नेकपाका उदयपुर इन्चार्ज राई रिहा

 

उदयपुर : नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य एवं उदयपुरका पूर्व जिल्ला इन्चार्ज केदार राई सर्वोच्च अदालतको आदेशमा उदयपुर कारागारबाट आइतबार साँझ रिहा भएका छन् ।
२०७५ असार १६ गते काठमाडौँको ग्रामिण आदर्श कलेज नेपालटार को कार्यक्रमबाट गिरफ्तार गरि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट मार्फत रिहा हुनुभएका राईलाई असार २८ गते उदयपुर पुर्याई बम विष्फोटन तथा ज्यान मार्ने उद्योग र अंगभंग सम्वन्धि कसुर अन्तर्गत जिल्ला अदालत उदयपुरको आदेशले पुर्पक्षको लागि कारागार चलान गरेको थियो ।
नेता राई रिहा भएपछि जिल्ला अदालत उदयपुरको गेटै अगाडि उनलाई अविरको टीका लगाई फुलमाला र खादा ओढाई स्वागत गरिएको छ । नेकपाका सगरमाथा ब्युरो इन्चार्ज दिपेशको नेतृत्वमा जिल्ला इन्चार्ज बाबुराम सुवेदी, किरात जनसरकारका उपप्रमुख जितबहादुर पुलामीसहित दर्जनाँै नेताकार्यकर्ता आइतबार बिहान १० बजे नै जिल्ला अदालत उदयपुर पुगेका थिए ।

स्वागत कार्यक्रम पश्चात सदरमुकाम गाईघाटमा आयोजित कोणसभामा बोल्दै नेता केदार राईले ‘वर्ग संघर्षको सिपाहीलाई जेलको दिवार भित्र कैद गराई विचारलाई निश्तेज गर्न खोज्ने दलाल सरकारको सपना चकनाचुर भएको बताए । जेल भित्रै पनि आफ्नो विचार प्रवाह गरि क्रान्तिप्रति झुकाव राख्ने थुप्रै पात्रहरु निर्माण गरेको उनले बताए । निर्मला हत्याकाण्डमा निर्दोषहरुलाई फसाए झैं गरि यस कारागारमा पनि अधिकांश बन्दीहरुलाई फसाई कारागार कोचिएको समेत बताए ।

सोही कोणसभामा नेकपाका केन्द्रीय सदस्य तथा सगरमाथा ब्युरो इन्चार्ज दिपेशले राज्यको यस निकृष्ट कार्यको घोर विरोध गरेका थिए । आफूलाई पनि उदयपुरको प्रहरी हिरासतमा बिनाकारण २८ दिनसम्म झुठा अभियोगमा फसाइएको चर्चा गर्दै राज्यको यस कदम उसैको लागि महँगो सावित हुने चेतावनी दिए । राज्यको यस्ता कदमप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै नेता राईले यहि उदयपुरमा निर्मला हत्याकाण्डको विरोध कार्यक्रममा प्रहरीले व्यानर खोसी च्यातेको प्रसंग निकाल्दै प्रहरीको उक्त कदमप्रति रोष प्रकट गरेका थिए । शान्तिपुर्ण कार्यक्रम माथि त्यसरी प्रशासनले हस्तक्षेप गरेपछि क्रान्तिकारीहरुले बम नपड्काएर के तालि चाहिँ पड्काउछ त ? भनी प्रश्न गर्दै राईले आगोसँग खेलेर आएका क्रान्तिकारी नेताकार्यकर्ताहरुले झिल्काहरुलाई सहजै पचाएर आफ्नो यात्रा तय गर्ने बताए । अझै पनि शासकहरुको चेत नखुलि यहि वाटो हिडे एकीकृत जनक्रान्तिले दिएको प्रतिजवाफमा दलाल शासकहरु नाम निशाना समेत नभेटिने गरि सधैँको लागि मेटिने चेतावनि समेत दिए ।

कार्यक्रम सञ्चालन जिल्लाका सचिवालय सदस्य डिवि लामिछानेले  गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :