महासचिव विप्लवद्वारा बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दाङ घोराही उपमहानगरपालिका १७ मा सञ्चालित कृष्ण सेन ‘इच्छुक’ बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले दुर्घटनामा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले पनि बस दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेको छ । जिल्ला सेक्रेटरी विक्रमले विज्ञप्ति जारी गर्दै दुर्घटनाका घाइतेहरूप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । जिल्ला सेक्रेटरी विक्रमले मृतकका परिवारलाई राहत दिन र घाइतेहरूको उपचारमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

दाङ घोराही उपमहानगरपालिका १७ मा रहेको उक्त कृष्ण सेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । मृत्यु भएका २३ जनामध्ये ४ किशोरी छन् । प्रहरीका अनुसार २२ जनाको घटनास्थल र एकको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको छ ।

शुक्रबार सल्यानको मूलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कंदै गरेको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट झन्डै ७ सय मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ । राम्री र हरनेटीबीचको भागमा पर्ने घुम्तीमा विद्यार्थी बोकेको उक्त बस बेलुका पौने ६ बजे सडकबाट खसेको जानकारी इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी नायबउपरीक्षक प्रेम शाहीले दिएका छन् । बसमा यसै शैक्षिक सत्रदेखि दाङमा सञ्चालनमा आएको सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक यात्रारत थिए । उक्त बसमा विद्यार्थी ३४ जना, शिक्षक दुईजना र चालक एक गरी जम्मा ३७ जना यात्रु रहेको बताइएको छ ।

महासचिव विप्लवद्वारा जारी 

२०७५ पुस ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :