क्रान्तिकारी पत्रकार सङ्गठनले देशव्यापी तीन महिने जनसञ्चार अभियान चलाउने

पाेखरा : नेपाल कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी पत्रकार सङ्गठन नेपाल तीन महिने जनसञ्चार अभियान लिएर आगामी पुस २० गतेदेखि देशभर जिल्ला दौडाहामा जाने भएको छ ।
बुटवलमा आइतबार सम्पन्न सङ्गठनको केन्द्रीय समितिको दोस्रो पुर्ण बैठकले यस्तो निर्णय गरेपछि क्रान्तिकारी पत्रकार सङ्गठनका नेताहरु तीन महिने जनसञ्चार अभियान लिएर आगामी पुस २० गतेदेखि देशभर जिल्ला दौडाहामा जाने भएका हुन् ।

अभियानका क्रममा क्रान्तिकारी पत्रकार सङ्गठनले सदस्यता वितरण, नबिकरण एवं सङ्गठन सुदृढ गर्ने कार्यलाई तीव्रता दिनेछ भने विभिन्न स्थानमा तालिम तथा प्रशिक्षणहरु पनि सञ्चालन गर्ने भएको छ । त्यही क्रममा सङ्गठनले मिडिया नीतिका लागि सुझावहरु पनि सङ्कलन गर्ने छ ।

क्रान्तिकारी पत्रकार सङ्गठनको बैठकले ८ वटा क्षेत्रीय समिति निर्माण गरी संयोजक समेत तोकेको छ । बैठकले क्रान्तिकारी पत्रकार सङ्गठन गण्डकी धवलागिरी क्षेत्रयि समन्वय समितिको संयोजकमा पोखराका ओम हमाललाई तोकेको छ भने बागमती–नारायणी क्षेत्रीय समन्वय समिति संयोजकमा बिरगंजका सुदर्शनराज पाण्डेलाई चयन गरेको छ । त्यस्तै सल्यानकी टिका केसीलाई भेरी–कर्णाली क्षेत्रीय समन्वय समिति, ताप्लेजुङ्गका आलोक लिम्बुलाई मेची–कोशी क्षेत्रीय समन्वय समिति, सर्लाहीका कमल सुस्लिंगलाई जनकपुर–सगरमाथा क्षेत्रीय समन्वय समिति, रोल्पाका दिपेश बिष्टलाई लुम्बिनी–राप्ती क्षेत्रीय समन्वय समितिको संयोजक तोकिएको छ । यसैगरी काठमाडौँ उपत्यका क्षेत्रीय समन्वय समिति संयोजकमा काठमाडौँका सागर लामालाई तोकिएको छ भने सङ्गठनको केन्द्रीय समिति आफैंले सेती–महाकाली क्षेत्रीय समन्वय समिति हेर्ने तय भएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पछिल्लो समयको देशब्यापी अभियानले थप उत्साह थपेको बताए । साथै बैठकले पत्रकारको न्युनतम पारिश्रमिकको लागि देशभर आन्दोलन एवम् अभियान सुरु गर्ने निर्णय गरेको छ ।

बैठकमा सङ्गठनको हालसम्मको स्थिति, यसबिचमा उत्पन्न भएका उतारचढाव, गरिएका संघर्ष र आन्दोलनका बारेमा ब्यापक छलफल गरिएको थियो ।’

सोही बैठकले श्रमजीवी पत्रकार ऐनलाई कडाईका साथ कार्यान्वयन गर्न गराउन सरकारसँग जोडदार माग गरेको छ भने समानुपातिक विज्ञापन नीति बनाएर सबै खाले सञ्चार माध्यमलाई समेट्दै समान तरीकाले विज्ञापन उपलब्ध गराउन माग गरेको छ । त्यस्तै सरकारी नियुक्ति लिएपछि सरकारको गलत क्रियाकलापको बचाव हुने हुँदा सरकारी निकायमा नियुक्ति लिएका नेपाल पत्रकार महासङ्घका कार्यकारी पदमा रहेका पदाधिकारीहरुलाई नेपाल पत्रकार माहासङ्घको कार्यकारी पद वा सरकारी नियुक्तिबाट राजिनामा दिन आग्रह गर्दै यस बिषयमा उचित निर्णय लिएर कार्यान्वयन गर्न क्रान्तिकारी पत्रकार सङ्गठनले नेपाल पत्रकार महासङ्घसँग जोडदार माग गरेको छ ।

बैठकको उद्घाटन नेकपाका प्रवक्ता प्रकाण्डले गरेका थिए ।

२०७५ पुष ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :