दुस्मनको कस्टडीमा ९ महिना ४ दिन

दलाल संसदीय व्यवस्थाले लादेको कथित प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले खारेज गर्ने नीति लिएको थियो । सोही ‘पार्टीकेन्द्रको नीति र निर्देशनलाई दू्ृढतापूर्वक आत्मसात् गरौँ’ भन्ने सर्कुलर हाम्रो जिल्ला पार्टी काठमाडौँको समितिमा छलफल गरेको केही दिनपछि निर्वाचनको मिति नजिक आइहाल्यो । म युवा सङ्गठन काठमाडाँै जिल्लाको संयोजक भएको हुँदा जिल्ला सचिवालय स्तरको बैठक बोलाई पार्टीले सुम्पेको जिम्मेवारीबारेमा छलफल भयो । सरकारले नेकपाका सबै कार्यकर्तालाई गिरफ्तार गर्ने कुरालाई हेक्का राख्दै म तोकिएको निर्वाचन मिति अघि (२०७४ मङ्सिर २१ गते) १० गते नै हाल सामना परिवारको क्याम्पको सेल्टर छाडेर दलाल सरकारका सिपाहीहरूको आँखा नपुग्ने स्थानमा सेल्टर बनाई बस्न थालेँ ।

१०–१५ गतेसम्मका दिनहरू मेरो समितिका कमरेडसँग भेटघाट तथा छलफल गर्दागर्दै बितेको पत्तो नै भएन । सरकारको सुरक्षाघेरा झन्झन् कडा हुँदै थियो । पार्टीका थुपै्र नेता–कार्यकर्तालाई गिरफ्तार गरिसकेको थियो । मेरो मोबाइलको घन्टी बज्यो । पार्टी कमरेडको रहेछ । फोन उठाएँ । दाइले भन्नुभयो, ‘तपाईं नयाँ बसपार्कतिर नआउनुहोला । पुलिसहरू तपाईंको फोटो लिएर खोज्दैछन् ।’ यति भन्दै फोन काट्नुभयो । उक्त मितिसम्म सरकारले आफ्नो फासिवादी रूपको प्रदर्शन बढाउँदै लगिरहेको थियो । टेलिभिजनहरूबाट विप्लव नेतृत्वको नेकपाले देशैभरि निर्वाचन खारेज गर्न बम विस्फोट गरिरहेको समाचार सम्प्रेषण भइरहेको थियो । तर कथित वाम गठबन्धनले बम काङ्गे्रसले पड्काएको हो भन्ने आरोप लगाइरहेको थियो भने काङ्ग्रेसले वाम गठबन्धनले हो भन्दै भाषण गरिरहेको थियो । १५–१९ गतेसम्म पार्टी योजनाको प्रचार–प्रचार गर्दै सेल्टर परिवर्तन गर्दै बिते । २० गतेको दिन थियो । जुन दिन बेलुका विचारमान कमरेड र म आफन्तकहाँ बसेका थियौँ । बिहान ६ बजेतिर उठ्यौँ । सानीआमाले खाना तयार पार्नुभएको रहेछ । खाना खाइसकेपछि । सानीआमासँग बिदा लियौँ । सानीआमाले माया गर्दै सचेततापूर्वक काम गर्नू भन्नुभयो । उहाँको वचनलाई आत्मसात् गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्न बाटो लागेँ ।

लगभग बिहानको नौ बजिसकेको थियो । हामी बुद्धनगर सानीआमाको डेराबाट प्रहरीघेरा छिचोल्दै मोटरसाइकलमा वसुन्धरातर्फ लाग्यौँ । मन्दगतिमा बाइक हाँक्दै मोर्चातर्फ अगाडि जाँदै गर्दा बाटोमा सहयोद्धा कमरेड विचारमानको मुखबाट गीत गुन्जिन थाल्यो–
देशको माया छ भने साइँला दाइ
उठ है लड्नलाई
माटोको माया छ भने साइँला दाइ
उठ है भिड्नलाई
यो गीत सुनेपछि मेरो मनमा लाग्न थाल्यो— यो देश स्वाधीन बनाउन देशका युवाहरू एकजुट भई दलाल पुँजीवादी सत्ताका विरुद्ध धावा बोल्नुको विकल्प छैन । यस्तो सोच्दासोच्दै वसुन्धरा आइपुगिसकेछ । विचारमान कमरेडले मोटरसाइकल रोक्नुभयो र ‘रवि कमरेड ल अब ओर्लनुस् । मचाहिँ शान्तिबाटिकामा सानो काम छ, त्यता लाग्छु’ भन्नुभयो । मैले हुन्छ भन्दै र पछि भेट गरौँला भन्दै हात मिलाएँ । वसुन्धराको छलफल सकेपछि म महानगर यातायात चढेर कोटेश्वरतर्फ लागेँ । कोटेश्वरचोकमा पुगेर साथीलाई फोन गरौँ भनेर मोबाइल डायल मात्र के गरेको थिएँ, बोलेरो गाडी मेरैअगाडि आएर रोकियो । त्यो ६÷७ जनाको सङ्ख्यामा रहेका केही मान्छेको जत्था जसमध्ये एकजनाको आँखा फुस्रो र निष्ठुर देखियो । युनिफर्म पनि लगाएको थिएन । त्यो व्यक्तिले मेरो कन्चटमा पेस्तोल ताक्यो । अरूले ‘घेरा हाल् साले, गधा, चोर’ भन्दै उसले मेरो कपालमा देब्रे हातले समात्यो । दुईतीनपटक मुक्का प्रहार ग¥यो । केहीले दाहिने हातमा र केहीले देब्रे हातमा समातेर बोलेरो गाडीभित्र हाले र हत्तपत्त आँखामा पट्टी बाँधे । पट्टीमाथि पूरै अनुहार छोप्ने कालो टोपी लगाइदिए । त्यो अचानक भएको आक्रमणको उत्तरमा मैले के गर्ने, मेरो मनमा कुनै उपाय आइरहेको थिएन । सायद उनीहरूको नाइके चिच्यायो– रवि गोले भनेको तैँ होइनस् ? मैले हो भनेँ र प्रश्न गरेँ— मलाई किन समाउनुभएको ? पछाडितिरबाट सबैजनाले अँगालो हालिराखेका थिए । ‘चलाखी गर्छस् ? हामीलाई उल्लु बनाउन खोज्छस् ? नाकसाँक भत्काइदिऊँ ?’ भन्दै गाली गर्दै रिसले काँपेको स्वरमा झम्टेर मलाई मुन्ट्यायो र कुटपिट ग¥यो । थामिन मात्र खोज्दै थिएँ, उसले फेरि मेरो गर्धनमा हिर्कायो । म त्यो पिटाइ सहन नसकेर गाडीभित्रै लड्न पुगेँ । त्यसपछि मेरो नाकमा कसैले मुक्का प्रहार ग¥यो । नाकबाट रगत बगेको अनुभव भयो । मेरो नाक र गर्धन बेस्सरी दुख्न थाल्यो । त्यो बेला मैले त्यो मलाई अपहरण गर्ने पुलिसको जत्थालाई हिंश्रक जनावर सम्झेँ ।

मेरो दिमागमा नेपाल प्रहरीको अनुसन्धान गर्ने प्रक्रियाप्रति घृणा र आक्रोश एकैपल्ट ओइरिएको थियो । म नाकबाट बगेको रगत रोक्ने कोसिस गर्दै थिएँ तर मलाई घोप्टो पारी घाँटीमा न्याँकेर गाडी तेज गतिमा अन्त कतै लगिरहेको थियो । त्यसपछि मलाई अपहरण गर्ने नाइके बर्बराउन थाल्यो । ‘तँ गइस् गोले अब, तैँले धेरै दुःख दिइस् । तँ आफूलाई खुब मास्टर माइन्ड ठान्छस् होइन ? त चन्द्रबहादुर थापाको बडीगार्ड ?’ मैले होइन भनेँ । म वाईसीएलमा हुँदा उहाँसँग काम गरेको हुँ । उहाँ मेरो ब्रिगेड कमान्डर हुनुहुन्थ्यो भनेँ ।

‘तँ युवा सङ्गठनको संयोजक रहिछस् । भन् विप्लव कहाँ छ ?’ उनीहरुले सोधे । मैले भनेँ, ‘हाम्रो महासचिवका विषयमा हामीलाई केही जानकारी हुँदैन ।’ ‘तँ कट्टर रहिछस् । अब जान्छस्’ भन्दैै गाडीलाई तेज गतिमा दौडाए । यत्तिकैमा गाडी रोकेको आभास भयो । ‘ओइ राँडीको छोरा’ भन्दै सबैजना मुख छोड्न लागे । गाडीबाट ओरालेर केहीले देब्रे र केहीले दाहिने हात समाई सीधा हिँड् भने । कहिले दायाँ मोड, कहिले बायाँ मोड परेड खेलिस् पहिला । अगाडि हेर्, सिँढी छ । उकालो चढ् भन्थे । उनीहरूको अनुसन्धानको कार्यालयमा पु¥याएको रहेछ । खुट्टाले टेक्दा कार्पेटको महसुस भयो । जुन अमानवीय व्यवहार झेल्नुपरिरहेको थियो । ‘दुस्मन भनेको दुस्मन नै हो । सङ्लो पानी धमिलो’ भन्ने गीतको सम्झना आयो । उनीहरूको कार्यालयमा पु¥याएपछि पछारेर भुइँमा बस् भने । मेरा दुवै हातलाई पछाडि लगेर हातकडी लगाइदिए । उनीहरूको कमान्डरले प्रश्न सोध्न थाल्यो— ‘ल साँचोसाँचो भन् । दाङमा मान्छे मारेको छ । अन्त पनि मारेको छ । तिमीहरूले हानेको बमले गगन थापालगायतको अवस्था गम्भीर छ । सीधा भन् नत्र त मर्छस् । चरी र घैँटे मार्ने पनि हामी नै हौँ । तेरा सबै नेताहरूले त भनिसके । भन् तिमीहरूले गगन थापालाई बम हानेको हो कि होइन ? तँ यहाँको अध्यक्ष होस् । हामीलाई सब थाहा छ । भ्यालीको सबैतिर बम हान्ने जिम्मा तैँलै लिएको रहिछस् । भन् ककसलाई हान्न लगाइस् गगन थापालाई ?’

मैले ‘पार्टीको कुनै बम विस्फोट गर्ने योजना भएको जानकारी छैन’ भनेँ । ‘तैँले ढाँटिस्’ भन्दै ममाथि अनुसन्धान गर्ने पुलिसले मेरो शरीरमा लाठी र बुट प्रहार ग¥यो । उसले प्रहार गर्दा मेरो टाउको काठको टेबुलमा ठोक्किएको थियो । त्यसपछि ‘यसले यत्तिकै भन्दैन, यसलाई ठीक पार् । भन्ने हो कि होइन, भन्’ भन्दै अरु १०÷१२ जनाले कसैले लात्तीले र कसैले लौरोले पैतालामा हान्दै यातना दिए । म केही नबोलेपछि मलाई करेन्ट लगाइयो । त्यसपछि मलाई केके गरे थाहा भएन । ब्युँझिँदा मेरो टाउको सहन नै गाह्रो हुनेगरी रन्किरहेको थियो । मलाई लाग्यो, म झुमिरहेको छु । बान्ता होलाझैँ गरी वाक्वाकी लाग्न थाल्यो । एकछिनपछि सबै अन्धकार भयो । म ब्युँझिँदा जिउ सिङ्गै घाउझैँ टन्किरहेको थियो । मैले हातखुट्टा चलाएँ, भाँच्चिएको रहेनछ । कम्मर र कान बेस्सरी दुखिरहेको थियो । टाउको भनभनी रिँगाइरहेको थियो । केही सोच्न सकिरहेको थिइनँ । त्यत्तिकैमा ‘तँ माओवादी, तँलाई मान्छे मारेर पुगेन राडीको छोरा ?’ भन्दै सबैजना बर्बराउँदै ‘केही सोध्न बाँकी छ । एकछिन’ भन्दै पुलिसले प्रश्न सोध्न थाले । फेरि अनुसन्धान सुरु भयो । ‘भन् है छिटो भन् । नत्र तँ इन्काउन्टरमा पर्छस् । तैँले सामान राखेको घरधनी पनि समाइसकियो । तेरो साथी विचारमानलाई पनि समाइसक्यौँ । बम कहाँ छ ? रिमोट कहाँ छ ? कुकर कहाँ छ ? हतियार कहाँकहाँ छ ? भ्याली इन्चार्ज माइला लामा कहाँ छ ? तेरो इन्चार्ज गुणराज लोहनी कहाँ छ ? हतियार र बमहरू कहाँबाट ल्याइस् ? कोबाट लिइस् ?’ यावत् प्रश्न सोधे । गगन थापाको बम विस्फोटका विषयमा मलाई केही थाहा छैन भनेँ । बम र पेस्तोलचाहिँ एकजनाको नाम बनाएर भनिदिएँ । त्यो नाम भएको व्यक्ति हाम्रो पार्टीमा कोही थिएन । उसैले राखिदिनू भनेको हो । मलाई सामानका बारेमा केही थाहा छैन । नेतृत्वहरू, मेरो जिम्मा परेका योजनाहरू, साधनहरू बचाउनका लागि उनीहरूलाई कन्भिस गर्ने गरी केही मान्छे नबस्ने साथीको कोठा देखाउँदा फरक पर्दैन भन्ने मेरो मनमनै योजना बन्यो र त्यसो गर्दाखेरि केही ठाउँमा सोचेभन्दा फरक स्थिति आउँदा साथीहरू गिरफ्तारमा पर्ने अवस्था आयो । त्यो कुरा मैले कल्पना पनि गरेको थिइनँ । जुन अवस्था आउँदा रवि खत्तम, आत्मसमर्पण नै ग¥यो ? भन्ने हल्ला बाहिर मच्चिएको पाएँ ।

मैले राम्रोका लागि गर्दाखेरि केही नराम्रो देखियो । राम्रो हुन्छ भनेर गरेको कामले बाहिर केही नराम्रो देखिने अवस्था उत्पन्न भयो तर मलाई लाग्छ, मैले दुस्मनको सामुन्ने आत्मसमर्पण गरिनँ । पार्टी, क्रान्ति र सर्वहारावर्गप्रति खाएको बाचा र कसम तोडिनँ । तीन दिनसम्म त्यही प्रश्न दोहो¥याउँदै तैँले माइला लामा र गुणराज लोहनीलाई समाउनुपर्छ, हतियार र बम देखाउनुपर्छ । गगन थापालाई हानेको हो भनेर स्वीकार्नपर्छ भन्दै यातना दिए । मलाई तीन दिनसम्म कहिले घोप्टो पार्दै त, कहिले उत्तानो बनाएर अनि कहिले खुट्टा आकाशतिर फर्काएर पैतालामा लौराले प्रहार गरे । त्यति गर्दा नपुगेर करेन्ट लगाउँदै गर्दा पनि मैले केही स्वीकारिनँ र देखाइनँ । तीन दिनपछि हामीलाई रिलिज गर्ने काम भयो । रिलिज गरेपछि हामीलाई महाराजगन्ज हिरासतमा पठाइयो । हिरासत पुगेको भोलिपल्ट पत्रिका पढ्दा पो थाहा भयो— पत्रकारसम्मेलनमा मलाई गगन योजनाको मुख्य योजनाकार बताइएको रै’छ । साथीहरूलाई सहयोगी बनाइएको रै’छ । जुन कुरा हामी कसैले भनेका थिएनौँ । सरकारले महाराजगन्जचोकबाट हामीमाथि तीनवटा झूट्टा मुद्दा लगाउने काम ग¥यो ः १. ज्यान मार्ने उद्योग । २. विस्फोटक पदार्थ । ३. हतियार खरखजाना । बाहिर पुलिसले चलाएको हल्ला र पार्टीभित्र चलेको हल्लाले थोरै तनावजस्तो महसुस गर्दै हिरासतको एउटा कुनामा बसिरहेको थिएँ । सँगै पक्राउ पर्नुभएका राजीव दाइ आएर भन्नुभयो, यस्तो हुन्छ । कहिलेकहीँ छुटेर गएपछि हामी पनि यथार्थ जे हो, पार्टीमा राखौँला । चिन्ता नलिनुस्, बरु आउनूस् ५०÷५० मैले पनि ल हान्दिऊँ न त दाइ भनेँ । हामी पोट खेल्न लाग्यौँ । पक्राउ परेका कमरेडहरूको बीचमा छलफल गर्दै कसरी सामना गर्ने भने विषयमा छलफल ग¥यौँ । भेट्न आउनुभएका कमरेडहरूसँग भेट गर्दा हामीलाई थप ऊर्जा मिलिरहेको थियो ।

म्याद थप गर्दै हिरासत ल्याउने गर्दैगर्दा पुस २० गते हाम्रो मुद्दा पेस भयो । थुनछेक बहस गर्न वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिल पोखरेल, नारायण तिवारी (अरू वकिलको नाम मलाई थाहा भएन) हरूले डटेर अदालतको सामना गर्नुभयो । केही समयपछि परिमाण पनि आइहाल्यो । ज्यान उद्योग र विस्फोटक मुद्दामा साधारण धरौटीमा रिहाइको आदेश न्यायाधीशले गरेका रहेछन् । बाँकी रह्यो हातहतियारको मुद्दा जुन जिल्ला प्रशासनले चलाएको थियो । फेरि एक दिन हिरासतमा राखी पुस २१ गते जिल्ला प्रशासनमा इजलास भयो । मलाई सीडीओको नाम ठ्याकै सम्झना भएन । हामीमध्ये म र विचारमान कमरेडलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ भन्ने निर्णय भयो । जिल्ला प्रशासन कार्यालयमा पुग्नुभएका सम्पूर्ण कमरेडहरूसँग क्रान्तिकारी अभिवादन गरेपछि म र विचारमान कमरेडलाई पुलिस क्लबमा राखी सेन्टर जेल पु¥याइयो । जेलभित्र पस्नुभन्दा अगाडि फोटा खिच्ने, बायोडाटा भर्नेजस्ता कागजात मिलाउनुपर्ने रहेछ । मलाई जेलको अनुभव योभन्दा अगाडि थिएन । जेलभित्रको वातावरण कस्तो हुन्छ होला भन्ने खुलदुली भइरहेको थियो ।

प्रहरीमा आवश्यक कागजात मिलाएपछि जेलको गेटसम्म प्रहरीले पु¥याइदिए । गेटमा ठूलो साङ्लोे बाँधिएको थियो । गेटबाट भित्र कैदीहरूको प्रशासन आन्तरिक प्रशासन चल्दो रहेछ । उनीहरूले पनि भित्र बायोडाटा राख्दा रहेछन् । हाम्रो बायोडाटा लिएपछि हामीलाई जेलको ७ नं ब्लक पु¥याइयो । त्यसपछि जेलका नाइके र सहनाइकेहरूले भित्र पालना गर्नुपर्ने नियम–कानुनको ब्रिफिङ गरे । नाइकेले सबैभन्दा पहिले अनिवार्य ७ नं ब्लकमा बस्नुपर्छ अनि अरू ब्लकमा पठाउने नियम छ भने । सकेसम्म तपाईंको परिचय नदिनुस् । कोही कैदीलाई परिचय दिएको खण्डमा सबैले बोल्न खोज्छन् । तपाईंलाई गाह्रो हुन सक्छ । बाहिर पुलिसले पनि तपाईंलाई उच्च निगरानीमा राख्छ । ख्याल गर्नुपर्छ । तपाईंहरूले त राम्रो काम गरेर आउनुभएछ । धन्यवाद तथा स्वागत छ भनेर नाइकेले सहनाइकेलाई सबै जेल घुमाऊ भने । सहनाइकेले भात खाने ठाउँ, ट्वाइलेट बाथरुम, खेल्ने ठाउँ, घुम्ने ठाउँ, मन्दिर, गुम्बा, चर्च आदि सबै ठाउँ घुमाएर जानकारी दिए । सबै घुमाएपछि ७ नं ब्लकमा भान्सा, सुत्ने ठाउँ देखाइदिए । सिरक, डस्ना, आवश्यक भाँडाकुँडा सबै आफैँले किन्नुपर्ने रहेछ । सबै सामान किनेपछि हामीले सुत्ने ठाउँको व्यवस्था ग¥यौँ । बेलुका ७ बजे अनिवार्य बिस्तरामा आएर बस्नुपर्ने रहेछ । बिहान नौ बजेभित्र उठ्नुपर्ने, दिउँसो ३ बजे पनि बेडमा आएर बस्नुपर्ने रहेछ । बेडमा बसेपछि नाइकेहरू आएर भाषण गर्दा रहेछन् । चूप लागेर सुन्नुपर्ने रहेछ । कसैले नियम तोडेमा कार्यालयमा लगेर ठटाउँदो रहेछ । हामी त्यो दिन बेलुका उनीहरूको नियम पालना गर्दै सुत्यौँ । बिहान उठेर सबै जेल घुम्यौँ । भित्र पुस्तकालयको पनि व्यवस्था रहेछ । चियापसलमा चिया खाएर पुस्तकालयको सदस्य बन्यौँ । किताबहरू लिएँ । मलाई बाहिर भएको भए यस्तो पढ्ने अवस्था हुँदैनथ्यो होला । मेरा लागि त अवसरजस्तै भयो । भित्र नाइकेहरूले परिचय नदिनू, राजनीतिक गफ नगर्नू भने पनि मैले धेरैजनासँग परिचय दिँदै राजनीतिक गफ गरेँ । कैदीहरू त सबै राज्यविरोधी रहेछन् भन्ने महसुस भयो । जेलमा एकीकृत जनक्रान्तिका विषयमा राम्रै छलफल भयो । नेपालमा नयाँ क्रान्तिको आवश्यकता धेरैले महसुस गरेका रहेछन् । हाम्रो छलफलमा अन्य कैदीबन्दीको व्यापक सहमति भयो पनि । यसरी राजनीतिक गफ गर्दै किताब अध्ययन गरिरहँदा ९ महिना बितिसकेछ ।

एक दिन ‘रवि गोलेजी र विचारमानजी’ भनेर गेटमा बोलायो । भदौ २५ गते ९ महिना ४ दिनमा सेन्टर जेलबाट मुक्त भयौँ ।
मैले दलाल संसदीय व्यवस्थाको विरोध गर्दा २०७० सालको संविधानसभाको चुनावमा दुस्मनको बमबाट देब्रेहात गुमाएँ । २०७४ सालको प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेज गर्ने पार्टीको निर्देशनको मोर्चामा अगाडि बढ्दै गर्दा दुस्मनको गिरफ्तारीपछि मैले भोगेका कठिन यातनाका कारण आज कान राम्रोसँग सुन्दिनँ । मलाई विश्वास छ, एकीकृत जनक्रान्ति पूरा गरी वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको महान् अभियानमा पुनः क्रान्तिको झन्डा बोकेर गाउँ, सहर र बस्तीबस्तीमा जानेछु । मलाई लाग्छ, यातनाले कोही गल्लान् तर नेपाली युवा झनै पाइन चढेको फलामजस्तै बन्छन् । मैले थाहा पाएँ, वर्गसङ्घर्ष कुनै चियापानको खेल हैन रै’छ, यो त भनायक र पीडामय आगोबाट गुज्रनुपर्ने युद्ध रै’छ । आगामी दिनमा यो दलाल संसदीय व्यवस्था अन्त्यका लागि कठिन यातना मात्रै हैन, मेरो भागमा सहिदको कोटा परे पनि बलिदान गर्नेछु । एकीकृत जनक्रान्तिको महान् अभियानमा अगाडि बढ्नेछु । हाल सामना सांस्कृतिक परिवारको क्याम्पमा बसेर विगतलाई स्मरण गर्दै आगामी चुनौतीको सामना गर्ने र क्रान्तिकारी कार्यभार पूरा गर्ने विषयमा गम्भीरताका साथ सोचिरहेछु ।

२०७५ पुस २७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :