निर्मला पन्त बलात्कार र हत्यामा गृहमन्त्री बादलका छोराको डीएनए परीक्षण गरिनुपर्छ : अनिल विरही, ‘उत्पीडित वर्गको मुक्ति नभएसम्म क्रान्ति जारी रहन्छ’

सिन्धुली : नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज अनिल विरहीले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाको अभियानमा सबैलाई साथ दिन अपिल गरेका छन् । नेकपा जनकपुर ब्युरोको सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका ५ नाङ्गेडाँडामा ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २’ उद्घाटन गर्दै विरहीले उक्त कुरा बाताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि विरहीले जनयुद्धका केही नेताको गद्दारीका कारण नेपाली जनता अझै पनि उत्पीडनमा रहेको बताउँदै महिला, दलित, उत्पीडित वर्गको मुक्तिका लागि आफूहरू निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरे । नेता विरहीले भने, ‘हामी मर्न तयार छौँ तर सहिद, किसान, मजदुर वर्गमाथि अन्याय–अत्याचार भएको हेरेर बस्न सक्दैनौँ ।’

प्रचण्ड–बाबुरामले सडकमा फालेको क्रान्तिको झन्डा विप्लवको नेतृत्वमा उठाएर अफूहरू अघि बढेको भन्दै उनले जनता र राष्ट्रको मुक्तिका लागि आफूहरू मर्न तयार रहेको बताए ।

जनयुद्ध लडेकै नेताहरूले विभीषण बनेर जनमुक्ति सेना विघटन गरी आत्मसमर्पण गरेको भन्दै नेता विरहीले फेरि नयाँ जनमुक्ति सेनासहित हिजोकै माओवादी बनेर आफूहरू जनताको घरदैलोमा आइपुगेको दाबी पनि गरे । अभियान अवधिभर २१ वटा टोली कार्यक्षेत्रमा खटिएको जानकारी उनले दिए ।

एक प्रसङ्गमा उहाँले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु सरकारको निरीहता भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराको डीएनए परीक्षण गर्नसमेत माग गरे ।
उनले भने, ‘भीआईपीहरूको नामसँगै गृहमन्त्री बादलको छोराको नाम पनि निर्मला हत्याकाण्डमा जोडिएर आएको छ । त्यसैले बादलको छोराको डीएनए परीक्षण गरिनुपर्छ ।’

कार्यक्रममा पोलिटव्युरो सदस्य तथा अभियान टोली प्रमुख उमा भुजेलले दलाल पुँजीवाद रहेसम्म शोषण, अन्याय, अत्याचारको अन्त्य नहुने भन्दै वैज्ञानिक समाजवाद स्थापनाको यात्रामा लामबद्ध हुन सबैलाई आग्रह गरिन् ।

जनयुद्धका क्रममा माओवादीले गरेका प्रतिबद्धता पूरा नभएकाले जनताले अहिले आशङ्का गर्नु स्वाभाविक भए पनि दलाल संसदीय व्यवस्थामा फसिसकेका प्रचण्ड–बाबुरामलाई धारेहात लगाएर मात्रै जनताको मुक्ति नहुने उनको भनाइ थियो ।

जनतालाई अधिकार दिनुपर्छ भन्नेहरू जुन सत्ताका विरुद्ध लडेका थिए उसैसँग मिलेर अहिले जनतामाथि नै दमन गरिरहेको भन्दै उनले दसबर्से जनयुद्धको नेतृत्व गरेका प्रचण्ड नै सहभागी रहेको कम्युनिस्ट नामधारी सरकारबाट वर्गीय मुक्ति सम्भव नभएको प्रस्ट पारिन् । अहिले केही तत्वहरूले विप्लवले बन्दुक बोकेर जङ्गल पसून् भन्ने चाहेको र त्यस्तै भ्रामक प्रचार गरेर जनतालाई भ्रम छर्न खोजेको भन्दै नेत्री भुजेजलले भनिन्, ‘अबको क्रान्ति गाउँबाट हैन सहरबाट हुनेछ । नेकपाले जनताको हरेक प्रश्नको उत्तर व्यवहारबाट दिनेछ र राष्ट्र तथा जनताका बारेमा सोच्नेछ ।’

उनले स्थानीय जनतालाई अपिल गर्दै भनिन्, ‘सबै बन्दुक बोकेर लड्न जानुपर्छ भन्ने छैन । तपाईंको राजनीतिक आस्था जुनसकै पार्टीमा होस् तर वर्गीय मुक्तिका लागि यथास्थानबाट सहयोग गर्नुहोस्, हामी लड्न तयार छौँ । वैज्ञानिक समाजवादी व्यवस्था अवश्य आउनेछ ।’

२०७५ माघ ३ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :