सहिदभूमिमा उभिएर क्रान्तिको उद्वेलन

गाउँदेखि अलिकति माथितिर उक्लिएपछि नजिकैको धौलागिरि, अन्नपूर्ण, माछापुच्छ«े हिमालतिर टाँसिन्छ आँखा । आकाशको स्निग्ध नीलो पछ्यौरीको सप्केनीमुन्तिर क्षितिजमा ठडिएका हिउँका शृङ्खलाहरू साँच्चिकै अनुपम देखिन्छ । त्यहाँको प्राकृतिक सौन्दर्यले मनलाई जति आकर्षित गर्छ, महान् सहिदको रगतले सिञ्चित भूमिमा उभिएर सहिदको उदात्त सपना र नयाँ क्रान्तिको यात्रा पूरा गर्ने अभिभाराले त्योभन्दा बढ्ता थिचिरहेको छ ।

मङ्सिर २९ गते गुल्मीको सत्यवती गाउँपालिका ठूलो लुम्पेकमा उक्लियौँ हामी । अर्थात् नेकपा गुल्मीको अभियान टोली क्षितिज परिवारका दुई दर्जन कलाकारसहित ठूलो लुम्पेक पुग्यो । तम्घासदेखि सुरु भएको सांस्कृतिक अभियान पीपलधारा, दर्लिङ, धुर्कोट, पौँदीअमराई, पीपलपाटा हुँदै दर्जनौँ स्थानहरूमा प्रस्तुत गर्दै सत्यवती गाउँपालिकाको खैरेनी, अस्लेवा चौर हुँदै ठूलो लुम्पेक पुग्यो । जनताको अपार माया र उपस्थितिमा हामीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्यौं । हज्जारौँ जनतासँग भेटघाट, अन्तरक्रिया, सङ्गठन विस्तार, राजनीतिक प्रशिक्षणहरू सम्पन्न भए । अभियानको नेतृत्व जिल्ला इन्चार्ज कमरेड प्रविनले गर्नुभएको थियो भने अभियानमा जिल्ला सेक्रेटरी कमरेड खिम खड्का, जिल्ला जनसरकार प्रमुख कमरेड प्रशान्त, जिल्ला सचिवालय कमरेडहरू, जिल्ला सदस्य कमरेडहरू, जनवर्गीय सङ्गठन एवम् मोर्चाका प्रमुख कमरेडहरू र सहिद परिवारहरू सहभागी हुनुहुन्थ्यो । म पनि गुल्मीको यो अभियानमा सहभागी भएँ ।

हामी ठूलो लुम्पेकको धर्मपुर प्राविमा कार्यक्रम सकेर २९ गते साँझ दाङसिङ्गा र क्वाङका स्थानीय जनताका घरमा बास बस्यौँ । स्थानीय पार्टीले अभियान टोलीलाई खाना र बासको व्यवस्था ग¥यो । त्यहाँका जनताले गरेको बिर्सिनसक्नु माया र सहकार्य असाध्यै सम्मानपूर्ण रह्यो । अभियानका सन्दर्भमा हामी पुस १ गते जनयुद्धका महान् सहिद मनबहादुर तरामु मगर (मनोज) सहादत भएको स्थान सत्यवती पुग्यौँ । सत्यवतीको डाँडामा पुगेर हामीले सहिद मनोज, शिव राहादी मगर (दीपक), हेमलाल श्रेष्ठ (धर्ती) लगायत गुल्मेली सहिदहरूलाई मुठी उठाएर स्मरण ग¥यौँ । सहिदहरूको सपना पूरा गर्ने प्रतिबद्धता गर्दै हामीले आआफ्ना अनुभूतिसहित अभियानको समीक्षा ग¥यौँ ।

हामी नयाँ दिनको आँगनमा उभिएर क्रान्तिमा सहिदका योगदानहरूवारे चर्चा ग¥यौँ । सत्यवतीको चौरभरि हाम्रो टिम छ । सबैमा खुसी छ र उत्तिकै जिम्मेवारीबोध पनि । उस्तै छ सबैको मनभरि क्रान्तिप्रतिको उद्वेलन । उस्तै छ हृदयमा उठिरहेको सपनाको तुफान । सहिदका अधुरा सपनाहरूको कोलाजले बेचैन छौँ हामी । हामी बिहानीको रापिलो घामका किरणमा जीवनका सुनौला आशाहरू उडिरहेको देख्छौँ । अझै बाँकी छन् नाकै ठोकिने क्रान्तिका उकालाहरू । कमरेड मनोज, दीपक, धर्तीलगायत हज्जारौँ सहिदका सपनाहरू पूरा भएका छैनन् । सपनाको तस्कर गर्ने तस्करीहरूविरुद्ध क्रान्ति चढिरहेछ, हामीले चालेका पाइलाहरूजस्तै निरन्तर उकालो । यो उकालो नसकिएसम्म, शिखरमा नपुगेसम्म पूरा हुने छैनन् ती सहिदका सपना । तबसम्म चलिरहन्छ क्रान्ति । जीवन नै रहेछ क्रान्ति । क्रान्ति नै जीवन ।

उफ् ! हिउँ तुसारोले कठ्याङ्ग्रिएर मूर्छित भएका यी हातगोडाहरू ! हामी हिँड्दा पैतालाहरूले खिइएका यी ढुङ्गाहरू, हामीले पाइलामुनि कुल्चिएका डाँडाकाँडाहरू र होचिँदै गएका उकालीहरू । यी सबै बिम्ब हुन् हाम्रा जीवनका । हाम्रा नाकका डाँडी हुँदै बगेका नुनिला पसिनाका थोपाहरूले हामी हिँडेका बाटाभरि लेखिएका छन् हाम्रा सपना । चर्चरी फुटेका पैतालाहरूबाट बगेका रगतहरूले लेखिएका छन् अजम्बरी गीत । पसिना हाम्रो मसी, रगत हाम्रो रङ, यी ढुङ्गा र हिउँतुसारोले ढाकिएका सेतो जमिन र माटो हाम्रो जीवनको कापी । के हामी यी पसिनाले लेखिएका, रगतले रङ्गिएका सपनाहरू पूरा गर्न सक्छौँ ? हाम्रो अगाडि यक्षप्रश्न भएर उभिएको छ ।

हामी फेरि पनि मृत्युसँग खेल्न तयार भएर आएका छौँ । देशको मुक्ति र स्वतन्त्रताका स्वर्णिम सपनाहरू पूरा गर्ने यो अभियानमा लामबद्ध भएका छौँ । जिन्दगीका हरेक बाधा र कठिनाइका चुचुराहरू नाप्दै क्रान्तिको नयाँ शिखरमा पुग्न जस्तोसुकै आँधी र तुफानसँग पनि लड्न तयार भएर वर्गसङ्घर्षको नयाँ मोर्चामा सामेल भएका छौँ । हामीले जीवनका थाप्लाहरूमा बाँधिएका नाम्ला र जबर्जस्त बोकाइएका दासताका भारीहरू छुटाउनुछ । इतिहासका विस्मृतिमा हराएर हैन, वर्तमानको दुर्दान्त समयचेतलाई जीवनको नयाँ गीतमा उन्नुछ । खस्र्यूका फेददेखि बुकी फुल्ने मधेसका फाँटसम्म गुन्जिरहेछन् यही पसिनाले लेखिएका नयाँ गीतहरू । महान् सहिदका रगतबाट जन्मिएका रक्तबीजहरूका भीमकाय सपनाहरूले पोतिएका गीतहरू गुन्जिरहेछन् गाउँगाउँमा । देश र जनताको पूर्ण स्वतन्त्रता र सिङ्गो मुक्तिका गीत एकीकृत जनक्रान्तिको महान् भावमा गुन्जिरहेछ । हामीले यी सपनाका भारीहरू बोक्दा र विद्रोह, वीरता र क्रान्तिको गीत गाउँदा निधारबाट बगेका पसिनाका थोपाहरूले नयाँ युगलाई सिञ्चित गरिरहेछ । हामीले लेखेका पसिनाका गीतहरूले नयाँ युगका नायकहरू जन्माइरहेछ ।

हिउँको सौन्दर्यमुनि हिउँले गोडा खाएर लङ्गडो भएका दुःखी शेर्पाहरूको जीवनमा सौन्दर्य ल्याउनुछ हामीलाई । शेर्पाहरूको गोडा वा जिन्दगी खाने हिउँलाई हामी कसरी सुन्दर भन्न सक्छौँ ? हिमाल हेरेर रोमाञ्चित हुनु र हिउँका कारण जीवन गुमाउनेहरूबीच कहिल्यै तुलना हुन सक्छ ? हामीलाई हाम्रो पसिनाको रङ घोलिएर उज्यालो खुल्दै गरेको गीत प्रिय लाग्छ । हामीलाई प्रिय छ आफ्नै जीवन तर प्रणय पार्क र सिसमहलहरूमा गाइने समवयी रत्यौली गीत हामीलाई स्वीकार्य छैन । हामी पसिनाका गीत गाउँछौँ र भन्छौँ– हाम्रो पसिना तिमीलाई गनाउँछ भने तिम्रो पसिना हामीलाई पनि गनाउँछ । हामीलाई तिनै गीत प्रिय लाग्छ जो दासताको नाम्लो भिराउने मालिकहरूविरुद्ध हाम्रा नसाहरूमा रगत उमालिरहन्छ ।

हामीले बुझिरहेका छौँ हाम्रा सपनाका गीतहरूविरुद्ध तरबारहरूमा सान लाएर गौँडाहरूमा ढुकिरहेछन् हत्याराहरू । हामी सपनाको संसारनजिक पुगिरहँदा दलालहरूको लुटको स्वर्ग भत्किँदैछ । दुष्टहरू लुटको स्वर्ग जोगाउन हाम्रा बाटाहरूमा पर्खालका धरापहरू लगाइरहेका छन् । हामी धरापहरू छल्दै सहिदका रगतले भिजेका बाटोहरूमा सुन्दर भविष्यको अविचल बाटोमा हिँडिरहेका छौँ । आज कथित गणतन्त्रको नाउँमा रोग, भोक, गरिबी र अशान्तिको घाउको चह¥याइ देशले खेपिरहेको छ । फूलजस्ता हाम्रा दिदीबहिनी र जूनजस्ता छोरीचेलीहरूको इज्जत लुटेको व्यथाले देश दुःखेको छ । तैपनि जनतामा क्रान्ति र मुक्तिको तृष्णा अझै मरेको छैन । क्रान्ति, परिवर्तन, न्याय र समानताका लागि जनतामा तीव्र इच्छा जागेको छ ।

हामी निरन्तर क्रान्तियात्रामा छौँ । यात्रामा बहिरहेको हावा र त्यसमा मिसिएका सपना हामीलाई प्रिय छ । तर प्रिय सपनाहरूमा विषाक्त रसायन घोल्ने प्रयास गरिरहेका छन् दुष्टहरू । हाम्रो क्रान्तिको उकालो यात्रा रोकिएको छैन । जबसम्म रोकिन्न जीवनको गति, रोकिन्न हृदयको धड्कन, तबसम्म रोकिन्नन् हाम्रा गीतहरू । जीवनका हरेक पलमा निशाचरहरूविरुद्ध गीत गाउँदै हामी उकालो चढिरहन्छौँ । यो युगको नयाँ उचाइबाट पसिनालाई गीतमा र गीतलाई जीवनमा घोल्ने नयाँ अभियानमा छौँ हामी । एकपटक मुट्ठी उचालेर समवेत स्वरमा पसिनाको गीत गाऔँ–
गाएर पनि हज्जारौँ गीत
गाउनै बाँकी छ अझै
यो समयको नयाँ गीत
अर्थात् त्यो मुक्तिको गीत ।
(गुल्मीको अभियानबाट फर्किएपछि)

२०७५ पुस १४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :