सहिद छोराको पत्र विप्लवलाई क्रान्तिमा हाम्रो साथ रहनेछ

तत्कालीन नेकपा (माओवादी) ले संसदीय व्यवस्थाको जरैदेखि उन्मूलन गर्ने भनेर जनयुद्व चलाएको थियो र जनताको सत्ता ल्याउने यो देशको व्यवस्था परिवर्तन गरी सम्पूर्ण नेपाली जनताको अधिकार प्राप्त गर्नका लागि जनयुद्व सुरु भयो । यसै क्रममा मेरा बाबा छविलाल आचार्यलाई २०५९ साउन १९ गते तत्कालीन शाही जल्लादका सिपाहीहरूले झापाको चारआली ब्यारेकमा एक सातासम्म यातना दिँदै छाला काढेर नुनचुक लगाउने, बन्दुकको नालले घोचीघोची बीभत्स यातना दिएर मारेछ । यसैक्रममा मेरी आमा शशीकला शर्मा अधिकारीलाई २०६० साल असोज २२ गते पार्टीको काममा जाँदा पार्टीभित्रै आन्तरिक गड्बडी गर्नेहरूको सुराकीका आधारमा तिनीहरूलाई तत्कालीन शाहीसेनासँग मिली इलामको कुथा मञ्जुदा गाउँमा सैनिकले कुटीकुटी मारेछ तर मलाई थाहा छैन– मेरा बाबा–आमा को हो ? किन शाही सैनिकले मा¥यो ? म को हुँ ? पत्तै भएन । मेरा आमाबाबाको बिहे जनयुद्धकै क्रममा २०५५ सालमा कञ्चनपुरमा भएको रहेछ । त्यतिखेर सेती–महाकाली ब्युरोमा काम गर्दा भारतको पिथौरागढ धारचुला, टनकपुर, पलियाकला, झुलाघाटलगायत ठाउँमा नेपाली मजदुर बनेर काम गर्ने र ५०–१०० रुपैयाँ जम्मा भएपछि नेपालमा आएर धुलो किनेर साता–दस दिनसम्म पार्टीको काम गर्ने, सङ्गठन विस्तार–निर्माण, जनाधार निर्माण र सङ्घर्षलाई घनीभूत पार्नुपर्ने र पार्टीभित्रकै केही गम्भीर समस्याहरूसँग लड्नु–भिड्नुपर्नेदेखि सबै काम गर्नुपर्ने थियो । तर त्यति नै बेला पार्टीमा वर्गउत्थान पनि भैसकेको रैछ । कसैले ५० रुपैयाँ कमाउन ज्याला–मजदुरी गर्नुपर्ने, कसैले उति बेला पनि लाख रुपैयाँ उडाउने थियो रे । जनवादी, केन्द्रीयता, वर्गीय दृष्टिकोण, वर्गसङ्घर्षप्रति ध्यान, विकृति–विसङ्गतिलाई प्रोत्साहित गर्ने र अर्थवादविरोधी सङ्घर्षलाई अगाडि बढाउने सङ्घर्षमा मेरा आमा–बुबा डटेर लड्नुभएछ । त्यसै क्रममा कञ्चनपुरको बालुवाफाँटामा २०५८ सालमा म जन्मिन पुगेछु । ३ महिनासम्म सुदूरपश्चिमको थारू बस्तीमा बसेपछि मेरा बाबा डा. छविलाल आचार्यको पूर्व (गृहक्षेत्र झापा) मा पार्टी अलि कमजोर भएको कारण सरुवाको कुरा चलेपछि आमाबाबा दुवैको एउटै क्षेत्र भनेर पूर्वी कमान्डमा सरुवा भएछ । त्यति बेला बच्चा कसले हेर्ने भन्ने विषयमा विवाद पनि तीव्र भएछ र पछि म तीन महिनाको बालकलाई जनताको घरमा छाडेर कार्यक्षेत्रमा जानुभएछ । मलाई रमा पराजुली भन्ने आमाले जुडुवा बच्चा भनेर हुर्काएको भन्ने सुनेको छु । उहाँको खोजी गर्दा अझसम्म केही पत्तो पाएको छैन । तर मलाई एकदमै भेट्ने रहर छ ।

पछि मेरी आमा देवकला अधिकारीले बर्दिया ल्याएर सानैबाट हेरचाह गर्नुभयो । मैले कुनै कुराको अभाव भोग्नु परेन । मेरा हजुरबुबा दुर्गादत्त अधिकारी शिक्षक पनि राजनीतिज्ञ पनि । हजुरआमा पनि २०२८ सालदेखि नै कास्की, चितवन हुँदै पार्टीको काममा बर्दिया आएर बस्नुभएको । राजनीतिक संस्कारसंस्कृति भएको घरमा म हुर्किएँ, बढेँ र खैरापुरको दीपजोति बोर्डिङ स्कुलमा कक्षा ३ सम्म अध्ययन गरेपछि कक्षा ४ देखि पोखराको लामाचौरस्थित गण्डकी आवासीय माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषय लिएर पूरा छात्रवृत्तिमा अध्ययन गरिराखेको छु । सायद मेरो आमाघर, हजुरबुबा, हजुरआमा, मेरी ममी देवकला नभैदिएको भए आज म यो ठाउँमा हुने थिइनँ होला किनकि युद्धमा बाबाआमा गुमाएका थुप्रै छोराछोरीको अवस्था र दुवैजना बाबाआमा पनि गुमाउनेको अवस्था देखिराखेको छु भने २–४ जना पदप्रतिष्ठा र पहुँच हुने फूर्तीफार्ती पनि देखिसकेको छु ।

हिजो १० बर्से जनयुद्धको बेला १७ हजार नेपाली जनताको ज्यान गयो । संसदीय व्यवस्थाको समूल नष्ट गर्न भनेर बिस्तारैबिस्तारै हाम्रा आफ्ना मान्छे मरेर उपलब्ध गरेको जनसत्ता र जनमुक्ति सेना विघटनपछि पुनः प्रचण्ड–बाबुरामहरूलाई लाजसरम छैन । गरिबका छोराछोरी मरेको के २–४ जनालाई धनी बनाउन हो ? पदप्रतिष्ठा पैसा कमाउन हो ? हुनत मैले पार्टी बिग्रेको कुरा कक्षा ३ मा पढ्दा नै थाहा पाइसकेको थिएँ किनकि म पनि पत्रपत्रिका पढ्नेदेखि रेडियो, टीभी, हजुरबुबाले छलफल गर्दा, ममीले छलफल गर्दा ध्यान दिने गर्थें । कहिलेकहीँ मलाई आमाबाबाको सम्झना र झझल्को त आउँदैन किनकि देखेपछि मात्रै झझल्को आउने हो । मैले देख्नै पाइनँ । फोटो मात्रै हो तर भैदिएको भए कस्तो हुन्थ्यो होलाजस्तो लाग्छ । पहिलापहिला सहिद, बेपत्ता परिवारलाई अभिनन्दन गर्ने गर्थे । नेताले जनता र कार्यकर्ता झुक्याउने थिए भाषणमा । मैले २०६५ साल फागुन २१ गते सहिद सप्ताह मनाउने भनेर बर्दियाको राजापुरमा सबै सहिद परिवार, बेपत्ता परिवारलाई बोलाइएको थियो । १० हजार जनता उपस्थित थिए । डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्य थियो । मैले ६ महिना पहिलेदेखि नै मेरी ममीलाई ‘ममी अबको सहिद परिवार अभिनन्दन कार्यक्राममा माला, टीका, खास्टो ओढ्न हजुरआमा र तपाईं जाने होइन, मलाई पाँच मिनेट बोल्न दिनुपर्छ भनेको थिएँ । त्यसैमुताबिक मेरी ममीले पनि बर्दिया जिल्ला पार्टी इन्चार्ज हिमाल (तिलक शर्मा) हाल प्रदेशसभा सदस्य र सेक्रेटरी कविर (दुर्गा थारू) हाल उहाँ बर्दिया नगरप्रमुख थिए । २० गते साँझ मेरी ममी पनि गुलरिया साँझ आएर २१ गते बिहान पार्टीले बुक गरेको बसमा आउनुभएको रहेछ । मेरी हजुरआमा र म खैरापुरबाट बसमा चढ्यौँ । म ममीको सिटमा बसेँ । ममीले मलाई छोरी, आज बोल्छ्यौ त ? केके बोल्छ्यौ ? भनी विभिन्न प्रश्नहरू गर्नुभएको थियो । म बोल्छु । जे बोले पनि कार्यक्रममा सुन्नुहोला भनी जबाफ दिएँ । ममीले पत्याउनुभएको रहेनछ तर मलाई विश्वास थियो । दीपज्योति बोर्डिङ स्कुल खैरापुरमा हरेक कार्यक्रममा बोल्दा म ७ कक्षाका दादाहरूलाई पनि जितेर पहिला हुने गर्थे । त्यहाँ त मलाई बोल्न के भयो र ? मेरा लागि सामान्य थियो तर बर्दिया जिल्ला पार्टी इन्चार्ज हिमाल, सेक्रेटरी कविरले ममीसँग भान्जालाई चार सय ३३ जनालाई अभिनन्दन गरी बाबुराम भट्टराई बोलेपछि बोल्न दिउँला भने । मेरी ममीले त्यतिखेर बर्दियामा एक्लै अन्तरसङ्घर्ष गरिरहनुभएको रहेछ । हामीलाई थाहा हुने कुरो भएन । यसले बच्चालाई पढाएर ल्याएको भन्ने भान भएछ । म बच्चादेखि डराएर बोल्न नदिने निर्णय गर्दा ममीले म बरु बोल्दिनँ, मेरो छोरालाई बोल्न दिएनौ भने म माइक भाँचिदिन्छु । खुरुक्क बाबुराम भट्टराईभन्दा अगाडि बोल्न दिनू भनेर चर्कोचर्को बोल्नुभएको सुनेँ । यिनीहरू मसँग किन डराए भनेजस्तो लाग्यो । पछि रामचरण थारू हजुरबुबाले नाती बाबुराम भट्टराईभन्दा अघि बोल्छ भनेपछि बाबुराम भट्टराईभन्दा अगाडि मलाई बोल्न दिने निर्णय गरे । यता बर्दिया जिल्ला पार्टीले मेरी ममी पार्टीभित्र अन्तरसङ्घर्ष लडेकै कारण यो बच्चाका बाबुआमा जनयुद्धमा सेनाले मारेको भन्ने प्रमाण पनि लेखेर दिएका थिएनन् । राज्यले त झन् दिने कुरै भएन । कानुनी रूपमा बिहेदर्ता, नाता प्रमाणित, जन्मदर्ता, मृत्युदर्ता खोज्ने भयो । कुनै आधार पनि मेरी ममीसँग थिएन । पछि मैले मञ्चमा गएर बोल्न सुरु गरेँ । सबैलाई सम्बोधन गरी म को हुँ, के हुँ, मेरी आमा शशीकला शर्मा अधिकारी र बाबा डा. छविलाल आचार्य हो अरे तर मलाई थाहा छैन म कसको छोरा हुँ ? मलाई परिचय चाहियो भनेँ । मेरा आमाबाबालाई सेनाले बीभत्स तरिकाले हत्या ग¥यो रे तर मलाई थाहा छैन ! सहिदको अर्थ के हो ? मैले नबुझेको हो कि पार्टीले ? हाम्रा मान्छे किन मरे ? पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा सहिद–बेपत्ता परिवारलाई एकएक लाख दिने भन्ने थियो तर पैसा बुझ्न जाने बेला मृतक भनेर हस्ताक्षर गर्नुप¥यो भने । त्यो कसरी सहिद भयो ? अहिले भाषण गर्दैमा, माला, फूल, अबिर र खास्टो ओढ्दैमा हामी सहिद परिवार हुँदैनौँ । कानुनी रूपमा लड्नुप¥यो । क्रान्ति धरापमा छ । खबरदार सबै सहिद परिवारहरू ! भन्दै भ्रममा नपर्न आग्रह गरेँ । हाम्रा अभिभावक को ? हामीलाई पार्टीले हे¥यो भने हामीले पनि पार्टीलाई पछि ठूलो भएपछि हेर्नुपर्ला । नत्र भने पार्टीको विरोधमा हामी नलागे को लाग्ने भनेर ५ मिनेट सानो फुच्चे केटो मञ्चमा बोलेपछि त्यहाँ उपस्थित जनसमुदाय सबै भावविह्वल भएर स्तब्ध भए तर मलाई गौरव लाग्यो । २–४ दिन, रेडीयो टेलिभिजन र पत्रपत्रिकामा दियौँ । एउटा तरङ्ग ल्यायो ।

उता मेरो बाबा झापा हडिया बुधबारे वडा नं. ९ बस्ने मधुसूदन आचार्यको छोरा डा. छविलाल आचार्य, आफ्नी आमा सानैमा मरेपछि हजुरबुबाले अको बिहे गरेर अर्कीतिर २ छोरा १ छोरी रहेछन् । मेरो बाबाका एकजना भाइको सानैमा मृत्यु भएको रहेछ १७–१८ वर्षको उमेरमा । घरतिरकाले बिहे नै भएको होइन भन्नुप¥यो भनेर भनेछन् । सायद मलाई अंश दिनुपर्छ भनेर होला । पछि सहिद–बेपत्ता परिवारले पाउने १–१ लाख रुपैयाँ भनेपछि मेरो बाबाआमाको मृत्युदर्ता, नाता प्रमाणित मेरो जन्मदर्ता गराएका रहेछन्– मितितिथि नमिले पनि अनुमानका भरमा । पैसाको कारण नाता जोडिएछ तर त्यो गुपचुप राखेका रहेछन् । त्यो नागरिकता बनाउन जाँदा थाहा भयो । तत्कालीन झापाको सहायक प्रजिअ योगेन्द्र दुलाल विवेकशील हुनुहुँदो रहेछ । धर्मशीला आमाको सहयोगमा योगेन्द्र दुलालले ममीलाई फोन गरी झापा बोलाई झापा हडिया बुधबारे वडा नं. ९ बस्ने छविलाल आचार्य र शशीकला शर्मा अधिकारीको द्वन्द्वका क्रममा मृत्यु भएको र उहाँहरूको कानुनी हकदार एक मात्र छोरा सरोज आचार्य भएको बेहोरा जानकारी गराइन्छ भन्ने एक पत्र तयार गरी मेरी ममी संरक्षक रहेको र मेरो नाममा नेपाल राष्ट्रिय वाणिज्य बैङ्कको खाता खोली ममीले घर खोज्दा विराटनगर पुग्नुभएको, उनीहरू डरले झापाको सुन बेची पित्तल किनेझैँ मोरङ विराटनगर छौँ भनेका रहेछन् तर गोठगाउँमा गएर बसेका रहेछन् । फोन गर्दा ममीको साथी डीएसपी सशस्त्र प्रहरी बलका जहरसिंह बुढालाई फेरि साँझ त्यहीँ बसी भोलिपल्ट बाइकमा विराटनगरबाट घरमा पुग्दा हजुरबुबा गम्भीर बिरामी हुनुहुँदोरहेछ । त्यसपछि मुख हेर्न भनेर ममीले स्कुलमा प्रिन्सिपल सरलाई फोन नगरी पोखराबाट काँकडभिट्टा जाने बसमा चढेर गोठगाउँ झरे । ममी र देवु दिदी (फुपू) बाटोमा पर्खिरहनुभएको रहेछ । घरमा गएको हजुरबुबा मान्छे चिन्न नसक्ने गम्भीर अवस्थामा हुनुहँुदो रहेछ । मलाई समातेर रुनुभयो । राम्रोसँग पढ भन्नुभयो । सानिमासँगै बस भनेर भन्दै हुनुहुन्थ्यो । मेरी ममीलाई उपचार गरिदेऊ । मलाई सन्चो हुन्छ पनि भन्नुभयो सानिमासँगै बस भन्दै हुनुहुन्थ्यो । वृद्ध मान्छे, सुगरको रोगी, दिसापिसाब गर्न पनि नसक्ने अवस्थामा, जिउभरि घाउ नै घाउ, खाने कुरामा अझै चिनी राखेर रोटी पकाएर खुवाउँथे । छलफल गर्दै जाँदा ममीले मेरा नाममा बैङ्क खाता खोलेको थहा पाएपछि हजुरआमा र फुपू दिदी रुँदै पैसाका आँसु निकालेर तेरा दिदीभिनाजुले खाएको ऋण तिर, हामले के खाने ? भनेर ममीलाई भन्दै थिए । ममी पनि के कम ? मेरी दिदीसँग बिहे पार्टीभित्र कञ्चनपुरमा भएको हो २०५५ सालमा घरमा त केही खाएनन्, बसेनन् । कहिलेकहीँ आउँदा खाना खाए होलान् बिहे गरेबापत जरिबाना भिनाजुले कति खर्च गर्नुभयो लौ भन, त्यो तिम्रो पैसा साँवाब्याज दिन्छु भन्दा रुँदै एकपटक अलैँची बेचेर सात हजार लग्यो । एकपटक भैँसी बेचेर पाँच हजर लग्यो भनेर हजुरआमाले भनेपछि मेरी ममीले आफ्ना आमाबुबाले छोराछोरीमाथि जति लगानी गरे पनि देख्दैनन् । तिमीहरू सौताने नाल भएर १२ हजार ठूलो भन्यौ । त्योभन्दा कैयौँ बढी पैसा मेरो घरबाट तिम्रो घरमा गएको छ । बरु उल्टो सावा+ब्याज मलाई फिर्ता गर भनेपछि एकछिन राम्रै जुहारी चल्यो । ममीले हाँस्दै पैसाको आँसु पछि झारौँला । बुधबारे त होटेलमा खाना खाएर आइन्थ्यो । भोक लाग्यो । यहाँ त होटल पनि रैनछ । खाना खाऊँ । पछि रोउँला भनेपछि खाना खाने तरखर गर्न थाले । म भने कम्प्युटर भएको कोठामा बसेर चाल नपाएको जस्तो गरी कम्प्युटर खेलाइरहेका थिए मनमनै मेरो बाबालाई यो घरमा कति दुःख भयो होला । त्यसै सानैदेखि घर छोड्नुभएको होइन रहेछ । फेरि भाँडा माझेर पढेँ भन्नुहुन्थ्यो रे । कसरी विद्यावारिधि गर्नुभयो होला भनी सम्झेर नबुझे जस्तो गरी खाना खान गए ।

जब म १६ वर्षको पुगेँ । मेरो नागरिकता बनाउने कुरो भयो । ममीले आमाको नामबाट नागरिकता निकाल्न मिल्छ भनेर बर्दियाबाट मेरी आमा शशीकला शर्मा अधिकारीको नामबाट नागरिकता निकाल्न कोसिस गर्नुभयो । वडाको सिफारिस मेरो कक्षा १० को प्रमाणपत्र, आफू संरक्षक भएको कागजपत्र र झापाको प्रजिअ कार्यालयले लेखेको एउटा पत्र लिएर निकै कोसिस गर्दा पनि आमाको नामबाट नागरिकता निकाल्न सक्नुभएन । उल्टै बर्दियाको सहायक प्रजिअ गन्जबहादुर एम.सी. (रोल्पा घर भएका) ले आमा ज्युँदै भए हुने थियो । फेरि बाबाको नामबाट नागरिकता दिऊँ भने सरोजको बाबा नेपाली भन्ने के छ प्रमाण भन्न पुगेँ । बरु मेडम हजुरले धर्मछोरो बनाएर नागरिकता निकाल्नुस् भनेर उल्टै सुझाव दिएजस्तो गरे । ममीले अहिले क्रान्ति सकिएको छैन, हामी निरन्तर लडिरहेका छौँ । एक दिन हामीले जितेपछि सहिदको अर्थ र महत्व छुट्टै हुन्छ । मैले चोरेको छोरो पनि हैन, भेट्टाएको पनि हैन । यो त मेरो सहोदर दिदीबाट क्रान्तिमा जन्मिएको छोरा हो । पछि मैले मेरो छोरालाई राष्ट्रको सक्षम नागरिक बनाउनु छ । फोटो आफैँ बोल्छ भनेझैँ प्रचण्ड÷बाबुरामले क्रान्तिमा गद्दारी गरे पनि विप्लवले नेतृत्व गरेको कम्युनिस्ट पार्टीको झन्डा अगाडि बढ्दैछ । नेपालमा चोरडाँकाहरूले, भारतीयहरूले पैसाको भरमा नागरिकता सहजै पाउँछन् । हामीजस्तो देशका लागि लड्नेभिड्ने असल सपूतका छोराछोरीले नागरिकता पाउन यति गाह्रो भन्दै प्रजिअ नारायणप्रसाद भट्टराईसँग भन्नुभयो । नारायण प्र. भट्टराईको साथी मोरङको प्रजिअ हुनुहँुदो रहेछ देवकलाजी भनेर सहायकले भनेपछि मलाई अलि गाह्रो प¥यो । पूर्व जानुस्, मोरङमा भए मेरो साथी रामप्रसाद आचार्यले गरीदिनुहुन्छ । झापामा भए प्रजिअ विष्णुबहादुर थापाको साथी हजुरलाई अप्ठ्यारो पर्दैन भन्नुभयो । ममीले पत्रकार सम्मेलन गरेर हङ्गामा मच्चाएर, राजनीतिक निर्णयबाट पनि छोरी तिम्रो नागरिकता बर्दियाबाट निकाल्न सक्ने थिए । तर समय धेरै लाग्छ, पढाइ बिग्रिन्छ । तिमीले २०६५ सालमा भाषण गरेको खै अहिले के भयो ? पूर्व पुगेर त्यहीँ घर गएर नागरिकता निकालौँ । तिम्रो कान्छो अङ्कल उपेन्द्र अलि विवेकशील हुनुहुन्छ भनेपछि हामी तुरुन्त माघ ७ गते गोठगाउँ मोरङ पुगियो । ८ गते बिहानै सुन्दरहरैँचा न.पा.को उद्योग व्यापार सङ्गठनको अध्यक्ष नवराज चापागाईंलाई भेट्न बोलाउँदा ३ बजे आउनुस् भनेपछि हैन सर ३ बजे छोराको नागरिकता बनाइसकिन्छ । घरका मान्छे जस्ता भए पनि भेट्ने कर्तव्य तपाईंहरूको हो । तिनीहरू आज हाम्रा मान्छेको रगतको आहालमा होली खेल्दै मोज बढेको छ । तुरुन्त आउने भए आउनुस्, नआउने भए ठिकै छ भनेपछि नवराजसँग अर्को एकजना आउनुभयो । बन्ने भए पनि नबन्ने जस्तो गरी बाबुको नागरिकता इलाममा गएर बनाउनुपर्छ भनेपछि हजुरले नजानेपछि नबोल्नु (२०६६ पछि पार्टीमा हर्ताकर्ता भएमा) नवराजलाई– हजुर खुरुक्क जानुस् भनेपछि ऊ नबोली गयो । पछि उपेन्द्र अङ्कल, अन्टी, ममी भएर बैनी त्यो दिन माघ ८ गते सरस्वती पूजाको दिन विद्यालयमा भर्ना गरी हामी वडा नं. ७ को कार्यालय पुग्यौँ । झापाको बसाइँसराइको कागज बुझिने थियो तर त्यहाँको वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाले बुझिएन, नगरपालिकाबाट अर्को लेखाएर ल्याउनू भन्यो । नगरपालिका जाँदा बुझिन्छ त के बुझिएन भनेर वडा अध्यक्षलाई फोन गर्दा अलिअलि क¥याङकुरुङ लेखेर पठाउनुस् न भन्यो । एक बजिसक्यो । अब सीडीओ काम पनि हुँदैन भन्दै नाक खुम्च्याउँदै थियो । ममीले सीडीओ को नं. दिनुस् भन्दा सार्वजनिक नै पनि छैन भन्यो । ममीले तुरुन्तै सावित्री काफ्लेलाई फोन नं सीडीओ रामप्रसाद आचार्यको निजी नम्बर माग्नुभयो र कुरागर्नु भयो । उहाँले देवकलाजी, हजूर पौने ४ सम्म पुनुभयो भने काम बन्छ भनेपछि वडा अध्यक्ष लाजले बाहिर निस्किए । त्यहाँको वडा सचिव गोपालप्रसाद ढुङ्गेल सर धेरै राम्रो र विवेकशील हुनुहुँदो रहेछ । ममीले सर, यस्ता जनप्रतिनिधिसँग बसेर काम गर्न कत्तिको सहज छ भनी सोध्दा मेडम आफैँ मूल्याङ्कन गर्नुस् न । हामीलाई कति सजिलो, कति अप्ठ्यारो भन्दै छिटोछिटो काम सकिदिनुभयो र एउटा निजी मोटर पनि २५०० मा मिलाइदिएर ठूलो सहयोग गर्नुभयो । विराटनगर जिल्ला प्रशासन कार्यालयमा पुग्दा चन्द्रप्रसाद गुरागाईंले पर्खिराख्नुभएको रहेछ । उहाँले नागरिकता बनाउन सहयोग गर्नुभयो । ममी भने आईएमईमा पैसा निकाल्न जानुभयो । मलाई पनि केही थाहा थिएन । हतारहतार नागरिकता त बन्यो तर मेरी आमा शशीकलाको नाम लेख्न छुटेछ । ममीले हेरेपछि पो बल्ल थाहा भयो । नभन्दै त्यही दिन ४ नबज्दै झापा फर्कियौँ । अर्को दिन मेरो राहदानी बनाउने भन्ने थियो । झापाका प्रजिअ रामप्रसाद आचार्य र गोपालप्रसाद ढुङ्गेल सरले बसाइँसराइ गराएर बर्दिया लगेपछि उहीँबाट बनाउँदा सजिलो होला भनेपछि बसाइँसराइको कागज बनाएर ल्याइयो । एकएकै हातै काम गर्नुपर्ने । कञ्चनपुरमा जन्मिएर पनि झापाको जन्मदर्ता, बर्दियामा हुर्के पनि मोरङबाट बर्दिया बसाइँसराइ बनाउनुपर्ने । अहिले कस्तो कानुन भन्ने लाग्यो ।

संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाउँदा मेरा आमाबाबालाई मा¥यो । त्यही व्यवस्था सदृढ र विस्तार गर्ने बेला मेरी ममी देवकला अधिकारीलाई ७० दिन हिरासतमा राख्यो र चुनावको नाटक मञ्चन गरियो । तीनवटै चुनावको प्रक्रिया पु¥याएर राज्य अहिले क्रूर दमनमा उत्रिएको छ । पहिले तलबाट पेल्यो, अहिले माथिबाट पेल्दैछ । घरका तीनतीनजना मान्छे सहिद भएका प्रकाण्डजस्ता व्यक्तिलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउँदै सर्वोच्चको आदेश पनि नमानी कयौँ जिल्ला घुमायो । गोरखा जेलबे्रक गर्ने उमा भुजेललगायत पोलिटब्युरो र केन्द्रीय सदस्यहरूलाई आज फेरि त्यही व्यवस्थाले गिरफ्तार गरी थुप्रै नेता–कार्यकर्तालाई दमनमा उत्रिएको छ । शिक्षा राज्यको दायित्व भन्ने सरकारले सानासाना बालबच्चाले खाने खाजा पनि कटौती गरेको छ । उता नेपाली भूमि कालापानीलगायत भूगोल गुमाएको नक्सा निकाल्दा सरकार र नापी विभागविरुद्ध आवाज उठाउनुपर्दा लज्जाबोध भएको छ । राष्ट्रवादी जामा लगाएर भोट जितेका केपी र एमालेमा विलय भएका पीकेले लाजै नमानी आफ्नो सीमा र क्षेत्रीय अखण्डताविपरीत सार्वभौमिकतामा आँच आउने गरी सरकारले कुन आधारमा उक्त नक्सा प्रकाशित ग¥यो, अनुसन्धानको विषय बनेको छ ।

हजारौँ सहिदको बलिदान, घाइते–अपाङ्ग, सैयौँ बेपत्ता योद्धा र लाखौँ जनताको गौरवपूर्ण इतिहास बोकेको महान् १० बर्से जनयुद्धले स्थिापित गरेका मूल्य, मान्यता र बहादुरीको कीर्तिमानलाई विश्वसामु कहिल्यै नझुक्ने चिनारी र पुरानो दलाल सत्ताले लादेका सबैखाले उत्पीडनलाई अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्ताका लागि फेरि एकपटक सम्पूर्ण नेपाली जनता जरुक्क उठ्नुपर्ने भएको छ । महासचिव क. विप्लवले १० वर्षको जनयुद्धबाट पाठ सिकेर सहिद, बेपत्ता र पूर्णकालीन सदस्यका परिवारको भविष्यका बारेमा राम्ररी स्पष्ट खाका कोर्दै अगाडि बढ्नुपर्ने हुन्छ । दलाल सत्ताको आँखाको कसिङ्गर भए पनि सर्वहारा वर्ग, नेपाल र नेपालीको चम्किलो आँखाको नानी बन्नुपर्ने हन्छ । कठोर परिस्थितिसँग जुध्दै र भिड्दै जाँदा प्रचण्डले जस्तो धोका नदिनुहोला । निरन्तर क्रान्तिमा अगाडि बढे हाम्रो पनि साथ र सहयोग निरन्तर मिल्नेछ ।

संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाउँदा मेरा आमाबाबालाई मा¥यो । त्यही व्यवस्था सदृढ र विस्तार गर्ने बेला मेरी ममी देवकला अधिकारीलाई ७० दिन हिरासतमा राख्यो र चुनावको नाटक मञ्चन गरियो । तीनवटै चुनावको प्रक्रिया पु¥याएर राज्य अहिले क्रूर दमनमा उत्रिएको छ । पहिले तलबाट पेल्यो, अहिले माथिबाट पेल्दैछ । घरका तीनतीनजना मान्छे सहिद भएका प्रकाण्डजस्ता व्यक्तिलाई गिरफ्तार गरी झूट्टा मुद्दा लगाउँदै सर्वोच्चको आदेश पनि नमानी कयौँ जिल्ला घुमायो । गोरखा जेलबे्रक गर्ने उमा भुजेललगायत पोलिटब्युरो र केन्द्रीय सदस्यहरूलाई आज फेरि त्यही व्यवस्थाले गिरफ्तार गरी थुप्रै नेता–कार्यकर्तालाई दमनमा उत्रिएको छ ।

२०७५ पुस ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :