माओलाई कसरी सम्झिने ?

विश्व सर्वहारा वर्गका गुरु तथा महान् नेता कमरेड माओ त्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा भएको थियो । त्यसैले डिसेम्बर २३ मा उहाँको जन्मदिन मनाइराखिएको छ । माओको जन्म चीनको साओसान हुनानको एक किसान परिवारमा भएको थियो । जीवनको पूर्वाद्र्धमा माओ देशभक्त हुनुका साथै साम्राज्यवादविरोधी हुनुहुन्थ्यो । १९११ को सिन्हाई क्रान्ति र १९१९ को चौथो मई आन्दोलनले उहाँको जीवनमा निकै नै प्रभाव पारेको थियो । पेकिङ विश्वविद्यालयमा काम गर्दैगर्दा उहाँ माक्र्सवाद—लेनिनवादलाई अङ्गीकार गर्दै १९२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक सदस्य बन्न पुग्नुभएको थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक कमरेड माओले १२ वर्षसम्म पार्टीभित्र भीषण अन्तरसङ्घर्ष चलाउनुभयो— मूल रूपमा चिनियाँ क्रान्तिको कार्यदिशालाई लिएर । त्यसक्रममा उहाँलाई ‘सैन्य अवसरवादी’ को आरोप लगाएर पार्टीभित्र कारबाही पनि गरिएको थियो । अरू नेताहरू आफूलाई सही क्रान्तिकारी भएको भन्दै साङ्घाईमा लुकेको बेलामा दुर्गम पहाडी गाउँ चिङकाङसानमा गरिब किसानहरूका बीचमा रहेर विचारको प्रचार गर्नुभयो । किसान सङ्गठनहरू निर्माण गर्नुभएको थियो । १९२८ मा नै उहाँले ‘जब दुस्मन बलियो हुन्छ हामी फर्किन्छौँ, जब दुस्मन आराम गर्छ हामी उसलाई सताउछौँ, जब दुस्मनले युद्धमैदान छाड्छ हामी उसमाथि आक्रमण गर्दछौँ, जब दुस्मन भाग्छ अनि हामी बलियो हुन्छौँ’ भन्नुभएको थियो । यो चाङ काइसेकले नेतृत्व गरेको कोमिन्ताङ सत्ताका विरुद्धको उद्घोष थियो । उहाँको यो भनाइमा चिनियाँ जनवादी क्रान्तिको नयाँ कार्यदिशा बोलेको थियो— दीर्घकालीन जनयुद्ध ।

त्यसैले माओको पहिलो योगदान भनेको तत्कालीन चीनजस्तो अर्धसामन्ती र अर्धऔपिनवेशिक देशमा गाउँले सहरलाई घेर्ने दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति गर्ने सिद्धान्तको प्रतिपादन हो ।
लेनिनले प्लेखानोभ, कार्ल काउत्स्कीजस्ता संशोधनवादीहरूसँग वैचारिक सङ्घर्ष गर्दा भन्नुभएको थियो, ‘माक्र्सवाद कुनै जीवनहीन जडसूत्र होइन ।’ दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति पूरा गर्दै वैज्ञानिक समाजवादमा जाने नयाँ बाटोको निर्माण गर्नुभयो । यसका लागि उहाँले आफूभन्दा योग्य भनिएका, धेरै पढेका र बुझेका भनिएका माक्र्सवादी पण्डितहरूसँग लगातार १२ वर्ष लड्नुप¥यो । यति मात्र होइन, लि लि सानदेखि सुरु भएर लिन प्याओसम्म पुग्दा १० वटा भीषण अन्तरसङ्घर्षहरूलाई झेल्नुभएको छ ।

१९२७ मा जब माओलाई कारबाही गरिएको थियो, त्यो समयमा उहाँले हुनान किसान आन्दोलनको रिपोर्ट तयार पार्नुभएको थियो । त्यही रिपोर्ट नै चीनको वर्गविश्लेषणको आधार दीर्घकालीन जनयुद्धको कार्यदिशाको मार्गदर्शक थियो । त्यसपछि उहाँले व्यवहारबारे लेख्नुभएको थियो । यी तीनवटै रचनाले चिनियाँ क्रान्तिका सैद्धान्तिक पक्ष निर्माणका आधारहरू हुन् । चीनमा चलेको वर्गसङ्घर्ष र पार्टीभित्र लामो समयसम्म चलेको अन्तरसङ्घर्षको अनुभवलाई सैद्धान्तिकीकरण गर्दै १९३७ मा एउटा दार्शनिक लेख लेख्नुभयो— अन्तरविरोधहरूबारे ।

माओको अर्को योगदान भनेको राष्ट्रिय मुक्ति आन्दोलनका लागि संयुक्त मोर्चाको अवधारणा विकास गर्नु र लागू पनि गर्नु हो । त्यसैको फलस्वरूप १९३५ देखि १९४० सम्म जापानी साम्राज्यवादविरुद्ध च्याङ काइसेकको सरकारसँग संयुक्त मोर्चा निर्माण भएको थियो । च्याङ काइसेकसँगको संयुक्त मोर्चा भङ्ग भएपछि पुनः १९४० देखि १९४९ सम्म माओले गृहयुद्धको नेतृत्व गरी एकैचोटि सबैखाले साम्राज्यवाद, घरेलु प्रतिक्रियावादी च्याङ काइसेकको कोमिनताङ सत्तालाई विस्थापित गरी नयाँ जनवादी गणतन्त्र चीनको स्थापना गर्नुभएको थियो ।

जनवादी गणतन्त्रको स्थापनासँगै चिनियाँ कम्युनिस्ट पार्टी र सत्तामा फेरि फरक रूप र रङमा पुँजीवादले टाउको उठाउन थाल्यो ल्यु साओ चिको नेतृत्वमा । १९५६ मा भएको पार्टीको आठौँ महाधिवेशनमा त माओ नै अल्पमतमा पर्नुभएको थियो । त्यसको लगत्तै उहाँले पार्टीभित्रका पुँजीवादीहरूविरुद्ध १९५८ मा महान् अग्रगामी छलाङ अभियान सञ्चालन गर्नुभएको थियो । त्यही महान् अग्रगामी छलाङको विकसित रूप १९६६ बाट सुरु भएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति हो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य उद्देश्य भनेको निरन्तर क्रान्ति हो । माओले पार्टीभित्र विकसित हुन थालेको प्रतिक्रान्ति र सत्तामा पुँजीवादको पुनस्र्थापनालाई लिएर विद्रोह बोल्नुभयो— विद्रोह गर्नु जनताको अधिकार हो । साथै पुँजीवादी बन्दै गरेको मुख्यालयविरुद्ध धावा बोल्न पनि आह्वान गर्नुभयो— बुर्जुवा हेडक्वार्टरमा बमबार्ड भनेर । उक्त सर्वहारा सांस्कृतिक क्रान्ति पूरा हुनुभन्दा पहिला नै माओको १९७६ मा निधन भयो । त्यसैले माओको निधनको २ वर्षपछि १९७८ मा तेङ सियाओ पिङले सुधारका नाममा प्रतिक्रान्ति गरेका थिए ।

यसरी माओ ८४ वर्षको उमेरअवधिमा उहाँले माक्र्सवाद—लेनिनवादलाई माक्र्सवाद—लेनिनवाद—माओवादमा विकास गर्नुभयो जुन सार्वभौम नियमहरूका रूपमा अहिले पनि विश्वमा प्रयोग भैराखेका छन् । माक्र्सवादका तीनवटा सङ्घटक अङ्गहरू दर्शन, राजनीतिक अर्थशास्त्र त्यसमा मुख्यतः नोकरशाही पुँजीवाद, दलाल पुँजीवाद र राजकीय पुँजीवादका विशेषताहरूको पहिचान र चित्रण गर्नुभयो भने वैज्ञानिक समाजवादमा नयाँ जनवाद हुँदै समाजवादसम्म पुग्ने बाटोको खोज गर्नुभयो । त्यसैले माओको १ सय २६ औँ जन्मजयन्ती मनाइरहँदा विश्वका क्रान्तिकारीहरूले माओका योगदानहरूको स्मरण गर्दैगर्दा माक्र्सवाद—लेनिनवाद—माओवादमा माक्र्सवादका आधारभूत कुराहरूलाई दह्रोसँग पकडेर विकास गर्नुपर्दो रहेछ भन्ने कुरालाई पनि आत्मसात गर्न जरुरी रहेको छ । सम्पादकीय

२०७५ पुस १२ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :