सरकारले दमन गरे प्रतिरोध गर्छौं : विश्व

 

सल्यान : नेपाल कम्युनिस्ट पार्टीका सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’ ले आफ्ना नेता–कार्यकर्तालाई प्रशासनले धरपकड गरे आफूहरूले प्रतिरोध गर्ने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल जिल्ला शाखा सल्यानले आयोजना गरेको कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै विश्वले भने, ‘सरकारले हाम्रा नेता–कार्यकर्तालाई पक्राउ गरेर हिरासतमा राखेमा हामीले पनि सिडियो, डीएसपी होस् वा तिनका जनप्रतिनिधिलाई राख्ने हिरासत हामीले पनि बनाएका छौँ ।’

इन्चार्ज विश्वले अहिले सुरक्षा निकायसँग लड्नेभिड्ने योजना भने नभएको प्रस्ट पारे । उनले आफूहरू गलत गतिविधिको विरोधमा मात्रै रहेको बताए । विश्वले भने, ‘हाम्रो सुरक्षा निकायसँग लड्नेभिड्ने कुनै योजना छैन तर बिनाकारण दुःख दिएमा चुप लागेर बस्दैनौँ, प्रतिरोध गर्छौं ।’

जिल्ला इन्चार्ज विश्वले पत्रकार सङ्गठनमा कुनै विवाद नरहेको पनि प्रस्ट पारेका छन्् । केही स्वार्थ पूरा नभएका मान्छे बाहिरिएर केही फरक नपर्ने भन्दै उनले सल्यानमा क्रान्तिकारी पत्रकार सङ्गठनमा केही समस्या नभएको र कारबाहीमा परेकाको हल्लाको कुनै तुक नभएको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी पत्रकार सङ्गठन, नेपालका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्ट विशेष अतिथि थिए । सङ्गठनका जिल्ला अध्यक्ष योगराज विकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :