दलितलाई विद्रोहमा उत्रिन अपिल

 

काठमाडाैँ : दलित मुक्ति मोर्चा नेपाल भक्तपुरको पाँचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् दलित विभाग प्रमुख सन्तोषी विश्वकर्माले वर्गीय र वर्णीय उत्पीडनका कारण दलित समुदाय जहिले पनि क्रान्ति र आमूल परिवर्तनका पक्षमा रहनुपर्ने बताइन् ।

नेपालको राजनीतिक आन्दोलन, विशेषगरी कम्युनिस्ट आन्दोलन र महान् जनयुद्धका मुख्य नेताहरूले क्रान्तिलाई धोका दिएका कारण दलित समुदाय र आमजनताले दुःख पाइरहेको धारणा उनले राखिन् । उनले यो दलाल संसदीय व्यवस्थाको विकल्प भनेकै वैज्ञानिक समाजवाद भएकाले सम्पूर्ण दलित समुदायलाई एकीकृत जनक्रान्तिमा लामबद्ध हुन आह्वान गरिन् ।

‘जातीय छुवाछूत विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! एकीकृत जनक्रान्तिका लागि दलित मुक्तिको पाँचौँ भक्तपुर जिल्ला सम्मेलन !!’ नाराका साथ सम्पन्न कार्यक्रममा विशेष अतिथि मोर्चाका सचिवालय सदस्य हरि नेपालीले दलित समुदायको पूर्ण मुक्ति वैज्ञानिक समाजवादमा मात्र सम्भव रहेकोमा जोड दिए । उनले इतिहासको गहिरो अध्ययन र वर्तमानको मागलाई ध्यानमा राखी समुदायलाई हीनताबोध गराउने शब्दमा पुनर्विचार गर्नुपर्ने बताए ।

सामाजिक दलाल पुँजीवादले दलित समुदायलाई नयाँ आयाममा आधुनिक ढङ्गले छुवाछूत र विभेद लादिरहेकाले त्यसको पहिचान गरी सङ्घर्ष गर्न उत्पीडित समुदाय चनाखो हुनुपर्ने धारणा राखे । उक्त कार्यक्रममा नेकपा भक्तपुरका सचिव बुद्ध पुनले आम उत्पीडित वर्ग र समुदायलाई जागरुक गर्दै जनसेवा गर्न नेकपाले दुईमहिने सांङ्गठनिक अभियान सञ्चालन गरिएकाले सबै समुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

सम्मेलनले १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको अध्यक्षमा गणेश विश्वकर्मा, उपाध्यक्षमा नानीराम परियार, सचिवमा किरण परियार, कोषाध्यक्षमा सजिता नेपाली, सदस्यहरूमा कृष्ण मग्राति, मनोज माले, पुनम नेपाली, युनिसा नेपाली, सर्मिला नेपाली करुणा परियार, विकास परियार, सञ्जय सुर्खेती रहेका छन् ।

मोर्चाका जिल्ला अध्यक्ष बिर्खबहादुर विश्वकर्माले कार्यक्रमको अध्यक्षता गर्दै प्रतिवेदन पेस गरेका थिए भने सञ्चालन विवेकले गरेका थिए ।

२०७५ माघ ७ गते बिहीबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :