दलाल सरकारसँग वार्ताको कुनै औचित्य छैन : सुदर्शन (देशभर माओ दिवस मनाइयो)

        काठमाडाैँ : विश्व सर्वहारा वर्गका नेता माओ त्सेतुङको १२६ औँ जन्मदिवसका अवसरमा नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँ, धनगढी, झापा, स्याङ्जा, रामेछाप, सर्लाही, बुटवल, नुवाकोट, उदयपुरलगायत देशैभरि विचारगोष्ठी, ¥याली र सभा आयोजना गरेको छ । माओ दिवसका अवसरमा बुधबार काठमाडौँको प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा ‘नेपाली क्रान्तिको कार्यदिशा र माओवादको महत्व’ का बारेमा वरिष्ठ राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरूले माओका योगदानहरूका बारेमा चर्चा गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले संशोधनवादी तथा आत्मसमर्पणवादी प्रचण्डप्रवृत्ति जन्मिनबाट पार्टीलाई बचाउनका लागि राजनीतिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति सुरु गर्नुपर्ने बेला आएको बताए । नेकपाको थबाङ महाधिवेशनको अभीष्ट सांस्कृतिक क्रान्ति पूरा गर्नु रहेको बताउँदै नेता सुदर्शनले हामी कति ठीक छौँ कि बेठीक छौँ भन्नेबारेमा आफैँले आफैँलाई समयमै विचार गर्नुका साथै राजनीतिक सत्ता र आदतको सत्ता दुवै ढाल्नुपर्ने धारणा व्यक्त गरे । सांस्कृतिक क्रान्ति माओको भाषामा निरन्तर क्रान्ति रहेको बताउँदै सुदर्शनले भने, ‘लेनिनले भनेको जस्तो आज वर्गसङ्घर्ष मानेर मात्र कोही पनि क्रान्तिकारी हुन सक्दैन, बरु जसले सर्वहारा अधिनायकत्वलाई ग्रहण गर्न सक्छ त्यो नै क्रान्तिकारी हो ।’


माओको सिद्धान्तलाई मान्छौँ भन्दै लालझन्डाका विरुद्ध लालझन्डा बोक्नेहरूका विरुद्ध पनि आफ्नो पार्टी लड्ने नेता सुदर्शनले बताए । चीनमा माओले भनेको दीर्घकालीन जनयुद्ध र लेनिनले भनेको सशस्त्र विद्रोहमा विकास गरेर जाने अभ्यासमा नेपाल कम्युनिस्ट पार्टी रहेको प्रस्ट पार्दै सुदर्शनले विश्वका आधाभन्दा बढी र समाजवादी क्रान्ति भएका दर्जनौँ देशहरूमा क्रान्ति किन असफल भए भन्ने विषयमा अध्ययन गर्दा माक्र्सवादका नियमहरूलाई पकड्ने कुरामा कमजोरी भएको संश्लेषण गरिएको बताए ।

माक्र्सवादको सार पकड्न नसक्दा र माक्र्सवादमा विकास गर्न नसक्दा विश्वका दर्जनौँ देशमा क्रान्ति असफल भएकाले आफ्नो पार्टीले थबाङ महाधिवेशनबाट एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा सुरु गरेको नेता सुदर्शनले बताए । नेपाल नयाँखाले औपनिवेशिक मुलुक भएको र अहिले यो देशका मुकुन्डोधारी कम्युनिस्टहरूको मुकुन्डो च्यातिएको भन्दै सुदर्शनले नेपालका सत्ताधारी कम्युनिस्ट नेताहरूलाई एकनाथ ढकालले चलाएको दाबी गरे ।

कृष्णप्रसाद भट्टराईको पालाबाट सुरु भएको दलाल पुँजीवाद नेपाली जनताको प्रमुख दुस्मन भएको बताउँदै सुदर्शनले यसैले नेपालका सबै उद्योगहरू सिध्याएको प्रस्ट पारे । ‘नेपालमा खोलिएका उद्योगधन्दाहरू सबै सिद्धिसकेका छन् । बाँसबारी छालाजुत्ता कारखाना, कपडा कारखाना चुरोट कारखाना, धागो कारखाना, कागज कारखाना ती सबै सिध्याइएको छ । अब विनोद चौधरी, शेष घले, अजय सुमार्गीलगायतको हातमा पँुजी केन्द्रित भएको छ । यी सबै दलाल हुन् । यिनीहरूको हातमा देश छ’, उनले भने, ‘राजनीतिक दलालहरू भनेका प्रचण्ड–केपी हुन् । राजनीतिले अर्थतन्त्रमाथि नेतृत्व गर्ने हो तर अहिले अर्थतन्त्रले राजनीतिको नेतृत्व गर्दछ । त्यसैले अजय सुमागी र विनोद चौधरीहरूले प्रचण्ड र केपीलाई नेतृत्व गरेका छन् ।’

अहिले नेपालको राजनीति नेपाली सत्ताधारीको नेतृत्वमा नरहेको प्रस्ट पार्दै नेता सुदर्शनले भने, ‘निगम पुँजीले अहिले विश्वबजार कब्जा गरेको छ । अहिले विकेन्द्रित उत्पादन र केन्द्रीकृत वितरण भएको छ । पुँजीपतिहरूले संसारभरिका उत्पादनहरू एउटै छानामुनिबाट बिक्री गर्छन् । यो त पुँजीपतिहरूको सिन्डिकेट हो । अहिले विज्ञान र प्रविधिमा आएको उच्चतम् विकासको कारण पनि एकीकृत जनक्रान्ति आवश्यक छ ।’
पार्टीको राजनीतिक कार्यदिशाका व्याख्या गर्दै नेता सुदर्शनले भने, ‘एकीकृत जनक्रान्ति भनेको गाउँ र सहरलाई जोडेर लड्ने क्रान्ति हो । एकीकृत जनक्रान्ति भनेको नेपाली क्रान्तिको मोेडेल हो ।’

वैज्ञानिक समाजवादको व्याख्या गर्दै उनले भने, ‘यसको उद्देश्य भनेको वैज्ञानिक समाजवाद स्थापना गर्नु हो । नयाँ जनवादी क्रान्ति समाजवादी क्रान्तिकै अङ्ग हो । समाजवाद भनेको निजी सम्पत्तिको अन्त्य गर्नु पनि हो । निजी सम्पत्तिको अन्त्य गर्दै सामाजिक सम्पत्तिको स्थापना गर्नु हो । कम्युनिस्टहरूले समाजवाद नयाँ ढङ्गले लागू गर्ने हो । योग्यताअनुसारको काम र आवश्यकताअनुसारको दाम हुने व्यवस्था नै समाजवाद हो । समाजवादमा जनताको नेतृत्व रहने गरी राष्ट्रिय पुँजीपतिहरूले लगानी गर्ने अर्थप्रणाली हुन्छ ।’
कम्युनिस्ट पार्टीहरूबीचको एकता आजको अनिवार्य आवश्यकता भएको बताउँदै उनले विचार मिल्नेहरूसँग संयुक्त मोर्चा बनाएर जानसकिने धारणा राखे ।

सरकार र नेकपाबीचको वार्ताका बारेमा बोल्दै नेता सुदर्शनले प्रचण्ड र केपीले आफ्नो पार्टीलाई फसाउनका लागि वार्ताको कुरा गरेको प्रस्ट पारे । उनले भने, ‘हामीलाई तराईको सीके राउतसँग मिसाएर वार्ता गर्ने भनेका छन्, त्यो गलत छ । अहिले वार्ताको कुनै औचित्य छैन । सत्ताधारीहरू जब हार्ने अवस्थामा पुग्छन् तब मात्र वार्ताको कुरा गर्छन् । वार्ताको कुरा गर्दा हाम्रो ८० प्रतिशत भूगोलमा चलेको जनसत्ता, ४० हजार जनमुक्ति सेनाको विषय के हुन्छ ? १७ हजारको बलिदानी भएको छ, त्यसको मूल्य के हो ? यी सबै विषयहरू छन् ।’

प्रचण्ड र केपी काङ्ग्रेसजत्तिको पनि इमानदार नभएको भन्दै नेता सुदर्शनले निर्मलाका हत्यारालाई किन कारबाही नगरिएको भनी प्रश्न गरे । कम्युनिस्ट विचारको मूल्य–मान्यता नराख्ने नेपालका नामधारी कम्युनिस्टहरूको भारतका ज्योति बसुका मान्छेजत्तिको पनि नैतिकता नरहेको उनको विश्लेषण थियो । उनले भने, ‘ज्योतिका मान्छेले त कम्तीमा भैँसीपूजा गर्दैनन् । चीनमा सी जिङ पिङले चर्च भत्काउँदै हिँडेको बेलामा नेपालमा दलालहरू माक्र्सवादी आदर्श, मूल्य र मान्यताबाट विचलित भएर होली वाइन खान पुगेका छन् ।’

तमाम समस्याको समाधान एकीकृत जनक्रान्ति हो : प्राडा केसी

कार्यक्रममा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले इतिहासमा चिनियाँ क्रान्तिका नायक माओका योगदानहरू निकै माथि रहेको भन्दै अब इतिहासको समीक्षा गर्नुपर्ने बेला आएको बताए ।

एसिया प्यासिफिक सम्मेलनको अर्थ कम्युनिस्ट विचारलाई निस्तेज पार्ने रहेको भन्दै केसीले माधव नेपालले २२ वर्षदेखि एन्टी कम्युनिस्ट फोरमको नेतृत्व गरिरहेका रहेछन् भने तिनका कार्यकर्ता कस्ता थिए होलान् भनी प्रश्न गरे । एन्टीकम्युनिस्ट विचारको नेतृत्व माधव नेपालले नै गरेको उनको दाबी थियो ।

माओवादी जनयुद्धपछि नेपालमा केही हुन्छ कि भन्ने लागेको बताउँदै केसीले भने, ‘जनयुद्धले केही गर्छ कि भन्ने लागेको थियो । जनसेना गठन भएको थियो । संयुक्त मोर्चाहरू पनि गठन भएका थिए । तर बिस्तारै दिन ढल्दै गयो । प्रचण्ड–बाबुरामका नाममा विलीन भएर हराएर गयो । मुनको अमृत खानका लागि त्यो त्याग, बलिदान र यो परिवर्तन भएको हो ?’

डा. केसीले भने, ‘अहिलेका तमाम समस्याहरूको समाधानको उपाय एकीकृत जनक्रान्ति हो भन्ने मलाई पनि लागेको छ । तर कदापि बेइमानी र धोका हुनु हुँदैन ।’ केसीले व्यङ्ग्य गर्दै भने, ‘हिजोको जस्तो क्रान्ति होइन, निकै त्याग र बलिदानीबाट आएको क्रान्तिमा यति ठूलो प्रतिक्रान्ति हुँदा पनि किन मानिस हेरेर बसेका छन् ? के अचम्म भैरहेको छ ? मानिस किन घाम तापेर बसिरहेका छन् ?’


कार्यक्रममा राजनीतिक विश्लेषक तथा बुद्धिजीवी रमेश शर्माले क्रान्तिनायक माओका योगदानहरूका बारेमा व्याख्या गर्दै सर्वहारा सांस्कृतिक क्रान्तिलाई राजनीतिक क्रान्तिकै प्रक्रियामा लिएर जानुपर्ने, नत्र प्रचण्डको अवस्था दोहोरिने खतरा रहेको बताए । साम्राज्यवादीहरूले नेपाली क्रान्तिमा खेल्न सुरु गरेको भन्दै शर्माले त्यो एनजीओ र आईएनजीओका रूपमा र जातीय मुद्दाका रूपमा अघि आइरहेको बताए ।

शर्माले भने, ‘वर्गीय मुद्दा हल भयो भने जातीय कुरा आफैँ समाधान हुन्छ भनेर लेनिन, माओ, माक्र्स सबैले स्पष्ट रूपमा भनिसक्नु भएको छ तर साम्राज्यवादीहरू यहाँ जबर्जस्ती माक्र्सवादविरोधी गतिविधिहरू गरिरहेका छन् ।’ नेपालको सत्तामा विदेशी हस्तक्षेप अत्यधिक बढेको भन्दै शर्माले भने, ‘सत्तामा बसेकाहरू केही बोले भने पनि विदेशीको इसारामा मात्र बोल्छन् । आफ्नो विचार र विवेकले बोल्दैनन् ।’


ऋषि कट्टेलले नेतृत्व गरेको नेकपाका सहसंयोजक लोकनारायण सुवेदीले माओ एउटा क्रान्तिकारी ब्यक्ति रहेको बताए । उनले जहाँ क्रान्तिप्रति गद्दारी भएको छ, त्यही बिन्दुबाट क्रान्तिको सुरुआत गर्नुपर्ने धारणा व्यक्त । राजतन्त्र हट्दैमा सामन्तवाद नहट्ने भन्दै सुवेदीले सामन्तवादकै कारण आज देश यो अवस्थामा पुगेको बताए । सामन्तवादी आधारमा रहेको दलाल पुँजीवादी उपरिसंरचनमा टेकेर साम्राज्यवाद चर्को रूपले अहिले आइरहेको उनको भनाइ थियो ।
नेकपा उपत्यका ब्युरोले आयोजना गरेको उक्त कार्यक्रमका सञ्चालक नेकपाका केन्द्रीय सस्दय आजाद केसीले नेपालका कम्युनिस्टहरू निकै ठूला चुनौतीहरूको सामना गर्दै अघि बढिरेहेको अवस्थामा १० वर्षको जनयुद्धको समीक्षा गर्दै एकीकृत जनक्रान्तिको बाटोमा अघि बढिरहेको बताए । कार्यक्रमको अध्यक्षता अर्का केन्द्रीय सदस्य उत्तमले गरेका थिए । कार्यक्रममा नेकपाका सयौँ नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरूको उपस्थिति थियो ।

राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति नै माओको सपना : भुसाल
नेपाल कम्युनिस्ट पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) लुम्बिनी समन्वय समितिले १२६ औँ माओ दिवसको अवसर पारी विशाल विद्यार्थी सभा सम्पन्न गरेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्मको ¥याली ट्राफिकचोकमा आएर सभामा परिणत भएको थियो । लुम्बिनी अञ्चलका रूपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत जिल्लाबाट विद्यार्थी उपस्थित रहेको उक्त सभामा निर्मला पन्तका हत्यारालाई कारबाही गर्नसमेत माग गरिएको थियो ।
¥यालीपछिको विशाल विद्यार्थी सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले चिनियाँ क्रान्तिका महान् नेता माओ त्सेतुङले चीनजस्तो देशलाई जापानी साम्राज्यवादबाट उन्मुक्ति दिलाएर राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्तिको यात्रा अगाडि बढाए ।

उनले नेपाली क्रान्तिलाई पनि नेपालको मौलिकतामा रहेर राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारिएको बताए । उनले आगामी क्रान्तिको यात्रामा युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका हुने भन्दै सबैलाई आआफ्नो क्षेत्रबाट क्रान्तिको तयारीमा लाग्न अनुरोध गरे । कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले पनि एकीकृत जनक्रान्तिमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको बताए ।


एकीकृत जनक्रान्तिले माओको विचार बोकेको छ : आले

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर माओका सावैभौम विचार कार्यान्वयन गरिरहेको बताएका छन् । नेकपा सर्लाहीले हरिवनमा ¥यालीसहित आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि आलेले माओवाद उत्पीडित सर्वहारा वर्गको मुक्ति गर्ने विचार रहेको र नेकपाले जनतालाई मुक्ति दिलाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् जनकपुर ब्युरो इन्चार्ज सन्देश, पार्टी केन्द्रीय सदस्य एवम् मधेसी मुक्तिमोर्चाका अध्यक्ष देवनारायण शाहले पनि माओका योगदानहरूका बारेमा बोलेका थिए । कार्यक्रमको अध्यक्षता सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलले र सञ्चालन सर्लाही जिल्ला सेक्रेटरी राजन बस्नेतले गरेका थिए । जुलुस हरिवन बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

स्याङ्जामा माओ दिवस भव्यताका साथ मनाइयो

नेकपा स्याङ्जाले तालिङ्गनामा भव्यताका साथ माओ दिवस मनाएको छ । कार्यक्रममा रातो खबरका प्रबन्धनिर्देशक भीम चापागाईं, पार्टी जिल्ला सेक्रेटरी गोकुल पराजुली र युवा सङ्गठनका नेता दुर्गा थापाले अतिथिका रूपमा सम्बोधन गरेका थिए ।

सभामा अतिथि चापागाईंले भने, ‘आज संसारभरि १२६ औँ माओ दिवस मनाइएको छ । यो सर्वहारा वर्गका लागि गौरवको दिन हो । यो दिनमा माओको महत्व झनै बढेको छ ।’

माओले कार्यदिशा सही हुनु र गलत हुनुले सबै कुराको निर्धारण गर्छ भनेको स्मरण गराउँदै चापागाईंले भने, ‘हिजो हाम्रो कार्यदिशा सही थियो । सेना, सत्ता र पार्टी पनि राम्रो हुँदै गएको थियो । बीचमा प्रचण्ड–बाबुरामले गलत बाटो लिएर गलत कार्यदिशा तय गर्नाले जनयुद्धमा प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुम्यो । तर आज नेपाल कम्युनिस्ट पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा सही छ । यो कार्यदिशाले क्रान्तिको विकास गरेको छ । अब यो कार्यदिशाले नेपालमा मात्र नभएर विश्वमै क्रान्ति सफल पार्नेछ ।’

कार्यक्रममा सेक्रेटरी पराजुलीले एकीकृत जनक्रान्तिको कार्यदिशा माक्र्सवाद लेनिनवाद र माओवादको विकासका रूपमा अघि बढिरहेको बताए ।


रामेछापमा पनि नेकपाले १२६ आँै माओ दिवस भव्य रुपमा मनाएको छ । जिल्ला सदरमुकाम मन्थलीबजारमा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज जमिन, जनसरकार प्रमुख विवेक लामा, प्रेम श्रेष्ठलगायतले सम्बोधन गरेका थिए । वक्ताहरूले माओका योगदानहरूको चर्चा गर्दै एकीकृत जनक्रान्तिका माध्यमबाट नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

यसैगरी दोलखा जिल्ला कालिन्चोक गाउँपालिका ८ देगुम्पामा नेकपा दोलखा जिल्ला अन्तरगत अभियानको शिलशिलामा माओ दिवस सम्पन्न भएको छ । स्थानीय जनताको सयौंको उपस्थितिमा जित थामिको उध्यक्षता प्रमुख अतिथि इन्र्चाज यादव दाहाल, अतिथि सङ्गठन ब्युरो संयोजक मेगप्रसाद चौलागाईं, महिला ब्युरो संयोजक पवित्रा फुँयाल, सहिद परियवारका वुवा कर्णबहादुर थामी, जनसरकार प्रमुख उजिर, विशाल जिरेलको साथमा युवा टोली र अभियान टोली सहित माओ दिवस मनाएको जनाएको नेकपा दोलखाले जनाएको छ । त्यसैगरी नेकपा उदयपुले पनि माओ दिवस मनाएको छ । कार्यक्रममा नेकपा सगरमाथा ब्युराे इन्र्चाज दिपेशले माओ गर्नुभएको महत्वपूर्ण याेगदानकाे चर्चा गरेका थिए ।

२०७५ पुस ११ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :