कमरेडले सुनाएको पुनर्जीवनको कथा

संस्मरण
आकाशमा कतै–कतै बादलका धर्साहरू थिए । मौसम चिसोचिसो थियोे । अलि–अलि आकाश रुँदै र हाँस्दै गरिरहेको थियो । पुस महिनाको आधी भैसक्दा पनि आकाश नरोएकोमा दुःखी भएका किसानहरू यस्तो मौसम देख्दा खुसी महसुस गर्दै अनुहारमा चमक देखाइरहेका थिए ।

यो समय २०७५ पुस महिनाको थियोे । पार्टीको स्थायी समिति र कमान्डको बैठकपछि ब्युरोमा तात्तातो योजना सम्प्रेषणका लागि उकालो चढेर बैठकस्थल रवाना हुँदै थियौँ । साथमा क. ध्रुव, क. अडिग अनि उमेरले तीनबीसे उकालो चढिरहेको भए पनि चमचमाउँदो अधबैँसे जोस र जाँगरले भरिपूर्ण यो कथाका मुख्य नायक क. शीतलका साथमा म रन्केर हिँडिरहेको थिएँ ।
क.अर्जुन र यमराजसँग अन्तिम सम्पर्कस्थलमा भेट भए पनि कामविशेषले हामीसँगै आउनुभएन । समयले साथ दिएमा बाटो र बैठकस्थलको नाम भने कुनै सन्दर्भमा पछि भन्नेछु । बाटोमा पार्टीले तत्काल पारित गरेर नितान्त भिन्न तरिकाले पुरानै योजनाको निरन्तरताजस्तो लाग्ने तर नयाँ ‘सङ्गठन सुदृढ तथा विस्तार अभियान’ नाम दिएको पार्टी आन्तरिक जीवनमा उथलपुथल ल्याउने गरी ल्याएको योजनासम्बन्धी उत्सुकताका साथ अनौपचारिक छलफलसहित बाटो काट्ने उद्देश्यले बेप्रसङ्ग कुराकानी गर्दै अगाडि बढिरहेका थियौँ । सबै दृष्टिकोणले परिस्थिति अलि हाम्रो प्रतिकूल बनिरहेको थियो । हामी कसैलाई नचिनिने गरी यात्रा गरिरहेका थियौँ । विषेशतः स्त्यस क्षेत्रमा क. शीतललाई चिन्ने सम्भावना बढी थियो । नभन्दै बाटोमा एकजना वृद्ध भेटिनुभयो । टाढैबाट क.शीतलले चिनिहाल्नुभयो उहाँलाई । तर ती वृद्धले झट्ट नठम्याएका कारण क.अडिगको आड लिँदै आँखा छलेर अगाडि बढिरह्यौँ । उहाँलाई नभेट्नुको कारण हाम्रो ‘मिसन’ को निशानालाई कतै अवरोध नहोस् भन्ने थियो । अलि अगाडि बढिसकेपछि क. शीतलले भावुक मुद्रामा भन्नुभो, ‘उहाँको छोराले त मेरो पुनर्जीवन दिनुभएको हो ।’ अनि मलाई थप उत्सुकता जागिहाल्यो र कुरा भुइँमा खस्न नपाउँदै प्याट्टै सोधिहालेँ, किन सर ? कसरी ?’ उहाँले सविस्तार वर्णन गर्न सुरु गर्नुभो र भन्नुभो, ‘हिमशिखरजी ! कुरा २०५६ साल भदौ महिनाको हो । म पार्टी कामको सिलसिलामा रु. ८०,००० बोकेर नेपालगन्ज झरेको थिएँ । साथमा क. पदम हुनुहुन्थ्यो । त्यतिबेला साना रेडियो र वाकमेनको निकै फेसन चलेको थियो । पार्टीले उक्त रकमले जति आउँछन् सबै वाकमेन र रेडियो ल्याउने निर्देशन दिएकाले एउटा रेडियो पसलमा छिरेका थियौँ । गुप्तचरले कताबाट सुइँको पाइहालेछ । साहूजीसँग कुराको सुरुआत गर्न नपाउँदै पुलिसको भ्यान हाम्राअगाडि आयो र हामीलाई गिरफ्तार गरिहाल्यो । जि.प्र.का.पु¥याइसकेपछि डीएसपीले कोर्रासहित केरकारको सुरुआतपहिले क. पदमबाट ग¥यो र भन्यो, ‘आतङ्क सिर्जना गरेर राजतन्त्रका विरुद्ध जाने ? श्री ५ को होइबक्सन्छ थाहा छ ? अनि त्यो को हो ?’ भनेर मतिर घोरिएर लाटोकोसेरोको जस्तो आँखा लगाएर चितुवाझैँ गर्जिएर सोध्यो । क. पदमको मुखबाट भल्भल्ती रगत बगिरहेको थियो तैपनि कत्ति नडग्मगाएर भन्नुभो, ‘उहाँ हाम्रो सर हुनुहुन्छ ।’
‘को सर ?’ झन् कड्किएर सोध्यो ।
उही भावभङ्गीसहित प्रस्ट स्वरमा नआत्तिएर थप्नुभो, ‘शीतल सर हुनुहुन्छ ।’

यति भनिसकेपछि उसले मलाई यो अलि ठूलो रहेछ भन्ने बुझिहाल्यो । त्यसपछि ममाथि अलि नम्रताको भाव प्रकट गर्दै सोधपुछ सुरु ग¥यो र राजनीनिक भाषा प्रयोग गरेर अनुसन्धान गर्न थाल्यो । घुमाइफिराई पार्टीको गोपनीयता खोल्ने भरपूर प्रयास गर्¥यो । मेरो पनि हरेकपल्ट एउटै जबाफ थियो, ‘म माओवादी कार्यकर्ता हुँ । मलाई राजनीतिक व्यवहार गरियोस् । म मेरो पार्टीको प्रतिबद्ध सिपाही हुँ । त्यसैले मबाट कुनै पनि गोपनीयताको भङ्ग गराउने दुष्प्रयास नगर्नुहोस् । मबाट गद्दारी हुनेछैन, बरु सहिद बन्न तयार छु ।’

अब भने डीएसपी हैरान भैसकेको थियो र मबाट कुनै गोप्य सूचना नपाइने पक्का गरिसकेको थियो । त्यसपछि त शरीरभरि लाठी र बुट बर्सिन थाले निरन्तरनिरन्तर…।

पहिलापहिला त दुखाइको पीडा असह्य भैरहेको थियो । जब बेहोस भएर अर्धचेत भइयो त्यसपछि त सपनाजस्तो आभास भैरहेको थियो । पर्सिपल्टको साँझ मात्र निद्राबाट ब्युँझेजस्तै भएर आँखा खोल्दा त क. पदम अचेत अवस्थामै पल्टिरहनुभएको थियोे । आधा राप्ती सुकाइदिउँलाजस्तो तिर्खा लागिरहेको थियोे । उठ्न खोजेँ । हात र खुट्टा चलिरहेका थिएनन् । ओठ र मुख सुकेर कलेटी परेका थिए । बोल्न खोज्दा आवाज आइरहेको थिएन । दुखाइ तथा पीडाको वर्णन गर्ने त शब्द नै छैन । लाग्यो अब मरिन्छ होला । मनमा अनेक कुराहरू खेल्न थाले । भौतिक शरीर अर्धमृत भए पनि मन भने नीलगगनमा उडिरहेको पन्छीजस्तो स्वतन्त्रताको पङ्खा फिँजाइरहेको थियो र कल्पनाको डुंगा खियाइरहेकोे थियोे– नौलो जनवादी व्यवस्थाको हराभरा रक्तिम तथा सुगन्थित साझा फूलबारीको ।

समय बित्दै गयो । क. पदमलाई आजीवन काराबासको सजाय सुनाएर जेल चलान गरिसकेको थियो । शरीरका घाउहरू निको हुँदै थिए । केही टाटा बसिसकेका थिए भने केही बल्झिरहेका थिए । २६ औँ दिनको राती ०९ः३० बजे मलाई मार्ने योजनाको षड्यन्त्रसहित छोड्ने नाटकको प्रपञ्च रचना गरियो अनि बोलाइयो र भनियो, ‘ल सर ! सबै अनुसन्धानबाट हजूर निर्दोष ठहरिनुभएकाले हजूरलाई छोड्दैछौँ । यहाँ रहँदा केही असहज महसुस भएमा…।’ यसो भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो र मेरो जफत गरिएको असी हजार रुपैयाँसहित मलाई गाडीमा राखियो । ‘ल केटा हो ! सरलाई यति राती पठाइदिँदैछौँ अलि पर लगेर होटेलमा व्यवस्था गरेर आइजा !’

डीएसपीले निर्देशन दियो । मलाई शङ्का त लागिरहेकै थियो तर मारिनै हाल्ला भन्ने लागेको थिएन । अलि पर पुगिसकेपछि गाडीबाट निकालियो र केही मिटर हिँडाइयो । त्यसपछि ती नरभक्षी कसाहीहरूको जत्थाको नाइकेले आफ्ना सदस्यहरूलाई अलि अगाडि जाने निर्देशन दियो अनि मेरो नजिक आयो र भन्यो, ‘म तपाईंको नातेदार हुँ । मेरो नाम…हो । तपाईंलाई मार्ने माथिको आदेश छ । म मेरो फुलीका लागि हाम्रो नाता सम्बन्धमा कलङ्क लगाउन चाहन्नँ । तपाईंलाई नै बचाउनका लागि मैले हाम्रो सम्बन्धका बारेमा कसैलाई भनेको छैन । सुरुकै दिन तपाईंलाई चिनिसकेको थिएँ । आज मेरो दुर्भाग्य र तपाईंको सौभाग्यले तपाईंलाई मार्न मलाई नै पठाएको छ । मेरो जागिर धरापमा पार्दै तपाईंलाई छोड्दैछु । (नभन्दै उसले जागिरबाट हात धुनुपरेछ । पछि थाहा पाएँ) म तपाईंलाई जानीजानी मार्न सक्दिनँ । त्यसैले तपाईं जतिसक्दो छिटो यहाँबाट भाग्नुस्…’, उसले भन्यो । म एक्कासि छाँगाबाट खसेझैँ भएँ । मुटु फुट्लाझैँ गरी धड्किन थाल्यो । म मृत्यु जितेर निस्केको एउटा सिपाही थिएँ । यसअघि पनि कैयौँपटक असिनाझैँ बर्सिने गोलीको भीडबाट बाँचेर आएको थिएँ तर यति हतास भने कहिल्यै भएको थिइनँ । म पर्सिसकेको बोकाझैँ निरीह प्राणी बनाइएको रहेछु । अब भने चितुवाको मुखबाट फुत्केको मिर्गझैँ भएको थिएँ । म भाग्नका लागि अलि अघि पाइला सार्नेबित्तिकै उसले नाटकीय पाराबाट विपरीत दिशातिर सङ्केत गर्दै ‘ए…ए…भाग्यो । आतङ्ककारी भाग्यो… ठोक्ठोक् भन्यो र माथि खबर गर भनेर आदेश गर्¥यो । वाकीटकीबाट रिपोर्ट गरेको र थप फोर्स माग गरेको प्रस्ट सुनेँ । त्यसपछि मलाई झन् डर थपियो अब भेट्टाउँछ होला भनेर । मेरा लागि नेपालगन्जको भूगोल अपरिचित थियो । फेरि त्यसैमा रातीको समय । त्यै पनि अन्धाधुन्ध दौडिएँ । रातभरि दौडिसकेपछि झिसमिसे उज्यालोमा दक्षिणतिर राप्तीकिनारमा पुगेँ ।

खुट्टामा जुत्ता र चप्पल हुने त कुरै भएन तर सर्ट र पाइन्ट पनि च्यातिएर छुटिहालेछ । संयोगले ढाडमा बाँधेको थैली भने बचेको रहेछ । कुकुरले लखेटेको बाँदरको झैँ हालतमा जङ्गलमा पुनर्जीवनको सास फेरिरहेको थिएँ । अलि पर एउटा युवकलाई देखेँ र उसलाई नजिक बोलाउने कोसिसस्वरूप ‘ए भाइ यता आऊ त’ भनेर के भनेको थिएँ ऊ त झन् मेरो त्यस्तो हालतदेखि डराएर चोर हो कि बौलाहा हो भन्ठानेर भाग्न पो थाल्यो । त्यसपछि उसलाई सचेत गराउँदै मैले भनेँ, ‘भाइ, म एउटा व्यापारी हुँ । मलाई चोरहरूले यस्तो हालत बनाए । मसँग भएको पैसा पनि लुटेर लगे । मलाई उद्धार गर भाइ ।’ मैले यति भनिसकेपछि उसलाई दया र आशङ्का दुवै पलाएछ । एउटा लट्ठी ल्याएर ‘नराम्रो मान्छे भए सिध्याउँछु । राम्रो भए सहयोग गर्छु’ भन्ने उद्देश्यसहित मेरो नजिक आए । मैले सम्झाइबुझाई गरेँ र एउटा हाफ पाइन्ट, टिसर्ट र एक जोर चप्पल ल्याइदिन भनेर दस हजार रुपैयाँ दिएँ । ऊ त अकमकाएर ‘यति धेरै पैसा लाग्दैन दाइ’ भन्न थाल्यो । मैले जति पर्छ मलाई सामान ल्याइदेऊ ! बाँकी तिमी खर्च गर !’ भनेर पठाएँ । एक घन्टा लगाएर उसले आफ्नो इमानदारी प्रदर्शन ग¥यो । त्यतिन्जेल राप्तीको किनारामा गएर मैले शरीरको हिलो पखालिसकेको थिएँ । त्यसपछि मलाई सम्पर्क स्थानतिर जानका लागि बाटोको समस्या परेको थियोे । अब उसैलाई आग्रह गरेँ र भनेँ, ‘भाइ ! मलाई यहाँबाट कोहलपुरसम्मको बाटो देखाइदिनुस्, बरु तपाईंलाई थप दुई हजार रुपैयाँ दिन्छु ।’ तर ऊ थप पैसा लिन मन्जुर भएन र मलाई जङ्गलको बाटो हुँदै कोहलपुरसम्म ल्याएर छोडिदियो । त्यसपछि म सुर्खेततिर लागेँ र आफन्तको घरतिर गएर पुनर्जीवनको आगो सेकेँ ।

समय बित्दै गयो । क्रान्ति आगोको लप्काझैँ फैलिँदै र झाङ्गिँदै अधबैँसे हुँदै थियो । जनमुक्ति सेनाको घोषणा भएर ठूलाठूला फौजी हमलाहरू अपेक्षाकृत ढङ्गले हुँदै विकासको नयाँ गतिमा फड्को मार्दै थियो । यसैबीच मङ्सिर ८ गते राती दाङको घोराहीस्थित तत्कालीन शाही अमेरिकी सेनाको फौजी अड्डामा हमला गर्ने बेला त्यतैबाट जनमुक्ति सेनाले क. पदमलाई छुटाउन सफल भयो अनि त युद्धको यात्रामा पुनर्मिलन भयौँ र नाफाको जीवनलाई मुक्तिको मार्गमा अगाडि बढायौँ ।’

यसरी उहाँले आङ नै सिरिङ्ग हुने आफ्नो पुनर्जीवनको कथा सुनाउँदै गर्दा मेरा आँखा नै रसाइरहेका थिए त्यो विगतलाई सम्झेर । उकालो बाटो काटेको पनि थाहै भएन । हुनत हामी सबैको साझा कथा हो यो । गोली लागे मर्ने, नलागे बाँच्ने जोखिमपूर्ण यात्राका यात्री थियौँ हामी । सबै खुकुरीको धारमा पिँडालुको पातको पानीको जस्तै जीवन व्यतित गरेर आएका थियौँ र पनि लाग्यो संयोगले त्यो रात डिउटीमा उहाँको नातेदार पुलिसको सई नभएको भए उहाँको नाम पनि हजारौँ रक्तबीजजस्तै सहिदमालामा हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :