नेकपाको जनतामा अपिल, जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढौँ !

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीले एक अपिल निकाल्दै देशभक्त, गणतन्त्रवादी, सच्चा लोकतन्त्रवादीहरूलाई वैज्ञानिक समाजवाद स्थापना गर्न अघि बढ्न आह्वान गरेको छ । आफ्नो पार्टीले २ महिने अभियान सञ्चालन गर्ने जानकारी दिँदै उसले भनेको छ, ‘सामाजिक दलाल सरकार असफल भएको छ । जनता समस्यामा छन् । देश सङ्कटमा छ । क्रान्ति अगाडि आउँदैछ । हाम्रो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ ।’

उसले अघि भनेको छ, ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’ को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’ मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा केही बाँकी छैन ।’

वर्तमान सरकारले जति नै समाजवादको कुरा गरेपनि ऊ फासिवादतिर उन्मुख भएको निष्कर्ष निकाल्दै भनिएको छ, ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् । युवा पलायन बढ्दै गएको छ । एमाले—माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा । स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ । न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झूट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ यी सबैबाट देश सङ्कटमा परेको प्रस्ट छ ।’

अहिलेको सरकार सबैतिर असफल भएको भन्दै अपिलमा अघि भनिएको छ, ‘सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले—माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आपूm पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस—राप्रपाले ‘कम्युनिस्ट सरकार’ को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन अपितु दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र समाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले—माके सरकारको परिवर्तन होइन र हुन सक्दैन, दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

जनसमुदायलाई अपिल गर्दै भनिएको छ, ‘तपाईंहरूलाई थाहै छ हाम्रो पार्टी जनयुद्धदेखि शान्तिसम्झौतासम्म निरन्तर दलाल पुँजीवादी सत्ताको अन्त्य र जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापनाको आवाज उठाउँदै र लड्दै आएको छ । हामीले जनयुद्धका भीषण आँधीमय दिनमा मात्र होइन, शान्तिसम्झौताका कथित शान्तिका दिनमा पनि निकै दुःखकष्ट झेलेर सम्पूर्ण राष्ट्रघाती र जनघाती कार्यका विरुद्ध सङ्घर्ष गरेका छौँ । आज त हाम्रो जीवन अत्याचारी दमनभित्र चलिरहेको छ तर हामी नेपाली जनताको मुक्ति, अधिकार र देशको स्वाधीनताका लागि अन्तिम दमसम्म लड्ने प्रणका साथ सङ्घर्षको मोर्चामा डटिरहेका छौँ । हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत समर्पित छौँ ।’

अपिलको अन्त्यमा भनिएको छ, ‘हामीलाई पूर्ण विश्वास छ– हरेक समय न्याय, सत्य, परिवर्तन र अधिकारका पक्षमा क्रान्तिकारी शक्तिहरूलाई साथ दिँदै आएका श्रमिक जनताले उनीहरूकै लागि लडिँदै गरेको वैज्ञानिक समाजवादी सत्ताका लागि ‘एकीकृत जनक्रान्ति’ लाई अवश्य पूर्ण साथ दिनेछन् । जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले—माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन । हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१ औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’

२०७५ पुस २६ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :