नेकपा उपत्यका ब्युरोको राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न

काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले राजनैतिक तथा वैचारिक प्रशिक्षण शनिबार सम्पन्न गरेको छ । ब्युरोका ईन्चार्ज प्रज्वलको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा गत भदौदेखि पार्टी चलाएको संगठन सुदृढ तथा विस्तारको अभियानको ब्युरोले गरेको समीक्षा तथा ब्युरोको आगामी कार्यक्रमबारे पनि प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा बोल्दै इन्चार्ज प्रज्वलले प्रचण्डले नेपाली क्रान्तिलाई धोका दिएर दलाल संसदीय व्यवस्थामा लम्पसार परेपछि पनि मुलुकमा एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासाथ नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिलाई नयाँ शिराबाट जारी राखेको बताए ।

समीक्षामा सरकार उसकै बुद्धिले नेपाल कम्युनिस्ट पार्टीमाथि चलाएको दमन र झुठा मुद्दा श्रृंखला उसैलाई प्रत्यूत्पादक भएको निस्कर्ष निकालिएको छ । अभियान चलाएयता मङ्सिर ८ को काठमाडौँमा सम्पन्न विशाल जनसभासम्म आइपुग्दा पार्टीले थप उचाई प्राप्त गरेको निचोडमा पार्टी केन्द्र पुगेको जानकारी पनि प्रशिक्षणमा दिइएको थियो ।

पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई क्रान्तिबाट भागेर दलाल संसदीय व्यवस्थाको टाङमुनि छिरेर धनढ्य बनेकोमा कुनै अनौठो नभएको उनको भनाई थियो ।

नेता प्रज्वलले भनेका छन्, ‘क्रान्तिबाट भागेका प्रचण्डले विश्वमै अब क्रान्ति संभव छैन भनेर आत्मसमर्पण गरिसकेको अवस्थामा नेपालमा क्रान्ति संभव छ भन्ने कुरा उनकै अगाडि आफ्नो पार्टीले देखाइरहेका छौँ ।’

प्रचण्ड अहिले प्रतिक्रान्तिका नाइके बन्न लागेको तर त्यसले एकीकृत जनक्रान्तिलाई कुनै फरक नपर्ने उनको भनाई छ । प्रशिक्षणमा विशेष ब्यूरोका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :