विद्यार्थीसँग एकमुष्ट रकम असुल्दै किस्ट मेडिकल कलेज

काठमाडौँ  : ललितपुरमा रहेको किस्ट मेडिकल कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग अनधिकृत रूपमा पैसा असुलेको खुलेको छ । आधिकारिक रूपमा उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएकोमा पहिलो वर्ष ५० प्रतिशत शुल्क बुझाउनुपर्ने नियमअनुसार विद्यार्थीले १९ लाख २५ हजार रुपैयाँ बुझाए पनि अतिरिक्त शुल्क मागेर विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ ।

एमबीबीएस अध्ययनका लागि आईओएमले आधिकारिक रूपमै ३८ लाख ५० हजार रुपैयाँ मात्र शुल्क लिन पाउने सूचना नै प्रकाशित गरेको छ । अनधिकृत रूपमा शुल्क असुल्दै कक्षा प्रवेशमा रोक लगाएपछि विद्यार्थीले कलेज परिसरमै विरोध गरेका छन् । कक्षा प्रवेश गरेका केही विद्यार्थीलाई कक्षाबाट निकालिएकोे समेत उनीहरूले बताए ।

केही दिनअगाडि विद्यार्थीलाई मोबाइलमा एउटा म्यासेज पठाई एक लाख ९६ रुपैयाँ बैङ्कमा जम्मा गर्न भनिएकोमा विद्यार्थीले अतिरिक्त शुल्क नबुझाउने अडान राख्दै आएका थिए । आइतबार बिहान उक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइएको हो ।

यस विषयमा कलेज प्रशासनसँग वार्ता गर्न खोजे पनि प्रशासनले चासो नदिएको आरोप विद्यार्थीले लगाएका छन् । यस विषयमा हामीले कलेज प्रशासनसँग कुरा गर्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन् । किस्ट मेडिकल कलेज विभिन्न समयमा कलेजबाहिर विद्यार्थीलाई बोलाएर भर्ना गर्ने गरेको, आईओएमले तोकेको भन्दा बढी शुल्क लिएको र विद्यार्थीसँग एकमुष्ट शुल्क माग गरेको विषयमा बेलाबेलामा विवादमा आउने गरेको छ ।

२०७५ पुस २३ सोमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :