रमिते…

कविता


हाम्रै काँधमा टेकेर
सपना, भरोसा र मुक्तिको नारा उराल्दै
हामीलाई चौबाटोमै अलपत्र छाडेर
हामीले बनाएका नायकहरू
मालिकको पाउमा लम्पसार परेको
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
दलाली र राष्ट्रघातमा चुर्लुम्म डुबेको !!

थपडी बजाउँदै टन्टलापुर घाममा
मुक्ति, अधिकार अनि समानताको भाषण सुन्छौँ
बुधनी, राधा र मन्सराहरूमाथि
चौबाटोमै बजारिँंदा मुड्की
बोक्सीको आरोपमा
हेरिरहन्छौ टुलुटुलु रमिते बनेर !
आफ्नै छोरीचेलीको अस्मिता लुटेको !!

भोट हाल्छौँ र जिताउँछौँ
लेन्डुपका नयाँ अवतारलाई
रातारात थपिएका आलिसान महलका तला गन्दै
प्रशंसा गर्छाै उसैको भ्रष्ट पौरखको
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
तिनैले फ्याँकेका फोहोरका थुप्राहरू !!

नखाएको ऋण, नगरेको अपराध
छद्मभेषीहरूको फर्जी तमसुकको प्रहार !
सर्वस्व लुटिएको जीर्ण शरीर
झिनो आशा लिएर पुगेको न्यायालय
दुःखी हुन्छौँ सुनेर घाँटीमा पासो लगाएको
धिक्कार्छौं बाध्यता र विवशतालाई
तर हेरिरहन्छौँ टुलुटुलु रमिते बनेर !
न्यायालयले फर्जी तमसुकमा लालमोहर लगाएको !!

हाम्रो बस्ती बिमाख पारेर निर्माण गरिएका
कोसी, कर्णाली र महाकालीका ठूलाठूला बाँध
छपक्कै भिजेको लहलहाउँदो छिमेकीको खेत
अर्बौंको ढुकुटी अनि विकासको आश्वासन
बन्जर बन्दै गरेका हाम्रा खेतहरू
मक्ख पर्छाैं समृद्धिको नारासँगै
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
बाढीले बगाएका रमुवा, हर्के, दिलबहादुरका झोपडीहरू !!

टिष्टा र काँगडाको के कुरा
महेशपुर, सुस्ता, ठोरी, लिम्पियाधुरा र कालापानी
दिनदिनै सबै बिर्सिसक्यौँ
लिपुलेकमा गाडेको गिद्देदृष्टि
मिचिएका सीमास्तम्भहरू
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
सीमाका गाउँमा मच्चाएको दादागिरी र नरसंहार !!

सुन्दर भविष्यको सपना सजाउँदै
खाडीको बालुवामा बगाएको पसिना
साहूको ऋण
अङ्गभङ्ग जीर्ण रोगी शरीर
बाकसमा बन्द युवाको रगतले भिजेको रेमिट्यान्स
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
लुट, दलाली र दादागिरीको आडमा अडिएको राज्यसत्ता !!

वद्चलन, कुलङ्गार, अलच्छिनी, कुलटा
समाजले दिएको शब्दबाणको उपहार
कारागारको चिसो छिँडी
भ्रूणहत्याको आरोपमा
सजाय काट्दै गरेकी युवतीको मलिन अनुहार
हेरिरहेका छौँ टुलुटुलु रमिते बनेर !
विद्यालय हिँडेकी बालिकाको बलात्कृत लास !!

तिमीले उरालेका समृद्धिका नारा उपहार
लुट, भ्रष्टाचार र लम्पसारवादको पौरख
पटकपटक मूर्ख बनाइएका जनता
पीडित सर्वहारा वर्गका
आक्रोशित हुङ्कार र विद्रोह
अनि
तिम्रो ढाडमा बज्रेको चोटिलो मुड्की
हेरिरहनेछौ टुलुटुलु रमिते बनेर
पीडित सर्वहारा वर्गले कब्जा गरेको राज्यसत्ता !!

२०७५ पुस १४ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :