जनपक्षीय पत्रकार घेराबन्दीमा

 

कालीकोट : क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारकारितामाथि दिनप्रतिदिन राज्यले हस्तक्षेप बढाएको बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल भेरी–कर्णाली क्षेत्रीय समन्वय समितिले कालीकोटको रास्कोटमा आयोजना गरेको जनसञ्चार अभियान एवम् जनपक्षीय पत्रकारिता तालिमको उद्घाटन गर्दै डुम्रेले राज्य पक्षले विभिन्न बहानामा जनपत्रकारहरूलाई हस्तक्षेप गर्दै मिडियाको घाँटी निचोरेको बताए ।

जनताका पक्षमा बोल्दै प्रगतिशील आन्दोलनलाई सैद्धान्तिक हिसाबले सहयोग गर्दा राज्य एकपछि अर्को मुद्दामा दुःख दिएको भन्दै उनले आन्दोलन गर्न आम पत्रकारलाई अनुरोध गरे । समाजमा अभाव, अशिक्षा, असमानता, भ्रष्टाचार बढ्दै गएको अवस्थामा जनपक्षीय पत्रकारहरूको भूमिका बढेकाले विश्वस्त भएर गलत तत्वको विरुद्ध कलम चलाउन उनले आग्रह गरे । डुम्रेले कर्णालीका जनताका पक्षमा लेख्ने र बोल्ने सक्षम जनपत्रकार बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज समरले श्रमजीवी जनताका पक्षमा कलम चलाउने पत्रकारहरूको अभाव हँुदै गएको बेला कालीकोटमा तालिम राखेर यहाँको अभाव, अशिक्षाबारे कलम चलाउने पत्रकार बनाउने प्रयासका लागि सङ्गठनलाई धन्यवाद दिए ।

कार्यक्रममा कालीकोट जिल्ला सेक्रेटरी रणदीपले पत्रकारले गलत पक्षसँग सम्झौता गर्नु नहुने बताए । कार्यक्रममा सङ्गठनका महासचिव हिम बिष्टले तालिमबाट उत्पादित पत्रकार कर्णालीका पक्षमा बोल्न र लेख्न सक्षम पत्रकार बन्ने बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता क्षेत्रीय समन्वय समिति सयोजक टीका केसी, सञ्चालन केन्द्रीय सदस्य राजकुमार योगीले र स्वागत कर्णदीप विकले राखेका थिए ।

‘आस्था, विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता श्रमजीवीको हक, हित र जनपक्षीय पत्रकारिताको विकासमा हाम्रो प्रतिबद्धता’ भन्ने नारा लिएर अभियनमा जुटेको संगठनले जनाएको छ ।

२०७५ पुस २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :