सरकार नै आतङ्ककारी : सौरभ

 
झापा : नेपाल कम्युनिस्ट पार्टीले सुरु गरेको सङ्गठन सुदृढ तथा विस्तार अभियान– २ मेची ब्युरोअन्तर्गत इलाम जिल्लाको फाकफोक थुम गाउँपालिकाको एकतप्पा पोखरीमा पुगेको छ । माघ १ गते उद्घाटन गरिएको अभियानको निरन्तरतामा बिहीबार पोखरीमा जनभेला गरी कार्यक्रम आयोजना गरिएको जानकारी मेची ब्युरो सदस्य प्रशान्तले दिए ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य सौरभले सयौँ जनताका बीचमा बोलेका थिए । कार्यक्रममा उनले अहिलेको सरकार बोलीमा शान्तिको पक्षधर र व्यवहारमा वास्तविक आतङ्ककारीजस्तो भएको बताए । जनता र राष्ट्रको हकअधिकार र समृद्ध जीवनको चाहना राखेर आवाज उठाउने आफ्नो पार्टीलाइ अशान्ति चाहने, आतङ्क फैलाउने भनेर आरोप लगाउन तम्सिएको सरकार जायज माग र मुद्दाबाट अताल्लिएर जनतालाइ दमन गर्न थालेकाले आतङ्ककारी नै भएको उनको भनाइ थियो । उनले जनताको अधिकार प्रतिरोधबाट मात्र सुरक्षित हुन सक्ने भएकाले जनताले मनको कुण्ठा र असन्तुष्टि दलाल सरकारबिरुद्ध पोख्नुपर्ने र त्यसका लागि उठ्नुपर्ने पनि बताए ।
कार्यक्रमको अध्यक्षता नेकपा इलामका कार्यवाहक इन्चार्ज सर्वश्रेष्ठले गरेका थिए । स्वागत मन्तव्य जिल्ला जनपरिषद् इलामका संयोजक नवराजले राखेका थिए भने सञ्चालन आरोह नेपालीले गरेका थिए । कार्यक्रममा सामना परिवारले क्रान्तिकारी गीत र नृत्य प्रस्तुत गरेको थियो ।

२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :