कूटनीतिको भुमरीमा !

जुलियन र ग्रेगोरियनको पात्रोअनुसार सन् २०१८ लाई बिदाइ गरेर २०१९ को सुरुआत भएको छ । बितेको एक वर्षमा विश्वमा निकै परिवर्तनहरू भएका छन् । नेपालमा पनि धेरै कुराहरू भएका छन् । संविधान घोषणापछि भएको संसदीय चुनाव भएर केपी—प्रचण्डको संयुक्त सरकार गठन भयो । सरकार बनिसकेपछि उनीहरूका बीचमा एकता भएर कोष्ठकभित्रको नेकपा नाम राखिएको थियो । फागुन ३ गते गठन भएको आफूलाई सच्चा देशभक्त भनाउँदै आएको उक्त सरकारले सबैभन्दा पहिला संसदीय व्यवस्थाको विरोध गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानमा लागेको नेपाल कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गर्ने, मुद्दा लगाउनेतिर न्वारनसहितको बल लगायो । फागुन ६ गते विराटनगरबाट स्थायी समितिका सदस्य सुदर्शन र पोलिटब्युरो सदस्य पदम राईसहितका नेताहरूलाई गिरफ्तार गरेको थियो । त्यसपछि प्रकाण्ड हुँदै शिलुसम्मको गिरफ्तारीले निरन्तरता पाएको थियो । यसरी देशभक्त तथा सच्चा कम्युनिस्टहरूमाथि दमन सुरु गरेको थियो ।

त्यसको लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा रातो कार्पेट ओछ्याएर उनले आफ्नो राष्ट्रवादको मुकुण्डो खोलेका थिए । त्यसपछि नै चीनसँग नजिक रहेका भनिएका केपीलाई उसले विश्वास गर्न छाडेको स्पष्ट सङ्केत उनको चीन भ्रमणमा देख्न सकिन्थ्यो । उनी चीन जाँदा हुन नसकेको यातायात तथा पारवहन सन्धिपछि हुनुले भारत फेरि झस्किन पुगेको थियो । यही क्रममा केपी सरकारले कुनै सन्दर्भका सर्तहरू उल्लेख नगरीकन वार्ताटोली बनाएर नाटक रचेको सहजै बुझ्न सकिन्थ्यो ।

यही क्रममा नेपालमा विदेशी चासो निकै बढेर गयो । कहाँसम्म भने नेकपाका नेता-कार्यकर्ताहरूको गिरफ्तारी पनि यहाँको भन्दा पनि यिनै विदेशीहरूको चासो र चनाखो रहेको देखियो । प्रचण्डको लगातारको जस्तो भारत भ्रमण, भ्रमणपछिको सरकारी नेकपामा हुने गरेका आन्तरिक कलहहरूले धेरै कुरालाई सङ्केत गरिराखेको थियो । सरकारी पार्टीभित्रको अन्तर्कलहले उनीहरूभित्रको समस्यालाई मात्र उजागर गरिराखेको छैन, राज्यकै परराष्ट्र नीति के रहने भन्ने कुरालाई पनि देखाएको छ ।

गत चैतदेखि भएका वैदेशिक भ्रमण आदानप्रदान, सहमति, सन्धि र सम्झौताहरूलाई हेर्ने हो भने नेपालको कूटनीति भुमरीमा परेको स्पष्ट देख्न सकिन्छ । भारतले तराईमा १२ लेनको बाटो बनाएर पूर्वपश्चिम राजमार्गमा भारतीय गाडी गुडाउन पाउनुपर्ने प्रस्ताव राख्यो । त्यसो ग¥यो भने चीनले यातायात तथा पारवहन सन्धिमा हस्ताक्षर नगर्ने धम्की दियो । अहिले आएर त्यसलाई पुस ११ गते भएको इनर्जी बैङ्किङ सम्झौताले सन्तुलनमा ल्याएको देखिन्छ । तर उनीहरूसँगको डोलायमान कूटनीतिले नेपालको अस्थिर कूटनीतिलाई भुमरीमा त लगेको नै थियो । गणतन्त्रविरोधी तथा हिन्दुधर्मका पक्षपातीका रूपमा चित्रित केपी ओली र उनका पार्टीका वरिष्ठ नेताहरू नै एउटा अन्तर्राष्ट्रिय स्तरको गैरसरकारी क्रिस्चियन संस्थाको होली वाइनद्वारा पवित्र पार्ने कार्यक्रममा भएको सहभागिता, व्यवस्थापनले नेपाली वर्तमान सरकारको हैसियत र कूटनीतिक सम्बन्धलाई झनै धुमिल पारिदिएको छ । यी तथ्यहरूले नेपालमा दक्षिण र उत्तरको एकपछि अर्को हस्तक्षेपको क्रीडास्थल बनाएको नै थियो । साथै पश्चिमा, त्यसमा पनि युरोपियन युनियनले पनि आफ्नो दबदबालाई बढाउँदै गएको देखिन्थ्यो । अहिलेको केपी सरकारले यी तीनपक्षीय दबाबलाई थेग्न सकिराखेको थिएन । अब आएर अमेरिकी उत्तरसाम्राज्यवादले आफ्ना हिंश्रक पज्जाहरू पनि फैलाएको भान भैराखेको छ ।

नेपाल सरकार र नेपाली सञ्चारमाध्यमहरूले १७ वर्षपछि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमणलाई खुबै ऐतिहासिक तथा महत्वपूर्ण रहेको प्रचार गरिराखेका छन् । अमेरिकाका विदेशमन्त्री माइकल रिचर्ड पम्पेको निम्तामा गएका नेपालका परराष्ट्रमन्त्री र उनका बीचमा हस्ताक्षर गरिएको संयुक्त विज्ञप्तिमा ‘स्वतन्त्र, खुला र समृद्ध इन्डो—प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका’ र ‘उत्तरकोरियालगायत विश्व मामिलाहरू’ मा छलफल गरिएको बताइएको छ । उनीहरूको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका यी दुईवटा कुराले अमेरिकाको नेपालप्रतिको चासो अब प्रत्यक्ष रहन थालेको स्पष्ट भैराखेको छ । यसले यो सरकारका लागि अर्को तनाव र नीतिले अन्योल उत्पन्न गरेको स्पष्ट बुझ्न सकिन्छ । एउटा, अमेरिका अब इन्डो—प्यासिफिक क्षेत्रमा आफ्नै प्रत्यक्ष उपस्थिति चाहन्छ । त्यसका लागि नेपाल उसका लागि उपयुक्त स्थान हुन पुगेको छ । दोस्रो, अमेरिकाले भारतीय आँखाबाट हेर्ने नीतिलाई पूर्ण रूपले परित्याग गरेको बुझिन्छ । साथै अमेरिकाले नेपाललाई जनगणतन्त्र कोरियाप्रतिको नीतिमा पुनरावलोकन गर्न दबाब दिएको छ ।

यसरी अमेरिका, चीन, भारत र युरोपियन युनियनहरूलाई हेर्ने वैदेशिक नीति अहिलेसम्म एकरूपतामा रहेको त थिएन नै । समान र सन्तुलित पनि थिएन । अहिले आएर नेपालको परराष्ट्रनीति र समग्र कूटनीति पूरै भुमरीमा परिराखेको छ । सम्पादकीय

२०७५ पुस १९ गते  बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :