श्यामप्रसाद शर्मा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

pralesaकाठमाडौँ/जेठ २१, वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधनबाट साहित्यिक क्षेत्रले अपुरणीय क्षति व्यहोरोको बताइएको छ । शर्माको स्मृतिमा प्रगतिशील लेखक सङ्घले शनिबार आयोजना गरेका श्रद्धाञ्जलि कार्यक्रममा उहाँको सरल जीवन र जनपक्षीय विचारबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्नेमा पनि वक्ताहरूले जोड दिनुभयो ।
सङ्घका संस्थापक अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यसमेत रहनुभएका साहित्यकार शर्माले राजनीति, साहित्य, पत्रकारिता र समाजसेवाका विविध आयाममा छ दसकभन्दा बढी समय अनवरत योगदान दिनुभएको थियो । १९८६ असार ६ मा जन्मनुभएका शर्माको गत वैशाख २४ गते ८७ वर्षको उमेरमा काठमाडौँम निधन भएको थियो । उहाँका पाँच दर्जनबढी पुस्तक प्रकाशित छन् ।
सङ्घका पूर्व अध्यक्ष एवम् चिन्तक निनु चापागाईँले शर्मा होचो कदको अग्लो मान्छे भएको चर्चा गर्दै विरोधीसँग पनि मिलेर गर्न सक्ने क्षमतायुक्त हुनुभएको बताउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जीवेन्द्रदेव गिरीले शर्मा जनपक्षीय विचारका प्रणेता भएको जनाउँदै प्रगतिशील साहित्यिक क्षेत्रको धरोहरको निधनबाट अपूरणीय क्षति भएको बताउनुभयो । शर्माका छोरी सम्झना शर्माले उहाँका बाँकी पाण्डुलिपिको प्रकाशनमा सबैको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा सङ्घका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डगोल, साहित्यकारहरू शान्तादास मानन्धर, हरिहर खनाल, राम विनय, वासुदेव अधिकारी, मित्रलाल पङ्ज्ञानी, डा विन्दू शर्मालगायत स्रष्टाले श्यामप्रसादको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :