गोविन्द केसीको अनशन पाँचौँ दिनमा, स्वास्थ्य मन्त्रालय भन्छ– केसीको माग हामीसँग सम्बन्धित छैन

काठमाडौँ : चिकित्सा शिक्षा विधेयकमाथि गम्भीर असहमति जनाउँदै प्रा. डा. गोविन्द केसी इलाममा १६ औँ आमरण अनशन बसेको पाँच दिन बितेको छ । यता आइतबार केसीसँग भएको सहमति उल्लङ्घन गर्दै शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन संसद्मा समितिकी सभापति जयपुरी घर्तीले पेस गरेकी छिन् ।

विधेयकले उपत्यकाबाहिर आशयपत्र लिइसकेका मेडिकल कलेजलाई सम्बन्धन दिने बाटो खोल्ने र विधेयक माफियामुखी भएको भन्दै डा. केसीले भने विरोध जनाएका छन् । उनले अघि सारेका ६ बुँदामध्ये अधिकांश चिकित्सा शिक्षा सुधारसम्बन्धी छन् ।

गएको बुधबार मात्र सङ्घीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । संसद्मा प्रतिपक्षमा रहेको नेपाली काङ्ग्रेसका सांसदहरूले भने उक्त विधेयकको विपक्षमा मत दिने बताउँदै आएका छन् ।

आफँैले गरेको सहमति लत्याएको भन्दै चिकित्सकहरूले सरकारको आलोचना गरेका छन् । चिकित्सा शिक्षामा सर्वसाधारणको पहुँच हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने मागलाई समेत बेवास्ता गर्दै सरकार अगाडि बढ्नु खेदजनक भएको नेपाल चिकित्सक सङ्घले जनाएको छ ।

डा. केसीको अनशनबारे स्वास्थ्य मन्त्रालय भन्छ, ‘केसीले उठाएका मुद्दा मन्त्रालयसँग सम्बन्धित छैनन् ।’

चिकित्सा शिक्षा विधेयकमाथि गम्भीर असहमति जनाउँदै इलाममा १६ औँ आमरण अनशनरत डा. केसीको माग स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित नभएको र विधेयक संसद्मा पेस भएकाले मन्त्रालयको छुट्टै धारणा नभएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :