सुकुमबासीको उठीबास लगाइएकोप्रति नेकपा जनकपुरको चेतावनी

काठमाडौँ : केपी ओली–पुष्पकमल दाहाल नेतृत्वको सरकारले शुक्रबार फेरि सर्लाहीको बागमती नपा ३ धरहरामा सुकुमबासीका ४० वटा घर भत्काएर उठीबास लगाएकोप्रति नेपाल कम्युनिस्ट पार्टी जनकपुरले घोर विरोध तथा भत्र्सना गरेको छ ।

नेकपा जनकपुरका इन्चार्ज अरुणले शनिबार प्रेसविज्ञप्ति प्रकाशित गर्दै बागमती नगरपालिकाका प्रतिनिधहरूको प्रत्यक्ष निर्देशन र उपस्थितिसहित पुलिस, प्रशासन र सागरनाथ वन परियोजनाको मिलोमतोमा सुकुमबासी बस्तीका ४० वटा घरटहरा भत्काइएको भन्दै विरोध गरेका हुन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान दलाल पुँजीवादी सरकारले वैकल्पिक व्यवस्था नगरीकन सुकुमबासीहरूमाथि दमन गर्ने क्रियाकलापले यो सरकार सुकुमबासीविरोधी हो भन्ने कुरा प्रस्ट पारेको छ ।’

ब्युरो इन्चार्ज अरुणले सुकुमबासीलाई तत्काल पुनस्र्थापना गर्न र राज्यको त्यसप्रकारको हर्कत तत्काल बन्द गर्न जोडदार माग गरेका छन् । सम्पूर्ण सुकुमबासी र न्यायप्रेमी जनसमुदायलाई राज्यको त्यसप्रकारको हर्कतका विरुद्ध सशक्त र सङ्गठित ढङ्गले आवाज उठाउन उनले अपिल गरे । राज्यद्वारा गरिएको त्यसप्रकारको दमन तत्काल नरोकिए पार्टी कडा सङ्घर्षमा उत्रने चेतावनीसमेत प्रेसविज्ञप्तिमार्फत दिइएको छ ।

यसैगरी नेकपा सर्लाहीले सुकुमबासीहरूलाई उठीबास लगाएको घटनालाई लिएर कडा आक्रोश व्यक्त गर्दै घोर आपत्तिसमेत जनाएको छ । सरकारले दमन नरोके कडा प्रतिरोधमा उत्रिने चेतावनी पार्टीले दिएको छ ।

नेकपा सर्लाहीले भारतलाई खुसी पार्न सरकारले सालका हजारौँ रूख काटी सर्लाहीको लालबन्दीदेखि बाँकेसम्म राजमार्गदेखि उत्तरको सयौँ बिघा जङ्गल सखाप पारेको प्रस्ट पारेको छ । जङ्गलका रूख काटी भारतसँग करोडौँ रकम चलखेल गरेको दाबी नेकपा सर्लाहीले गरेको छ ।
सरकारले यसअघि पनि सर्लाहीका सयौँ सुकुमबासीको बस्तीमा डोजर लगाई र बालीसमेत नष्ट पारेर उठीबास लगाएको थियो ।

२०७५ पुस १४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :