क्रान्तिकारीबीचको एकता आजको आवश्यकता


नेपालमा माक्र्सवादी समाजवादी आन्दोलन चलेको सात दशक पूरा हुँदैछ । कम्युनिस्ट आन्दोलनको विकास पार्टीभित्रको दुई लाइन सङ्घर्षले हुन्छ भने जनवादी आन्दोलनको विकास वर्गसङ्घर्षबाट हुन्छ । पार्टी स्थापनाकालदेखि हालसम्म दुई लाइन सङ्घर्ष र वर्गसङ्घर्ष पनि चलिरहेका छन् । हाल दुवै सङ्घर्षमा क्रान्तिकारीहरू पछि परेका छन् ।
संसारका सम्पूर्ण बुर्जुवा (नोकरशाही र उदारवादी) विज्ञानका तर्फबाट माक्र्सवादी शिक्षाप्रति ठूलो शत्रुता र घृणा छ । उनीहरूले माक्र्सवादलाई एक प्रकारको अहितकर सम्प्रदायका रूपमा हेर्छन् । माक्र्सवादी दर्शन र बुर्जुवा नोकरशाही उदारवादी दर्शन परस्पर विरोधी दर्शन हुन् । बुर्जुवा नोकरशाही उदारवादी पुजीवादी दर्शनले शोषण प्रथाको हरप्रकारले रक्षा गरेको हुन्छ भने माक्र्सवादी दर्शनले चाहिँ त्यस प्रथाका विरुद्ध कठोर सङ्घर्ष गरेको हुन्छ । माक्र्सवादले कुनै पनि अन्धविश्वास कुनै पनि प्रतिक्रियावाद तथा कुनै पनि प्रतिक्रियावादी उत्पीडनको घोर विरोध गरे पनि जबसम्म मानिसहरूले हरप्रकारको नैतिक, धार्मिक, राजनीतिक र सामाजिक प्रचारका घोषणा र सान्त्वनाको पछिल्तिर लुकेको कुनै न कुनै वर्गीय स्वार्थको खोजीनीति गर्न जान्दैनन् तबसम्म राजनीतिमा सधैँ धोका पाइरहन्छन् । हरप्रकारको पुरानो व्यवस्था जतिसुकै युग नसुहाउँदो र मक्किएको भए पनि कुनै न कुनै सत्तारूढ वर्गको शक्तिमा टिकेको हुन्छ भन्ने कुरा नबुझेसम्म प्राचीनताका संरक्षकहरूले सुधारवादीहरूलाई मूर्ख बनाइरहेका हुन्छन् । सबै प्रकारका बुर्जुवा नोकरशाही उदारवादीका हरप्रकारका भ्रम उत्पीडन शोषण दमनको मूलोच्छेदन गर्ने एक मात्र माक्र्सवाद अचुक अस्त्र हो । यही माक्र्सवादी अचुक अस्त्र लिएर वर्गसङ्घर्ष गर्दै झापा विद्रोह गरेको शक्ति र बीसौँ शताब्दीको अन्त्य र एक्काईसौँ शताब्दीको सुरुमा गरी दस वर्ष सशस्त्र जनयुद्धद्वारा नेपालको राजनीतिलाई उथलपुथल पार्ने मुख्य नेतृत्वलगायत ठूलो शक्ति पुरानो बुर्जुवा नोकरशाही उदारवादी कित्तामा परिणत भएको बर्तमान समयमा माक्र्सवादी माओवादी आन्दोलनलाई बचाउनु नै ठूलो कुरा हुन आएको छ ।

माक्र्सवादी माओवादी आन्दोलनको त्याग बलिदानबाट प्राप्त उपलब्धिलाई प्रतिक्रियावादी कित्तामा परिणत गरी नेपाल कम्युनिस्टकै नाममा दुई तिहाइको प्रतिक्रियावादी सरकार छ । अझै तीनवटा माओवादी पार्टीहरूले माक्र्सवाद लेनिनवाद माओवाद र विचारधाराका आधारमा पार्टी चलाइरहेका छन् । ने.क.पा. मसालको नेतृत्व पहिलो पुस्ताका मोहनविक्रम सिंहले गरेका छन् । क्रान्तिकारी माओवादीको नेतृत्व दोस्रो पुस्ताका मोहन वैद्यले गरेका छन् भने ने.क.पा.को नेतृत्व तेस्रो पुस्ताका विप्लवले गरेका छन् । त्यसबाहेक ऋषि कट्टेल, लोकेन्द्र बिष्ट, गोपाल किराँती आदिका समूह पनि छन् । यी सबै माओवादी र माओवादी नामधारीहरूको एकता आजको आवश्यकता हो । यस पार्टी एकताले माओको तीन एकको नीति पनि देखापर्ने थियो ।

एकता निरपेक्ष होइन । एकता–सङ्घर्ष–रूपान्तरण–रूपान्तरण हुन नसके पुनः फुट पनि हुनसक्छ । रुसको रसियाली सामाजिक जनवादी मजदुर पार्टीको इतिहासमा एकता र फुटलाई स्पष्ट बुझ्न सकिन्छ । मार्च १८९८ मा यसको पहिलो महाधिवेशन भएको थियो । यस महाधिवेशनमा लेनिनको उपस्थिति नै थिएन उनी प्रवासमा सजाय भोग्दै थिए । रसियाली नामको पार्टी गठन भएकोमा उनी औधी खुसी थिए । दोस्रो महाधिवेशन ब्रसेल्समा १९०३ मा भएको थियो । यहाँ लेनिनले सर्वहरा अधिनायकत्व मजदुर किसान एकता, जनताहरूको आत्मनिर्णयको अधिकार, सर्वहरा अन्तर्राष्ट्रियतावादसहितको सर्वहारा कार्यक्रम र पार्टी कार्यक्रमलाई मान्यता दिने, पार्टी अनुशासन पालना गर्ने, क्रान्तिकारी सङ्घर्षमा सक्रिय भाग लिने, लेबी तिर्ने र कुनै न कुनै एक पार्टी समितिमा बसेर काम गर्ने पार्टी सदस्यहरू भएको लडाकु पार्टी निर्माण गर्ने प्रतिवेदन पेस गरेका थिए । महाधिवेशनमा बुन्दवादी र अर्थवादीहरूको बहुमत थियो । यहाँ मार्तोभको गैरमाक्र्सवादी प्रस्तावहरू बहुमतले पास भएका थिए । छलफल हुँदै गर्दा लेनिनका अगाडि टिक्न नसकेर केही अर्थवादीहरूले महाधिवेशन बहिष्कार गरे । प्राब्दाका सम्पादकमण्डलले पूर्ण साथ दिँदा लेनिन यही महाधिवेशनमा बहुमतमा पुग्न सके । यी दुई लाइन सङ्घर्षको फलस्वरूप लेनिनले पार्टी सदस्यहरूले पार्टी निर्णयहरू कठोर रूपले पालना गर्नुपर्ने, सबैका लागि एकै किसिमको अनुशासन हुनुपर्ने, अनिवार्य रूपले सबै पार्टी अङ्गहरूको निर्वाचन हुनुपर्ने, सबैले अनिवार्य रूपले रिपोर्ट पेस गर्नुपर्ने, आलोचना र आत्मालोचनाको विकास गरिनुपर्ने नियमहरू निर्माण गरे जुन नियमहरू सार्वभौम छन् । यही महाधिवेशनबाट पार्टी बहुमत र अल्पमत (बोल्सेभिक र मेन्सेभिक) मा मतका आधारमा विभाजन देखाप¥यो ।

तेस्रो महाधिवेशन बोल्सेभिक र मेन्सेभिकबीच छुट्टाछुट्टै महाधिवेशनहरू भएका थिए । यी दुईबीच सिद्धान्तका हिसाबले मिलनबिन्दु नै थिएन । लेनिनले गरेको तेस्रो महाधिवेशनले सर्वहारालाई हतियारबद्ध गर्ने, सशस्त्र विद्रोहको योजना तयार गर्ने आदि प्रस्ताव पास गर्नुका साथै कार्यान्वयनमा पनि गएको थियो । सत्ताका लागि हुने सङ्घर्षमा सर्वहारासँग आफ्नो सङ्गठनबाहेक अन्य हतियार ठूलो हँुदैन भन्ने मान्यता थियो । यस्तो पार्टीले आफू अल्पमतमा पर्छु भन्ने जान्दाजान्दै जब १९०५ को विद्रोह शिथिल भयो । एउटै पार्टी बनेमा आफ्ना विचार र सिद्धान्त जनतामा पु¥याउन सहज हुने महसुस गरी १९०६ मा सबैसँग पार्टी एकता गरी चौथो महाधिवेशन गर्न स्वयम् लेनिनले नै पहल गरे । यस महाधिवेशनमा लेनिन पूर्ण रूपमा अल्पमतमा परे । मेन्सेभिकको बहुमत भएकाले सबै मुख्यमुख्य प्रस्तावहरू मेन्सेभिकको इच्छाअनुसार पारित भए । लेनिनले सञ्चालन गरेको पत्रिकासमेत कब्जा गर्न सफल भए । तर यस महाधिवेशनले देशका सबै क्षेत्रीय सामाजिक जनवादी पार्टीहरूलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टीअन्तर्गत एकजुट पा¥यो । यस एकीकरणले बोल्सेभिकहरूलाई देशका सबै जनजाति र मजदुरमाथि आफ्नो प्रभाव फैलाउन र मेन्सेभिकको भण्डाफोर गरी उनीहरूलाई मजदुरबाट अलग्याउन सजिलो पा¥यो । पछि प्रागमा भएको अखिल रसियाली पार्टी सम्मेलनमा मेन्सेभिकहरूलाई पार्टीबाट निष्कासन गरी पुनः क्रान्तिकारी पार्टी गठन गर्न लेनिन सफल भएको इतिहास छ । नेपालमा पनि २०४७ सालमा विभिन्न पार्टी– चौम, सर्वहारावादी श्रमिक सङ्गठन, जनमुखी पार्टी र विद्रोही मसालसमेत एकता गरी पार्टीलाई जनतामा फैलाएको इतिहास साक्षी छ । पछि एकतामा आएकाहरूले जनयुद्धमा जान अवरोध गर्नेजतिलाई पार्टीबाट निष्कासन गरी ने.क.पा. (माओवादी) जनयुद्धमा गएको हो ।

माक्र्सवादले इतिहासलाई सामाजिक विज्ञानका रूपमा लिन्छ । हेगेलको द्वन्द्ववादलाई अध्यात्मवाद र फाएरबाखको भौतिकवाद जुन प्रकृतिमा मात्र सीमित थियो । यसलाई सामाजिक विज्ञानमा पनि जोडेपछि द्वन्द्वात्मक ऐतिहासिक, भौतिकवादी सिद्धान्त माक्र्स–एङ्गेल्सले प्रतिपादन गरेका थिए । त्यसैले इतिहास अध्ययन मात्र गर्ने विषय नभएर विगतको अध्ययन गर्ने, बर्तमानलाई बुझ्ने र भविष्यको आकलन गर्ने विज्ञान बनेको छ । नेपाल कम्युनिस्ट पार्टीको पनि विगतको अध्ययन नगरीकन वर्तमान बुझ्न गाह्रो हुन्छ र भविष्यको आकलन गर्न पनि गाह्रो हुनेछ ।

यहाँ इतिहासको मूल्याङ्कनका नाममा कुनै व्यक्तिविशेषलाई महान् र कुनै व्यक्तिविशेषको मानमर्दन गरिएको छैन । नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा क. पुष्पलालले एक पर्चा निकालेका थिए । उक्त पर्चामा भनिएको थियो– सामन्ती व्यवस्थालाई चकनाचुर पार, विदेशी साम्राज्यवाद र भारतीय पुँजीवादको प्रभाव र घेराबाट अलग होऊ, मजदुर र किसानको शासन खडा गर, यस शासनमा सामन्त र धनी साम्राज्यवादका दलालबाहेक सबै शोषितपीडित जनतालाई हिस्सा देऊ । पार्र्टी स्थापना गर्दा पार्टी सही नीति र कार्यक्रम लिएको झलक यसले दिन्छ । पार्टी स्थापनादेखि ०२५ सालसम्म केही स्वतःस्फूर्त रूपमा भएका वर्गसङ्घर्षका घटनाबाहेक पार्टीले आफ्नै योजनामा वर्गसङ्घर्ष चलाउनु त के कोसिससमेत गरेन । त्यसैले यो कालखण्ड हाम्रो पार्टीको अँध्यारो कालखण्ड हो । २०२५ सालमा माक्र्सवाद, लेनिनवाद, माओविचारधारा, नयाँ जनवादी क्रान्तिको कार्यक्रममा गोरखपुरमा छुट्टै सम्मेलन गरी क.पुष्पलालले पार्टी पुनर्गठन गरे । रुस र चीन दुवैलाई नचिढ्याउने नीति लिएकाले पार्टीले जनयुद्धको लाइन ल्याउन सकेन । कार्यनीतिक रूपमा विगठित संसद्को पुनस्र्थापना गर्न काङ्ग्रेससँग कार्यगत एकतामा जोड दिए । उनको माओ विचारधाराले आकारै लिन सकेन । यो पार्टी अहिले अस्तित्वमा छैन । अर्को माओ विचारधारा मान्ने पार्टी २०२८ सालमा झापा विद्रोहबाट जन्मेको कोे. के. थियो । यो माले, एमाले हुँदै हाल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) को मूलधार बनेको छ । यसको पनि माक्र्सवाद भन्ने अवशेष बचेको छैन ।

अहिले माओवाद र विचारधारा मान्ने जेजति पार्टीहरू छन् । यी सबै २०२८ सालमा गठन भएको केन्द्रीय न्युक्लसबाट चौम, मसाल, एकताकेन्द्र, माओवादी, एमाओवादी हुँदै एक धार क्रान्तिकारी माओवादी र अर्को धार नेपाल कम्युनिस्ट पार्टी बनेका हुन । केन्द्रीय न्युक्लसकै महामन्त्री मोहनविक्रम सिंह हाल पनि ने.क.पा. (मसाल) का महामन्त्री छन् । पार्टी स्थापनादेखि ०४८ सालसम्मका सबै चुनाब (जनमतसङ्ग्रहबाहेक) बहिष्कार गर्दै आएको मसालले २०५९ सालको स्थानीय चुनावदेखि हालसम्मका सबै चुनावमा भाग लिँदै आएको छ । यस पार्टीले एकपटक उपप्रधानमन्त्री बन्ने ‘अवसर’ प्राप्त ग¥यो ।

यसले चुनावलाई कार्यनीति भन्छ तर रणनीतिकै रूपमा भाग लिनु यसको विशेषता भएको छ । चौथो महाधिवेशनबाट केन्द्रीय समितिमा चुनिएका मोहन वैद्य (किरण) पाँचौँ महाधिवेशनमा महासचिव भएका थिए । यिनले ०४२ सालको सेक्टर काण्डपछि महासचिवको जिम्मेवारी प्रचण्डलाई बुझाएका थिए । २७ वर्षसम्म प्रचण्डको नेतृत्वमा रहेर काम गरे । २०६९ साल असारमा तत्कालीन प्रचण्डको नेतृत्वको एमाओवादीबाट विद्रोह गरेर बौद्ध भेलाबाट ने.क.पा माओवादी गठन गरी अध्यक्ष बनेका थिए । हाल उनी क्रान्तिकारी माओवादीका महासचिव छन् । किरणसँगै विद्रोह गरी माओवादीमा सचिव बनेका नेत्रविक्रम चन्द विप्लवले २०७१ साल माघमा किरणसँग विद्रोह गरी छुट्टै माओवादी नामको पार्टी गठन गरेका थिए । आठौँ महाधिवेशन गरी नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी नाम राखेका छन् र उक्त पार्टीका महासचिव छन् । यसरी हेर्दा यी तीनमध्ये मसाल र क्रान्तिकारी माओवादीको नेतृत्वमा पुरानै नेतृत्व देखिन्छ भने नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा माओवादी जनयुद्धको बीचबाट आएको देखिन्छ । मोहनविक्रम सिंह र मोहन वैद्यबीच लामो समयसम्म माक्र्सवाद सम्बन्धमा शब्द–शब्दमा शस्त्रास्त्र चले पनि कार्यनीतिक रूपमा समान धारणा पाइन्छ । साथै दुवैमा भावनात्मक सम्बन्ध पनि यथावत् छ । मोहनविक्रम र किरणले विप्लवका बारेमा गर्ने टीकाटिप्पणी समान पाइन्छ । यी सबै पार्टीहरूले प्रतिक्रियावादी चुनावलाई भनाइका रूपमा कार्यनीतिक रूपमा लिन्छन् । तर मसालले चुनावलाई रणनीतिक रूपमै लिएको छ र सरकारमा पनि जान कोसिस गरिरहेको छ । किरणले पनि बारबार बीच–बीचमा सर्वपक्षीय सम्मेलन अन्तरिम सरकारका नारा ल्याइरहन्छन् । दोस्रो संविधानसभाको चुनाव विप्लवलगायतको जोडबलले बहिष्कार गर्न राजी भएका किरणले स्थानीय चुनाव र सङ्घीय संसद्को चुनाव केही नवप्रवेशीहरूको जोडबलमा बहिष्कार गर्ने आफ्नै मतका विरुद्ध भाग लिन राजी भए र बहुमतका विरुद्ध गएकाले किरणमा पनि क्रान्तिकारी भनाइ मात्र देखाप¥यो । भण्डाफोर भने पनि चुनावमा भाग लिन अल्पमतसँग किरणले सहमति गर्नुले पार्टीभित्र वितृष्णा पैदा भयो । जम्मा तेह्र–चौध हजार मात्र भोट आउनुले पार्टीको भण्डाफोर नीतिमा उल्टै आफ्नै भण्डाफोर भयो । नेपाल कम्युनिस्ट पार्टीले सबै चुनाव बहिष्कार गरेको छ । यसरी हेर्दा प्रतिक्रियावादी विधि–विधान र नियम मान्ने मसाल र क्रान्तिकारी माओवादीप्रति सरकार नरम छ । किरण–गौरवलाई त आझै सेना पुलिसको गार्ड दिइरहेको छ । सेना पुलिसको गार्ड लिएर क्रान्तिकारी पार्टी सङ्गठन गर्दै क्रान्ति गर्ने भन्ने कुरा सही होला ? अर्कोतर्फ प्रतिक्रियावादी विधिविधान नियम तोड्न खोज्दा विप्लवको पार्टीप्रति सरकार रुष्ट छ । यस पार्टीलाई कहिले उग्रवादी, कहिले आतङ्ककारी भन्दै धरपकड, यातना, जेल दिइरहेको छ । नेकपाका दर्जनौँ नेता–कार्यकर्ता जेलमा छन् । यस्तो अवस्थमा यही मङ्सिर महिनामा भएको क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न गरेको पत्रकारसम्मेलनमा महासचिव किरणले अब विप्लवसँग पार्टी एकतको सम्भावना नरहेको बताएका छन् । उनै किरणले केही समयपहिला २०७५ असार १६ गते नयाँ पत्रिकालाई दिएको अन्तरवार्तामा मोहनविक्रमसँग पार्टी फोडेकोमा पश्चताप गरेजस्तो गरी अन्तरवार्ता दिएका छन् । उनले भनेका छन्, ‘पार्टी फुट्नुभन्दा पहिला मोहनविक्रमसँग वैचारिक रूपमा घम्साघम्सी भयो । अहिले आएर बेकार गरिएछ जस्तो लाग्दछ । त्यसबेला पार्टी विभाजन हुनुपर्ने कारणै थिएन । अहिले सानो सानो कुरामा विवाद गरिएछ जस्तो लाग्छ । पार्टी फुट्नुमा सङ्गठनात्मक कारण नै थिएन । पार्टी पदमा को जाने को नजाने भन्ने झिनामसिना कारण थिए । सानो कुरामा अल्झिएछौ मिलेर एउटै पार्टीमा बसेको भए हुने रहेछ जस्तो लाग्छ । त्यस्तै नयाँ पत्रिकाकै भदौ अङ्कमा अन्तरवार्ता दिँदै मोहनविक्रम सिंह पनि निर्मल लामासँग फुट्नु गलत भएको बताएको बताएको छन् । संयुक्त एमाओवादी छँदा जति भद्रगोल भए पनि पार्टीको लाइनमा जनवादी क्रान्ति पूरा भएको छैन । जनवादी क्रान्ति पूरा गर्न जनयुद्धको जगमा जनविद्रोह गर्न आवश्यक छ भन्ने थियो । पार्टीमा नवसंशोधनवाद हाबी भयो भन्दै क्रान्ति गर्नका लागि पार्टी फोडेका किरणले पार्टी फोडेको दुई वर्ष नपुग्दै उनले करार गरेको नवसंशोधनवादी प्रचण्डको नेतृत्वको एमाओवादीले हैटौँडामा साताँै महाधिवेशन गरी जनवादी क्रान्तिको कार्यभार पूरा भएकाले अब संविधानसभाको निर्वाचनद्वारा शान्ति स्थापना गरी सुखी र समृद्ध नेपाल निर्माणमा अघि बढ्ने कार्यनीति पास गरेपछि उसैसँग पार्टी एकता गर्न पहल गर्नुले साँच्चै माक्र्सवादको खास्टो उदाङ्गो भएकै थियो । यसरी हेर्दा मोहन वैद्य जुन नीति र विचारमा एकलव्य मानिन्थे उनको नीति र विचारको बुढी औँला हाल उनले प्रचण्डलगायत आईएनजीओका प्रतिनीधि र विभिन्नखाले संशोधनवादीलाई दान दिएजस्तो देखिएको छ । अब कतै फेरि प्रचण्डसँग पार्टी फोड्नु गलत भएछ भन्ने अभिव्यक्ति नआउला भन्न सकिन्न ।
(क्रमशः अर्को अङ्कमा)

२०७५  पुस २६ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!