क्रान्तिकारी मजदुर सङ्गठन आवश्यक रहेको निष्कर्ष

 काठमाडाैँ : नेपाल कम्युिनस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी अटोमोबाइल्स श्रमिक सङ्घले प्रथम काठमाडाँै जिल्ला भेला शनिबार सम्पन्न गरेको छ । भेलाले सूर्यबहादुर तामाङलाई जिल्ला कार्य समितिको अध्यक्षमा चयन गर्दै सात सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । उपाध्यक्षमा लेखनाथ भट्ट, सचिव रामदेव थापा, कोषाध्यक्ष मोहनप्रसाद चौधरी एवम् सदस्यहरूमा अनिल थापामगर, अरुण थापामगर र सुरेन्द्र श्रेष्ठ रहेका छन् ।

सङ्घको काठमाडाँै जिल्ला कार्यालयमा आयोजित प्रथम भेलाले सङ्गठन, सङ्घर्ष र अभियानसँग सम्बन्धित विभिन्न निर्णय लिएको बताइएको छ । भेलामा प्रमुख अतिथि अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय कोषाध्यक्ष विनोद थापा, अतिथि जिल्ला महासङ्घ अध्यक्ष नारायण तोलाङ्गीलगायत मजदुर नेताले प्रशिक्षण मन्तव्य दिएका थिए ।

विभिन्न अटोमोबाइल्स क्षेत्रमा ठेकेदार आउटसोर्सिङ कम्पनीहरूले श्रमिकलाई निर्धारित पारिश्रमिक नदिने गरेको, व्यवसायीहरूले बेरोकटोक काममा लगाउने र शोषण गर्ने गरेको विषयमा सहभागी मजदुरहरूले गुनासो गरेका थिए । ट्रेड युनियनहरू अर्थवादमा फसिसकेकाले क्रान्तिकारी मजदुर सङ्गठनको आवश्यकता भएको पनि उनीहरूको ठहर छ ।

मन्तव्य राख्दै थापाले श्रमिकहरूलाई सबैखाले शोषण अन्त्य गर्ने एकीकृत जनक्रान्तिको कार्यदिशामा ध्यान दिन र वैज्ञानिक समाजवाद स्थापनामा जोड दिन आग्रह गरे । उनले श्रमिकहरूमाथि गैरन्यायिक तवरले दमन भैरहेको विभिन्न प्रसङ्ग उजागर गर्दै महासङ्घले अझ सशक्त भूमिकामा सङ्घर्ष छेड्ने र मजदुरलाई न्याय दिने बताए ।

बैठकले आवश्यक सङ्ख्या थप गर्ने र सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानलाई निरन्तरता दिने सङ्घका केन्द्रीय संयोजक तथा कार्यक्रमका अतिथि रमेश बस्नेतले बताए ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :