सहिद मनोजको हत्या गरिएको स्थानमा पुग्यो नेकपा

गुल्मी : नेकपाले देशैभर अभियान सञ्चालन गरिरहेको बेला नेकपा गुल्मी अभियानकै क्रममा सहिद मनबहादुर तरामु मगर (मनोज)को हत्या गरिएको स्थानमा पुगेर उहाँको स्मरण गरेको छ । गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ को सत्यवतीमा पुगेर सहिद मनोजलाई स्मरण गरेको हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत रहेको क्षितिज परिवार लुम्बिनी ब्युरोका कलाकार टिम सहित उक्त स्थानमा पुगेको हो ।

गुल्मीका इन्चार्ज प्रविन, सेक्रेटरी खिम खड्का, जिल्ला जनसरकार प्रमुख प्रशान्त, अखिल नेपाल लेखक सङ्घका महासचिव एवं महासङ्घ लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगर, क्षितिज परिवारका संयोजक संयोग, सहसंयोजक आत्मा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विकल्प लगायत झण्डै ३ दर्जन नेकपाका नेता कार्यकर्ताहरु उक्त स्थानमा पुगेका थिए ।

घटनास्थलको अवलोकनपछि जिल्ला इन्चार्ज प्रविनले जनयुद्धको क्रममा सहादत प्राप्त गरेका महान सहिदहरुको सपना पुरा नभएको भन्दै ती महान सहिद, बेपत्ता तथा घाइते योद्धाहरुको सपना पुरा गर्नका लागी पार्टीले नयाँ क्रान्ति अगाडी बढाएको बताए । प्रचण्ड बाबुरामको गद्दारीका कारण जनयुद्ध सम्झौतामा टुङ्ग्याइएको बताउँदै उनले सहिदप्रति गरिएको अपमान सहन नसकिने बताए । गुल्मेली सहिदहरुको स्मरण गर्दै जिल्ला सेक्रेटरी खिम खड्काले सहिदहरुप्रति गरिएको अपमान र प्रतिक्रान्ति विरुद्ध पार्टीले सङ्घर्ष अगाडी बढाएको बताए ।

२०६० साल बैशाख २८ गते गुल्मीको सत्यवतीमा तत्कालीन शाही सेनाले घेरा हालेर क्रुरतापूर्वक मनवहादुर तरामु मगर (मनोज) लाई हत्या गरेको थियो । मनोज तत्कालीन माओवादी जनयुद्धका होनहार योद्धा र कलाकार थिए ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :