वैज्ञानिक समाजवाद स्थापना गर्न वस्तुगत आधार तयार : सुदर्शन


काठमाडाैँ :  नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वर्तमान संसदीय व्यवस्थाको विकल्पमा नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना अनिवार्य भएको बताएका छन् । उनले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने माध्यम भनेको एकीकृत जनक्रान्ति हो ।’

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको नवौँ पूर्ण बैठकमा प्रमुख अतिथिका रूपमा उपस्थित नेता सुदर्शनले वैज्ञानिक समाजवादी ब्यवस्था नै जनताको उत्तम व्यवस्था भएको बताए । उनले भने, ‘जनताकोे व्यवस्था स्थापना गर्नका लागि वस्तुगत आधार तयार हुँदै गएको छ ।’ नेता सुदर्शनले यो अवस्थामा क्रान्तिकारीहरूको आत्मगत स्थिति तयार हुनुपर्ने धारणा व्यक्त गरे । आफ्नो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा कार्यान्वयन गर्ने विषयमा महिलाहरूको भूमिका महत्वपूर्ण हुने सुदर्शनको भनाइ छ ।

सङ्घकी अध्यक्ष बन्धु चन्दले बैठकमा समसामयिक प्रस्तावहरु प्रस्तुत गरेकी थिइन् । बैठकमा नेकपाका पीबीएम रहेका जवस इन्चार्ज जीवन्त, केन्द्रीय सदस्यहरु आधार, असललगायतको उपस्थिति थियो । बैठकले महिला हिंसाविरुद्ध चार महिना सङ्घर्ष गर्ने, सङ्गठन सुदृढ तथा विस्तार अभियान सञ्चालन गर्ने, ८ मार्च केन्द्रीकृत कार्यक्रम गरी भव्यताका साथ सम्पन गर्ने, महिलासम्बन्धी दिवसहरू मनाउने, सङ्गठनको प्रशिक्षण सञ्चालन गर्ने र देशव्यापी अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यसैबीच, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी काठमाडौँको दसौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनमा सङ्गठनकी अध्यक्ष बन्धु चन्द, नेकपाका केन्द्रीय सदस्य आजाद, सङ्गठनकी महासचिव धीरेन्द्रा उपाध्याय, उपत्यका ब्युरो संयोजक राजकुमारी शाहीलगायत केन्द्रीय सदस्य र जवस मोर्चाका प्रतिनिधि उपस्थित थिए । सम्मेलनले गौरा धामीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । यसैगरी भक्तपुरको दोस्रो जिल्ला सम्मेलन मङ्सिर २९ गते सम्पन्न भएको छ । सम्मेलनले बिन्दु कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

२०७५ पुस ५ गते बिहीबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :