहुँदा उहाँका आँखाहरू असाध्यै सुन्दर देखिन्थे । नारीसुलभ मायालुपना र कोमलताले भरिन्थे । उहाँ झन्डै आवाजै ननिकाली हाँस्नुहुन्थ्यो र उहाँको हाँसोमा एउटा विशेष मिठास हुन्थ्यो । उहाँ आफ्नो हाँसोमा तृप्ति अनुभव गर्नुहुन्थ्यो । उहाँ मस्तीले हाँस्नुहुन्थ्यो । मलाई थाहा छैन, अरू कसैले त्यस्तो, भनौँ पवित्र हाँसो हाँस्न सक्ला ? खोइ !

एकपल्ट तोल्सतोइले मेरो उपस्थितिमा चेखभको एउटा कथाको प्रशंसा गर्नुभएको थियो । मलाई लाग्छ, त्यो प्रियतमा कथा थियो । उहाँले भन्नुभएको थियो– यो कथा कुनै कुमारी केटीले बुनेको लेसजस्तो छ । पुरानो जमानामा यस्ता लेस बुन्ने केटीहरू हुन्थे । उनीहरूले आफ्नो सम्पूर्ण जीवन सुखसम्बन्धी आफ्ना सब कामनाहरू यिनै बुट्टाहरूमा बुनिदिएका हुन्थे । उनीहरूले आफ्ना सबैभन्दा प्यारा सपनाहरू, आफ्ना सम्पूर्ण अस्पष्ट, स्वच्छ प्रेम यस लेसमा बुनिदिएका हुन्थे । तोल्सतोइ निकै उत्तेजित हुनुहुन्थ्यो । उहाँका आँखा आँसुले डबडबाएका थिए ।
त्यस दिन चेखभलाई ज्वरो आएको थियो । उहाँ टाउको निहुराएर बस्नुभएको थियो । गालामा राता टाटाहरू थिए । उहाँ आफ्नो चस्मा पुछ्दै हुनुहुन्थ्यो । एक छिनसम्म उहाँ बोल्नुभएन । त्यसपछि सुस्केरा हाल्दै सुस्तरी असजिलो मान्दै भन्नुभयो– यहाँ छपाइको अशुद्धि छ ।

चेखभबारे धेरै कुरा लेख्न सकिन्छ । तर उहाँबारे लेख्दा छोटकरीमा स्पष्ट तरिकाले लेख्न जान्नुपर्छ र यसरी लेख्न मलाई आउँदैन । उहाँबारे त्यस्तैगरी लेख्न पाए हुन्थ्यो जसरी उहाँले आफ्नो ‘स्तपी’ कथा लेख्नुभएको थियो । यो सुगन्धित, सरल कथा रुसी तरिकाले गहकिलो र विषादपूर्ण छ । यो कथा उहाँको आफ्नै लागि हो । यस्तो मान्छेबारे सम्झना गर्दा मनै आनन्द हुन्छ । तपाईंको जीवनमा स्फूर्ति फर्कन्छ र फेरि स्पष्ट विचार देखापर्न थाल्छ ।
मानव विश्वको अक्षरेखा हो !
त्यसो भए उहाँका कमजोरी नि ? तपाईं सोध्नुहोला । हामी सबै मानव प्रेमका भोका छौँ । भोकाएको बेला काँचो भात पनि मीठो लाग्छ । सन् १९१४

याे पनि पढ्नुहाेस्

आन्तोन चेखभ

२०७५ माघ १३ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :