जलवायु परिवर्तनका असरहरू


प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयव (ख्बचष्बदभिक) तथा तिनीहरूबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई नै सामान्यतया वातावरण भनिन्छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । विभिन्न किसिमका प्रदूषणहरू, प्राकृतिक स्रोतमाथिको अतिक्रमण दोहन, अव्यवस्थित औद्योगिकीकरण साथै सहरी विकास, असन्तुलित विकास प्रक्रिया र जलवायु परिवर्तनले पनि वातावरणमा असन्तुलन पैदा गरेको छ । जलवायु परिवर्तनका सन्दर्भमा भर्खरै मात्र सम्पन्न भएका दुईवटा कार्यक्रम मिडियाका कारण निकै चर्चामा छन् । मङ्सिरमा पोल्यान्डको काटोविसमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) पक्ष राष्ट्रहरूको सम्मेलन (कोप २४) र पुसमा सिन्धुपाल्चोकको गुफाडाँडामा भएको राष्ट्रिय जलवायु सम्मेलन । त्यसैले यस आलेखमा वातावरणका बारेमा उल्लेख गर्नुभन्दा पनि त्यसको एउटा पाटो जलवायु परिवर्तनका सन्दर्भका सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ ।

रेड डायरीका अनुसार विश्वव्यापी रूपमा बीसौँ शताब्दीमा ०.७ डिग्री सेल्सियसका दरले तापक्रम बढेको थियो भने अबको वर्षमा १.८ डिग्रीदेखि ४ डिग्री सेल्सियससम्मले बढ्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् । यसरी बढिरहेको तापक्रमले खडेरी बढ्ने र मौसममा परिवर्तन आउने अनुमान गरिएको छ । स्थिर रहनुपर्ने जलवायु सूचकाङ्कहरू जस्तै तापक्रम, वर्षा, समुद्री सतह वृद्धि, प्राणी तथा वनस्पतिमा बढ्दो रोग, कीराको आक्रमण र प्रकोपजन्य घटनाको वृद्धिलाई जलवायु परिवर्तनको प्रभाव मानिएको छ । जस्तै मुसलधारे र भारी वर्षाका घटनाहरू बढ्नु, व्यापक बाढी आउनु वा लामो खडेरी पर्नु, पानी पर्ने समय र अवधिमा परिवर्तन आउनु र पानी पर्ने दिनहरूको सङ्ख्या घट्नु । हरितगृह ग्याँसहरूमा कार्बनडाइअक्साइड (CO2), मिथेन (CH4) नाइट्रस अक्साइड (NO2), हाइड्रोफ्लोरोे कार्वन (HFCS), परफ्लोरो कार्वन (PFCS), सल्पहेक्जाफ्लोराइड (SF6), नाइट्रोजन ट्रिफ्लोराइड (NF3) रहेको छ । जलवायु परिवर्तनको मुख्य कारण विभिन्न स्वरूपमा रहेको हरितगृह ग्याँस वायुमण्डलमा प्रवेश गर्नुलाई मानिएको छ । आईपीसीसी (Intergovermental Panel On Climate Change) २००७ ले गरेको विश्लेषणअनुसार जलवायु परिवर्तनका मुख्य कारण वायुमण्डलमा बढिरहेको हरितगृह ग्याँस कार्बनडाइअक्साइड (CO2) रहेको छ । सन् १९५८ देखि २००१ सम्ममा कार्बनडाइअक्साइडहरू (CO2) ३१५ पीपीएमबाट ३७० पीपीएमसम्म लगातार रूपमा बढिरहेको पाइन्छ ।

डा. युवकध्वज जीसीका अनुसार हरितगृह ग्याँस उत्पादनमा योगदान पु¥याउने विषयगत क्षेत्रहरू निम्नानुसार रहेका छन् :
ऊर्जा (पेट्रोल, डिजेल, कोइलाको खपत) २५.९५ प्रतिशत, उद्योग १९.४५ प्रतिशत, फोहोरमैला २.८५ प्रतिशत घरायसी तथा व्यापारिक केन्द्र ७.९५ प्रतिशत यातायात सञ्चालन १३.१५ प्रतिशत वन क्षेत्र १७.४५ प्रतिशत, कृषि १३.५५ प्रतिशत । हरितगृह ग्याँसमध्ये पनि तापक्रम वृद्धि गर्नमा कार्बनडाइअक्साइड (CO2) को मुख्य भूमिका हुन्छ ।CO2 उत्सर्जन हुने मुख्य स्रोतहरूमा पेट्रोल, कोइला आदिबाट ७५ प्रतिशत, भूउपयोग परिवर्तनबाट २० प्रतिशत र अन्य स्रोतबाट ५ प्रतिशत CO2 उत्पादन गर्ने केही देशहरू अमेरिका २०.६ टन प्रतिव्यक्ति, क्यानाडा २०.० टन प्रतिव्यक्ति, चीन ३.८ टन प्रतिव्यक्ति, भारत १.२ टन प्रतिव्यक्ति र नेपाल ०.१३ टन प्रतिव्यक्ति ।

परिभाषा

जलवायु परिवर्तन भन्नाले लामो समयको अन्तराल एवम् दीर्घकालीन अवधिमा जलवायुका विभिन्न तत्वहरूमा भएको औसत परिवर्तनलाई बुझिन्छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि १९९२ अनुसार जलवायु परिवर्तन भन्नाले ‘प्रत्यक्ष वा परोक्ष रूपमा मानव क्रियाकलापसँग सम्बन्धित भई विश्व–वायुमण्डलको संरचनालाई परिवर्तन गर्ने र तुलनात्मक समयावधिभित्र प्राकृतिक रूपमा परीक्षण भएको जलवायुको परिवर्तन’ लाई जनाउँछ ।

जलवायु परिवर्तनका मुख्य असरहरू

नास्टकी वरिष्ठ वैज्ञानिक डा. दीपा धितालका अनुसार सर्वप्रथम जलवायु परिवर्तनले वनस्पतिका भौगोलिक क्षेत्रका प्रजातिहरूमा परिवर्तन ल्याउँछ । त्यस्तै तापक्रमका किसिममा र हावामा आर्दतामा सामान्यतया असर गर्ने गर्दछ । पृथ्वीको पर्यावरणीय क्षेत्र प्रत्येक १ डिग्री सेल्सियस तापक्रमको फरकमा १६० कि.मि.मा सर्दै जाने कुरा पुष्टि भइसकेको छ । जलवायु ४ डिग्री सेल्सियसले तातो हुँदै जाँदा अर्को शताब्दीसम्ममा उत्तरी गोलाद्र्ध ५०० किलोमिटर अथवा ५०० मिटरको उचाइमा सर्दै जान्छ (IPCC 2007) ।

तापक्रम वृद्धिले हावामा पानीको मात्रा (आर्दता) बढाउँछ र ओसिलो हुन्छ तर वर्षा हुने ठाउँ र समयमा परिवर्तन ल्याउँछ । परिवर्तनको असरले भूमध्यसागरीय सतहमा वर्षा घट्ने र माटोमा सुख्खापन आउने गर्दछ (डा. दीपा धिताल) ।

जमिनमा बस्ने जिप र वनस्पतिहरू उत्तरी गोलाद्र्धमा प्रतिशताब्दी ६.१ कि.मि. उत्तरतिर, ६.१ कि.मि. मध्यतिर र त्यस्तै मौसमी प्रक्रियामा प्रतिदिन २.३ देखि ५.१ दिनहरू अगाडि यही ५० वर्षयताबाट सर्दै आएका कुराहरू पुष्टि भएका छन् । यसका महत्वपूर्ण विशेषता जलवायु परिवर्तन र अत्यधिक जमिनको प्रयोगबाट नै भएको हो (IPCC 2007) ।

अहिलेको अध्ययनमा हिमाली भेगमा बिरुवाहरूको सामुद्रिक सतहबाट माथितिर सर्दै जाने प्रक्रिया स्पष्टसँग देख्न सकिन्छ जुन जलवायु परिवर्तनको एउटा मुख्य उदाहरण हो (Gottfried M.et al 2012) ।

भनिन्छ १५ प्रतिशतदेखि ३७ प्रतिशतसम्म प्राकृतिक वनस्पतिहरूका समूहहरू सन् २०५० सम्ममा हराउँदै जानेछन् । यसरी विभिन्न मोडेलहरू प्रयोग गरेर सम्भाव्यताको भविष्यवाणी गर्न सकिने कुराको पनि पुष्टि भइसकेको छ र हुँदै पनि छ (Cox et al. 2000) ।

जलवायु परिवर्तनका कारणले जीविकोपार्जन, प्राकृतिक प्रणाली तथा परिस्थितिकीय प्रणालीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्ने सम्भावित खतरा एवम् विनाशकारी असरहरू निम्त्याउँछ । बढ्दो तापक्रम, खडेरी, बाढी, हावाहुरी, रोगकीरा तथा आँधीबेहरीलाई जलवायुजन्य खतराका रूपमा लिन सकिन्छ । हावापानीका तीव्र घटना र क्रमशः जलवायु परिवर्तनका कारण हुने यी असरहरूको प्रकृति सङ्ख्यात्मक (धेरै सङ्ख्या) तथा विविधात्मक (फरकफरक) हुन्छन् । यस्ता केही असरहरू बिस्तारै सुरु हुने तर निरन्तर रूपमा भैरहने (जस्तै : निरन्तर रूपमा हुने तापक्रम वृद्धि, सुक्खा वा खडेरी पर्ने आदि) प्रकृतिका हुन्छन् । त्यस्तै केही असरहरू भने छोटो समयमा तर आकस्मिक तथा भयानक रूपमा हुने असरहरू (जस्तै बाढीपहिरोले हुने क्षति, रोगको महामारी आदि) हुन्छन् ।

जलवायु परिवर्तनका कारण अम्लीय वर्षा हुने गर्दछ । औद्योगिक क्रियाकलापका कारण उत्सर्जन हुने हरितगृह ग्याँस (खासगरी सल्फरडाई अक्साइड र नाइट्रोजन अक्साइडहरू) वायुमण्डलमा प्रवेश गरी वायुमण्डलमा रहेको पानीको बाफसँग सम्मिश्रण भई पुनः अम्लीय पानीको रुपमा पृथ्वीमा झर्ने गर्दछ । यस्तो प्रकारको अम्लीय वर्षाले खासगरी मानव स्वास्थ्य, जैविक विविधता, जलस्रोत, सांस्कृतिक सम्पदा, भौतिक पूर्वाधार आदिमा नकारात्मक असर पार्दछ । जलवायु परिवर्तनले समुद्री सतहमा वृद्धि, वर्षा हुने प्रक्रियामा परिवर्तन आँधी आउने शैलीमा परिवर्तनका असरहरू देखापर्दछ । मानवीय क्रियाकलापका कारण बन विनास, बन भूक्षयीकरण, बन अतिक्रमण, अवव्यस्थित कृषि प्रणाली, तीव्र भू–क्षय, पशुपालन तथा चरिचरण, कृत्रिम बन डढेलो कारणले हरितगृह ग्याँस उत्सर्जन भइरहेको छ जसबाट पनि जलवायु परिवर्तनमा असर पुगिरहेको छ ।

नेपालका परिदृश्य

१. यो लेखक तराईमा घुम्दै गर्दा एउटा कागज कारखानामा भ्रमण गर्ने अवसर मिलेको थियो । उक्त कारखानाले फालेको धुवाँ र पानी हेर्दा वातावरण विभागप्रति रोष प्रकट गर्ने ठाउँ थियो । कालो पानी त सीधै खोलामा लगेर फालिएको थियो । त्यही पानिबाट तल खेतमा सिँचाइ, बालबालिकाको सरसफाइ गरेको देखिएको थियो ।

२. चुरे अभियानमा जनतासँग भेटघाट गर्दै गर्दा चुरेको बन विनास भइरहेको देखियो । सिराहाउत्तरको चुरेमा पर्ने मागन र गागन खोलानजिकको अर्को खोलाको छेउमा पनि ठूल्ठूला गरा खेतहरू बनाएको देखियो । तर सबै ठाउँमा खेती गरेको देखिएन । घर पनि नयाँ र राम्रा एउटै थिएनन् । मैले स्थानीयलाई यहाँका मानिस खोइ भनी सोध्दा ‘खोलामा पहिला पानी थियो । यहाँ बस्ती थियो । खेतीपाती पनि राम्रै थियो । पछि पानी सुक्यो । बस्ती पनि अन्तै बसाइँ स¥यो’ भनेर भनियो ।

३. मैले देखेको सिन्धुली, मकवानपुर, उदयपुरलगायत जिल्लामा बर्सेनि बन विभागले काठ बिक्री गर्छ । ती काठ ढलापडा भनेर काटिन्छ तर वास्तविक रूपमा ती ढलापडा हुँदैनन् । केही बदमासहरूको त्यसमा भूमिका हुँदो रहेछ । कति धेरै रूख लडाइन्छ, भनेर साध्य हँुदैन । काठ काटिसकेपछि वृक्षरोपण गरेको, संवद्र्धन, प्रवद्र्धन गरेको अत्यन्तै न्यून देखिन्छ ।

४. विकास निर्माणको कार्य राम्रो हो । यसको विरोध कसैले गर्दैनन् । फास्ट ट्र्याक निर्माण गर्दा काटिएका रूख देख्दा दया लागेको थियो । यस्तै हाइटेन्सन लाइन निर्माण गर्दा वा पेट्रोलियम पाइप लाइन बनाउँदा होस् वा जथाभाबी डोजर लगाउँदा यसले पार्ने वातावरणीय प्रभावमा कम ध्यान दिनु अत्यन्तै दुःखद् पक्ष हो ।

५. कृषि उत्पादनमा अत्यधिक रूपमा मनोमानी ढङ्गले विषादीको प्रयोग पनि निकै दुःखद् देखियो ।

६. धनुषाको भुतिपटेरवा भन्ने ठाउँमा हाम्रा एकजना मित्रको माछापोखरीमा सबै माछा मरे । के भएको भनेर सोधेँ । छिमिकीले विष हालिदिएकाले सबै माछा मरे भनियो । तर मैले त्यो पोखरी हेर्दा निकै प्रदूषित जस्तो लाग्यो ।

७ . धनुषा जिल्लाको महेन्द्रनगरको उत्तर–पश्चिम बटेश्वर पर्छ । त्यहाँ एउटा खोला छ । त्यसको उत्खनन गरेर धेरै ठूलो खाल्टा बनाइएको छ । त्यहाँ एउटा बस्ती बनाउन ठाउँ पुग्छ । तराईका अधिकांश खोलाको अवस्था यस्तै छ ।

८. सिन्धुलीको पूर्वी भाग ककुरठाकुर अरुणठाकुरमा एउटा चुनढुङ्गा खानी छ । त्यहाँबाट चुनढुङ्गा निकालिन्छ र ट्रिपरमार्फत सिराहाको मिर्चैयामा रहेको मारुती सिमेन्ट कारखानामा लगिन्छ । त्यो बीचको ठाउँ बस्न लायक छैन ।

९. धरान चतरादेखि उदयपुर, सिन्धुली हुँदै मकवानपुरसम्म एउटा बाटो बन्दैछ । त्यसले प्रायः चुरेलाई छुन्छ । त्यसले गरेको भूक्षय र बनविनाश पनि कहालीलाग्दो छ ।

१०. मध्यपहाडी लोकमार्गले भूक्षय र बनविनाश पनि त्यही गतिमा बढाएको छ ।

११. अनियन्त्रित–अव्यवस्थित निर्माण, जमिनको खण्डीकरण पछिल्ला दिनमा निकै डरलाग्दो तरिकाले बढिरहेको छ ।

यी र यस्ता उदाहरण धेरै छन् । किन यी उदाहरण दिइएको हो भने हाम्रो देशमा पनि जलवायु परिवर्तनका असरका बारेमा अध्ययन–अनुसन्धान हाम्रो तरिकाले गर्नुपर्ने जरुरी छ । खालि परामर्श दाताको भरमा लेखिने प्रतिवेदन (महँगो खर्च) को भरमा प्रतिवेदनले देशलाई कङ्गाल बनाउँछ । हामीसँगै त्रिभुवन विश्वविद्यालय वातावरण विभाग छ । त्यहाँका विद्यार्थीलाई भोलेन्टिएयरका रूपमा विज्ञ बनाएर फिल्डमा पठाउन सकिन्छ । त्यहाँबाट आएका भोलेन्टियरलाई विज्ञहरू बसेर त्यही रिपोर्टहरूबाट उत्कृष्ट विज्ञहरू छनोट गर्ने र रिपोर्टका आधारमा प्रतिवेदन तयार पार्ने र आफ्नै बलबुतामा जलवायु परिवर्तनबाट पर्ने असरका विरुद्ध लड्न सके विदेशीको मुख ताक्नुपर्ने थिएन कि ? यतातर्फ ध्यान जान जरुरी छ ।

२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!