नेकपाको चन्दा असुली गर्ने नीति छैन तर स्वेच्छिक सहयोग लिन्छौँ : प्रकाण्ड

निर्मलाका हत्यारालाई जनसरकारले कारबाही गर्छ

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले निर्मला पन्तका हत्यारालाई जनसरकारले कारबाही गर्ने बताएका छन् । त्यसका लागि केही समय धैर्य गर्न उनले आग्रह गरे ।

धनगढीमा बिहीबार पत्रकारसम्मेलन गरी प्रवक्ता प्रकाण्डले भने, ‘केही समय दिनुहोस्, हामी निर्मलाका हत्यारालाई कारबाही गरेर देखाउँछौँ ।’ वर्तमान सरकार निर्मला पन्तका हत्यारालाई कारबाही गर्न असक्षम भएकाले जनसरकारले कारबाही गर्ने उनको भनाइ थियो ।

नेकपाभित्रका नेताहरूको दृढ एकता देखेर अत्तालिएकाहरूले पछिल्लो समय पार्टीभत्र विवाद रहेको भ्रम छर्न खोजेको भन्दै उनले त्यसप्रति सचेत रहन पार्टीपङ्क्ति तथा आमनागरिकलाई आग्रहसमेत गरे ।

उनले भने, ‘हाम्रो पार्टीभित्रको एकताबाट छट्पटाहट भएपछि अन्य दलका नेताहरूले प्रकाण्ड र विप्लवबीचको एकता टुटाउन भ्रम फैलाउने गरेका छन् । यसप्रति सचेत रहनुहोला, नेकपाका नेताहरूबीच दृढ एकता छ ।’

यसअघि आफू गिरफ्तार परेका बेला प्रकाण्डलाई विप्लवले नै पक्राउ गर्न लगाएको भन्ने हल्ला फैलाएको भन्दै उनले त्यो निराधार रहेको पनि प्रस्ट पारे ।

प्रकाण्डले आफ्नो पार्टीको चन्दा असुली गर्ने नीति नरहेको भन्दै पार्टीको गतिविधि सञ्चालनका लागि राष्ट्रिय पुँजीको पक्षधर उद्योगी व्यवसायीहरूबाट स्वेच्छिक सहयोग लिएको दाबी गरे ।

प्रकाण्डले असमान सन्धिसम्झौता खारेज गरी राष्ट्रिय स्वाधीनतासहितको जनसत्ता स्थापनाका लागि नेकपाले क्रान्ति गरिरहेको बताए ।

उक्त आन्दोलनका बारेमा भारतीय, अमेरिकीलगायत विदेशी र नेपालीहरूलाई जानकारी दिइरहेको उनले बताए । सोही क्रममा भारतीय र अमेरिकी अधिकारीसँग विप्लवको भेट भएको भन्दै प्रकाण्डले नेकपा कुनै पनि विदेशी शक्तिबाट परिचालित नभएको बताए ।

भारतीय र अमेरिकीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको केही कुरा नमिलेकाले ओली नेतृत्वको सरकार विघटन गरी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल वा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सरकार ल्याउने खेल भइरहेको प्रकाण्डले टिप्पणी गरे ।

उनले संसद्वादी दलहरू विदेशी शक्तिकेन्द्रको गोटी भएकोसमेत ठोकुवा गरे ।
समाजवाद स्थापना र विकास वर्तमान राजनीतिक दलबाट सम्भव नरहेको बताउँदै प्रकाण्डले नेकपाले चलाएको एकीकृत जनक्रान्तिबाट मात्रै सम्भव रहेको बताए ।

उनले देशमा नयाँ जनपक्षीय सत्ता स्थापना गर्नका लागि नेकपाले एकीकृत जनक्रान्ति गरिरहेको बताए ।

२०७५ पुस १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :