नेपालको जलस्रोतमा बैदेशिक हस्तक्षेप

तस्वीर : भीम चापागाईं

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोको आयोजनामा ‘नेपालको जलस्रोतमा बैदेशिक हस्तक्षेप’ (सन्दर्भ बुढीगण्डकी जलविद्युत परियोजना) बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गोरखाको सदरमुकाममा आइतबार सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले अवधारणा पत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अवधारणा पत्र प्रस्तोता गुणराज लोहनीले एउटा सार्वभौम स्वतन्त्र राष्ट्र नेपालमा, सुगौली सन्धीदेखि अहिलेसम्म यहाँको राजनीतिक आर्थिक, सांस्कृतिक क्षेत्रमा अतिक्रमण हुँदै आएको बताए । उनले भने –‘चीन र पश्चिम मुलुकले अहिले पनि हस्तक्षेप जारी राखेका छन् ।’
नेता लोहनीले दलाल सरकारकै कारण भारतीयको मिलेमतोमा चिनीया कम्पनी गेजुवा बुढीगण्डकी परियोजना नेपाली जनता विरुद्ध रहेको बताए । बर्तमान व्यवस्थाले नेपाली जनताको हित नगर्ने भन्दै उनले एकीकृत जनक्रान्ति मार्फत स्थापना हुने वैज्ञानिक समाजवादले मात्र नेपाल र नेपाली जनताको भविष्य उज्वल हुने दाबि गरे ।


कार्यक्रममा जलस्रोतविद् तथा पूर्व जलस्रोत मन्त्री दिपक ज्ञवालीले भारतको चाहनामा चिनियाँ कम्पनी गेजुवालाई यो परियोजना दिइएको र भारत सरकारले विद्युत भनेको राजनीतिक स्रोत हो भनी नेपालको पानी माथि नियन्त्रण गर्ने बाहेक अरु केही नभएको बताए ।

त्यसैगरी जलस्रोतविद् तथा बुढीगण्डकी जलविद्युत परियोजनाका पूर्व अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले नेपाली जनता सधै अरुमा मात्र परनिर्भर हुने हो भने देश कंगाल हुने भन्दै आफैले आफ्नो देश आफै बनाउनु पर्ने बताए । गेजुवा कम्पनीले यस परियोजनामा काम सुरु गर्ने भन्दा पनि भारतको इन्टेशन पुरा गर्ने सोचमा रहेको देवकोटाको भनाई थियो ।

कार्यक्रममा जलस्रोत विज्ञ गोविन्द शर्मा पोडेल, पूर्व मन्त्री तथा उर्जा व्यावसायी देवबहादुर पौडेल, नयाँ शक्ति पार्टीका प्रदेश सांसद हरिशरण आचार्य, नेपाली कांग्रेस गोरखा जिल्ला सदस्य मीना अधिकारीलगायतले विदेशी हस्तक्षेप विरुद्ध संयुक्तरुपमा आवाज उठाउने शक्तिलाई आफुहरुको साथ रहने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेकी नेकपाकी गण्डक ब्युरो इन्चार्ज आस्थाले नक्कली कम्युनिस्टहरुले देशलाई कंगाल बनाउन खोजेकापछि असली कम्युनिस्ट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल र नेपाली जनताको भविष्य सुनिश्ति गर्ने भन्दै सम्पूर्ण जनतालाई साथ दिन आह्वान गरेकी थिएन् ।
गण्डक ब्युरोकी इन्चार्ज आस्थाको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन रुपेशले गरेका थिए ।
२०७५ पुस ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :