साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण गरिसकेको छ । वर्तमान विश्व कम्युनिस्ट आन्दोलनमा माओ र माओका योगदानलाई हेर्ने दृष्टिकोणका आधारमा कुनै पार्टी वा समूह क्रान्तिकारी हो कि संशोधनवादी भनी किटान जाँच्ने कसी पनि बनिरहेको छ । माओजस्तै विश्व साम्यवादी सिद्धान्तलाई विकास र समृद्ध गर्ने महान् नेताको जीवनव्यवहारसँग जोडेर कैयौँ किंवदन्ती पनि नबनेका होइनन् । के कुराचाहिँ सत्य हो भने एउटा महान् नेता हुन अद्वितीय क्षमता हुन जरुरी हुन्छ । साथै उसले आफ्नो जीवनलाई त्याग, बलिदान र समर्पणको उत्कर्ष बनाउन पनि जरुरी छ । क्षमता, त्याग, समर्पण र बलिदानको उत्कर्षको जगमा मात्र सच्चा सर्वहारावर्गको स्पातिलो नेताको जन्म हुन सक्छ भन्ने कुरा माओको जीवनीबाट थाहा पाउन सकिन्छ ।

चिनियाँ जनमुक्ति सेनाका कमान्डर तथा चिनियाँ लेखक सङ्घका सदस्य क्वान यान्चीको सन् १९९२ मा एउटा किताब प्रकाशित भयो– ‘माओ जेदुङ भगवान् होइनन्, मान्छे हुन् ।’ उनको भनाइमा यो किताब चीनको मुक्तियुद्धमा माओको प्रमुख अङ्गरक्षक भएर १४ वर्ष सहकार्य गरेका लि विन क्विआओको दैनिकीको अध्ययन र कुराकानीका आधारमा तयार पारिएको थियो । लामो समयसम्म माओका अङ्गरक्षक बनेका लिलाई माओले एकपटक भन्नुभएको थियो– ‘मेरो परिवारभित्र के भएको छ भन्ने कुरा अन्यहरूमा रहस्यमूलक वा गुप्त हुनसक्छ । तिम्रा लागि कुनै कुरा लुकेको छैन । तर म बाँचुन्जेल तिमीले मेराबारेमा नलेख । म नमरुन्जेल प्रतीक्षा गर र त्यसपछि सत्यतापूर्वक लेख ।’ माओको भनाइलाई पछ्याउँदै लिको दैनिकी र भनाइलाई आधार बनाएर तयार पारिएको किताबमा माओले सामना गर्नुपरेका चुनौती, पारिवारिक अवस्था, जीवनशैली र जनताप्रतिको माओको लगावका मुख्य अंशहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।

चुनौतीसँग रमाउने माओ

लालटिन महोत्सवपछि सन् १९४७ मा माओ येनानमा रहेका बखत हु जोङ्गानको २ लाख ३० हजार सेनाले सिमाना क्षेत्रमा घेरेको थियो । माओसँग केवल २० हजार जनमुक्ति सेना थिए । माओ नक्सा अध्ययन र नयाँ योजना बनाउनमा व्यस्त हुनुहुन्थ्यो । जनमुक्ति सेनाको विशेष अनुसन्धान टोलीले हुको सेना नजिकै आइपुगेको जानकारी दिइराखेको थियो । आकाशमा पचासवटा लडाकु जहाजको गडगडाहट सुनिइराखेको थियो । तिनीहरूले वर्षा गरेको बमले जमिन थर्किन थालेको थियो । जनरल पेङ माओका अङ्गरक्षकहरूका नजिक आत्तिँदै आए । ‘केले अध्यक्षलाई रोकेको छ ? अध्यक्षलाई तुरुन्त यहाँबाट निकाल’, उनले कडा आदेश दिए । एकजना अङ्गरक्षक माओको कोठामा प्रवेश गरे । ‘जनरल पेङ रिसाइरहनुभएको छ, अध्यक्ष कमरेड’ उनले भने, ‘कृपया, छिटो गरौँ !’
‘जाने बेला भयो अध्यक्ष कमरेड’, चाउएन लाईले अत्याए ।
माओ कुर्सीमा बस्नुभयो, के सबै कमरेडहरू हिँडिसके ?’
वरिपरिका सबैले एकै स्वरमा कराए, ‘हजूर, यसअघि नै ।’
‘नागरिकहरू नि ?’, माओले सोध्नुभयो ।
‘उनीहरू पनि गए, उनीहरू सबै ।’
‘त्यसो भए राम्रो भयो’, सन्तोषका साथ माओले भन्नुभयो, ‘मलाई मेरो खाना देऊ ।’

सधैँ छिटोछिटो खाने माओ त्यस बेला भने ढिलो गरी खाना खाइराख्नुभएको थियो । हुको सेनाले प्रहार गरेका हाते ग्रिनेड, गोला, बमको आवाज नजिकै आइरहेको थियो । जनरल पेङ आएर चाउ एनलाईलाई अनुरोध गरे । उहाँले भन्नुभयो, ‘केका लागि पर्खिराख्नुभएको छ अध्यक्ष कमरेड ?’ माओले उत्तर दिनुभयो, ‘म हुको सैन्य टुकडी कस्तो रहेछ, हेर्न चाहन्छु ।’ त्यहाँ रहेका सबै अवाक् भए । अन्त्यमा माओले आफूले ठाउँ छाड्न नचाहेको कारण खोल्नुभयो, ‘विगत दस वर्षदेखि शान्त रूपमा यहाँ बसिराखेको छु । फेरि हामीसँग भएको सबैभन्दा राम्रो सैन्य टुकडी पनि त यही हो नि । अनि यहाँबाट कहाँ जाने ? म जान्नँ, यहीँ बसेर लड्ने हो ।’

माओ बसेको झुप्राको ढोकामा नै एउटा शक्तिशाली बम खस्यो । आकासै थर्किने गरी आवाज निस्कियो । धुवाँ र धुलोले आकाश र जमिन ढाकियो । धुवाँ र धुलोको बीचमा माओ ठिङ्ग उभिनुभएको थियो । धुलैधुलो भरिएको कोट टकटक्याउँदै माओले भन्नुभयो, ‘यसले त मलाई हल्लाउन पनि सकेन । यसले हाम्रो सेनालाई के हराउन सक्ला र ?’
अन्ततः माओले येनान छाड्नुभएन । त्यहीँ स्थायी समितिको बैठक बस्यो र कोमिन्ताङको सेनालाई हराउने योजना बन्यो । माओ आफैँले आक्रमणको योजना बनाउनुभयो । तीन दिन दुई रातसम्म लडाइँ चल्यो । माओले चिया र पानी मात्र खाएर त्यो लडाइँको प्रत्यक्ष नेतृत्व गर्नुभयो । अन्ततः कोमिन्ताङ सेना नराम्रोसँग पराजित भयो ।

एक दिनको कुरा हो । जनगणतन्त्र चीनको घोषणा भैसकेको थियो । भयानक आँधी चलिरहेको थियो । आकाशमा बादल मडारिइरहेको थियो । बिजुली चम्किएको थियो । माओले आफ्ना अङ्गरक्षकलाई बोलाएर भन्नुभयो, ‘यिन्किआओ, समुद्रमा पौडी खेल्न जाऔँ !’ यिन्किआओले भने, ‘के ?’ अध्यक्ष पौडी खेल्न समुद्रमा जाने रे भनेर उनी कराउन थाले । चीन मुक्त भएदेखि पार्टीले माओलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न दिएको थिएन । सबैजसो अङ्गरक्षक जम्मा भए । माओको व्यक्तिगत डाक्टर जु ताओ पनि आए । त्यहाँ ठूलो भीड लाग्यो । माओ गैहाल्नुहुन्छ कि भनेर अङ्गरक्षकहरूले मानवघेराको ग्रेटवाल निर्माण गरे । डाक्टर जु ताओले वर्षाको पानी फोहोर हुन्छ, हुरी आएर धुलो उडेको छ । यो सबै स्वास्थ्यका लागि हानिकारक छ भनी माओलाई नजानका लागि सहमत गराउन खोजे । अन्त्यमा कसैको केही लागेन । काँधमा तौलिया हालेर माओ समुद्रतिर लम्किनुभयो । अरू सबै उहाँका अघिपछि लागे । समुद्रमा ठूलाठूलो छाल उठिरहेको थियो । छालको गडगडाहटले कसैको आवाज सुनिँदैनथ्यो । पौडी खेल्न तयार हुनुभएका माओ बालुवामा पाइला राख्दै समुद्रको पानीको नजिक पुग्दै हुनुहुन्थ्यो । उहाँका अङ्गरक्षक ‘अध्यक्षका लागि लाइफब्वाई चाहियो, तुरुन्त ल्याऊ’ भन्न थाले । माओले भन्नुभयो, ‘यो त केवल भाटा मात्र हो, ज्वार होइन । त्यसैले लाइफब्वाई चाहिँदैन ।’

करिब दुई सयजना युवा अङ्गरक्षकको घेराभित्र माओ पर्नुभयो । माओ अगाडि बढ्दै जानुभयो । समुद्रबाट पहाडभन्दा ठूलो छाल उठ्यो । त्यो छालले त्यहाँ भएका सबै मान्छेलाई हुत्यायो । मान्छेहरू पानीमा तैरिन थाले । चिच्याहट सुनियो । छालले समुद्रको किनारबाट निकै पर फालिदियो । ज्वार फर्कियो । बालुवामाथि तैरिन पुग्नुभएका माओले उठेर भन्नुभयो, ‘सातौँ डिभिजनलाई पराजित गरेकोे जस्तो भयो ।’ पौडी खेलेर फर्किंदा उहाँको मुहार युद्ध जितेको योद्धाको जस्तो आत्मविश्वासपूर्ण थियो ।

सन् १९६६ मा पश्चिमा सञ्चारमाध्यमहरूले माओलाई अब बूढो भयो भनी प्रचार गरे । माओले आफू बूढो भएको छैन भन्ने देखाउनका लागि सबै पत्रकारहरूलाई याङ्सी नदीको किनारमा बोलाउनुभयो । याङ्सी नदी विश्वको तेस्रो लामो नदी हो । सामान्यतया यसको गहिराइ १० मिटर छ । तीव्र बहावका कारण यसमा स्टिमर पनि सञ्चालन गर्न सकिँदैन । ७३ वर्षको उमेरमा माओले याङ्सीमा लगातार पौडी खेलेर संसारलाई छक्क पारिदिनुभयो ।

माओ र परिवार

माओका माओ एनिङ र माओ एङ्किङ नामका दुई छोरा थिए । पश्चिमको स्याङ्सीमा रहँदा माओको नाम लि देसेङ थियो । त्यसैक्रममा माओका दुई छोरी जन्मिए– लि ने र लि मिन । माओले वर्गीय मुक्ति आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनका क्रममा छजना आफन्त गुमाउनुभएको थियो । उहाँकी जीवनसाथी आङ्काइ हुई र छोरा माओ एनिङ युद्धका क्रममा सहिद भएका थिए ।

माओले बाँचुन्जेल आफ्नो परिवारलाई भन्दा बढी महत्व क्रान्ति, जनता र देशलाई दिनुभएको थियो । मुक्तियुद्धका क्रममा मात्र नभएर जनगणतन्त्रको स्थापनापछि राष्ट्राध्यक्ष भैसक्दा पनि माओ आफ्ना छोराछोरीसँगसँगै बस्नुभएन । माओका छोराछोरी सी ग्रेडको मेसमा खाना खान्थे । च्यातिएका लुगा लगाउँथे । लोकल गाडी चढेर पढ्न जान्थे । पेटभरि खान नपाएर उनीहरूलाई सुकेनाश लाग्थ्यो । शरीर पहेँलो भएको हुन्थ्यो ।

एकपटकको कुरा हो । लि मिन माओलाई भेट्न आइन् । माओका भान्छेले लि मिनका लागि भनेर मीठो खाना बनाए । तेल हालेर तरकारी पकाए । लि मिनले चिल्लो पदार्थ मिसाएको खाना नखाएको कैयौँ समय भैसकेको थियो । माओ, चियाङ चिङ र लि मिनहरू खाना खान बसे । लि मिनले त्यो खाना असाध्यै मीठो मानेर खाइन् । उनले थपिथपी मात्र खाइनन्, बरु गाँसपछि गाँस खान थालिन् । एकछिन त माओलाई पनि रमाइलो लाग्यो । लि मिनले त्यहाँ भएको सबै खाना खाइसकिन् । उनको शरीर पेटभरि खान नपाएर पहेँलो भएको थियो । उनी सडकमा छाडिएकी सडकछाप महिलाजस्ती दुब्ली थिइन् । छोरीको त्यो अवस्था देखेर माओका आँखामा आँसु टिल्पिलाए । खाना खाँदाँखाँदै माओ जुरुक्क उठेर सुत्ने कोठातिर लाग्नुभयो । माओको पछिपछि चियाङ चिङ लागिन् । लि मिनले लि यिङ्किआओलाई भनिन्, ‘अङ्कल, अरू खाना छ भने दिनुस् न । मेरो भोक अझै मरेको छैन ।’ उनको यो भनाइले त्यहाँ उभिएका सबैका आँखामा आँसु आयो । लि मिनको यो अवस्था देखेर लि यिङ्किआओले माओलाई आफूसँगै राख्न अनुरोध गरेका थिए । तर माओले सँगै राख्न अस्वीकार गर्नुभयो । उहाँले यिङ्किआओलाई भन्नुभयो, ‘पहिलो कुरा त जनताका छोराछोरीले जे खान्छन् मेरा छोराछोरीले पनि त्यही खानुपर्छ । दोस्रो, यिनीहरूको क्रान्तिमा के भूमिका छ र ?’ परिवारका बारेमा केही कुरा आइहालेमा माओ भन्नुहुन्थ्यो, ‘माओका सन्तान हुनु नै तिनीहरूका लागि दुर्भाग्य हो ।’

माओका जेठा छोरा माओ एनिङ सोभियत सङ्घबाट स्नातकोत्तर गरेर चीन फर्किए । माओ ग्रामीण किसानहरूसँग कुराकानी गरिराख्नुभएको थियो । एनिङले माओलाई आफूले विश्वविद्यालय शिक्षा सकेर आएको जानकारी दिए । माओले छोरालाई पुराना टालेका लुगा दिँदै भन्नुभयो, ‘तिमीले त्यो विश्वविद्यालयको शिक्षा त सक्यौ । अब यी लुगा लगाएर जनताको विश्वविद्यालयमा पढ्न जाऊ ।’ माओले छोरा एनिङलाई कोरियाको साम्राज्यवादविरुद्धको युद्धमा पठाउनुभएको थियो । त्यहाँ साम्राज्यवादी बमको प्रहारबाट माओ एनिङको मृत्यु भएको थियो । टेलिग्राफमार्फत छोराको मृत्युको खबर चीनमा आइपुग्यो । माओले छोराको सहादतको खबर पाउनुभयो । उहाँ असाध्यै चिन्तित हुनुभयो । तर आँसु झार्नुभएन । कोठामा यताउता हिँडी मात्र राख्नुभयो । चुरोट तानिराख्नुभयो । खाना खान सक्नुभएन । ‘यो मेरो छोरा हुनु नै उसका लागि दुर्भाग्य थियो’ यति मात्र भन्नुभयो । माओले एनिङकी जीवनसाथी अर्थात् बुहारी फुलाई बोलाउन पठाउनुभयो र सम्झाउँदै भन्नुभयो, ‘तिमी आजदेखि मेरी जेठी छोरी भयौ । मेरी छोरीलाई जे गर्ने स्वतन्त्रता छ, तिमीलाई पनि त्यो स्वतन्त्रता छ । तिमीले गर्व गर्नुपर्छ तिम्रो जीवनसाथी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सहिद भयो । साम्राज्यवादविरुद्धको लडाइँमा मृत्युवरण ग¥यो ।’

माओ एनिङको मृत शरीरलाई चीन ल्याउन लागेको खबर पाएर माओले नल्याउन आदेश दिनुभएको थियो । त्यस समयमा माओले भन्नुभयो, ‘एउटा त ऊ अब मेरो छोरो मात्र रहेन, विश्वसर्वहारवर्गको कुशल सिपाही बन्यो । अर्को कुरा, कोरियामा सहादत प्राप्त सबै सहिदहरूलाई चीन ल्याउन सकिन्छ भने मेरो छोराको शव पनि ल्याउनू, नत्र उसका साथीहरूको शवलाई जहाँ गाडिन्छ, त्यहीँ गाडिदिनू ।’

पाखे माओ

माओ प्रायः गरेर फाटेको र टालेको लुगा लगाउनुहुन्थ्यो । आफूलाई उपहारमा आएका राम्रा लुगा आफ्ना अङ्गरक्षकहरूलाई लगाउन दिनुहुन्थ्यो । टाल्दाटाल्दा काम नलाग्ने भैसकेपछि पनि उहाँ अर्को लुगा टाल्न हुन्छ भन्दै टुक्रा कपडा राख्नुहुन्थ्यो । चीनमा नयाँ जनवादी क्रान्ति सफलताको घोषणा गर्दा पनि माओले टालेको लुगा नै लगाउनुभएको थियो ।

माओलाई आफ्नै पार्टीको पोलिटब्युरो सदस्यहरूले दिने गरेको रिपोर्टमा विश्वास थिएन । उहाँ आफ्ना अङ्गरक्षकहरूलाई घर पठाउने गर्नुहुन्थ्यो । घर गएका अङ्गरक्षकहरूले रिपोर्ट लिएर आउँथे । जनताले के भनेका छन् ? के खाएका छन् ? उनीहरूको जीवनस्तर कस्तो छ ? भन्नेबारेमा रिपोर्ट ल्याउन लगाउनुहुन्थ्यो । सन् १९६० मा चीनमा खाद्यान्न उत्पादनमा सङ्कट प¥यो । भयानक भोकमरीले चीनलाई एकपटक लपेट्यो । माओका अङ्गरक्षक लि यिङ्किआओले गाउँका किसानहरूले खाने गरेको सुक्खा रोटी माओका लागि ल्याइदिए । त्यसलाई भाँचेर माओले मुखमा हाल्नुभयो । त्यो रोटी अति नै साह्रो थियो । उहाँले चपाउन सक्नुभएन । उहाँका आँखाबाट आँसु झरिराख्यो । माओले तुरुन्तै पोलिटब्युरोको बैठक आह्वान गर्नुभयो । उक्त बैठकमा सबै सदस्यलाई त्यो रोटीका एकएकवटा टुक्रा खान दिनुभयो । साह्रो भएकाले कसैले पनि चपाउन सकेनन् । त्यसबखत माओले आफैँले २८ वर्षसम्म युद्ध लडेर ल्याएको राज्यव्यवस्थामा जनताको दयनीय अवस्थाको चित्रण गर्दै विरोध गर्नुभयो । जनताले खान पाएका छैनन् भन्ने थाहा पाएपछि माओले सात महिनासम्म मासु खाँदै खानुभएन । हुनत माओलाई सुँगुरको उमालेको मासु खुबै मन पथ्र्यो । यसले गर्दा उहाँका हातगोडा एकदमै कमजोर भएका थिए । अन्ततः उहाँले विद्रोह गर्नु अधिकारको नारा दिएर बमबार्ड एट द बुर्जुवाज हेडक्वार्टरको निर्देशन दिँदै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उद्घोष गर्नुभयो ।

अन्त्यमा

एउटा किसानको छोरा, लोग्ने, बाबु अनि सहयोद्धाहरूको कमरेडका रूपमा रहेका माओ विश्वमा राजनेताका रूपमा कहलाइएका माओको जीवन, व्यवहार र सिद्धान्तका बीचमा समुचित तालमेल मिलेको थियो । जस्तो किसिमको पनि जोखिम मोल्नसक्ने, प्रकृतिविरुद्ध जुध्ने, फरक धारमा हिँड्ने, व्यक्तिगत स्वार्थ त्याग्ने, त्याग, बलिदान र समर्पणमा रमाउने र सिद्धान्त र व्यवहारका बीचमा खाडल हुन नदिने, अध्ययनलाई शीर्ष स्थानमा राख्ने नेता मात्र साम्यवादी आन्दोलनको वास्तविक नेता हुनसक्छ भन्ने कुरा माओको जीवनीबाट सिक्न सकिन्छ । स्वयम् माक्र्स र लेनिनको जीवन पनि कम थिएन । जो यी विशेषताहरूसहितको गुणले युक्त छ, उसले मात्र सुरुदेखि अन्त्यसम्म साम्यवादी आन्दोलनको नेतृत्व गर्न सकेको छ । देश र जनतालाई मुक्त गर्न सकेको छ । रूपमा जति नै क्रान्तिकारिता देखाए पनि बमको आवाजले तर्सिने, आफूमाथि क्रान्ति मडारिन थाल्यो भने अब क्रान्ति सम्भव छैन भन्दै छेरभालु हुने आत्मसमर्पणसम्म गर्न पुग्ने ढोङ्गी नेता त बन्न सक्छन् तर कालान्तरमा उनीहरूको असली नियत उदाङ्गो हुन पुग्छ । ती इतिहासका पानामा पनि सीमित हुन योग्य हुँदैनन् । रोल्पामा बस्दा खारामा पड्किएको बमको आवाजले कायल भएका नेताहरूले वर्गघात त गर्न पुगेपुगे, राष्ट्रघात र जनघात गर्नाको परिणाम यही हो ।

२०७५ पुस १२ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!