दुर्घटनामा परी ज्यान गुमाउनेप्रति नेकपाद्वारा दुःख व्यक्त

नुवाकोट : नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका, वडा नं १, घ्याङफेदीमा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति नेपाल कम्युनिस्ट पार्टी पश्चिमताम्सालिङ ब्युरोले दुःख व्यक्त गरेको छ । नेकपा पश्चिमताम्सालिङ ब्युरो इन्चार्ज आधारले मङ्गलबार प्रेसविज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेका हुन् । उक्त दुर्घटनामा परी नेकपाका नेता–कार्यकर्ता रिवल तामाङ, मङ्गले तामाङ, कृष्ण तामाङ, छोङसोनाम तामाङ, सुकराम तामाङसहित सर्वसाधारणको ठूलो सङ्ख्यामा मृत्यु भएको घटनाप्रति नेता आधारले गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र–स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले राज्यको गलत नीतिका कारण जनताले अनेक दुःख भोगिरहेको उल्लेख गरेका छन् । दलाल सत्ताद्वारा पालितपोषित ठेकेदारहरूले अधिकांश ग्रामीण भेगका डाँडाकाँडामा डोजरआतङ्क मच्चाउँदैै बनाएको कच्ची बाटोका कारण अकारणमै ज्यान गुमाउनुपरिरहेको पनि उनले बताएका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘पैसा कमाउने होडमा ठेकेदारहरूसित स्थानीय जनप्रतिनिधिहरू पनि निर्लिप्त रहेको कुरामा कुनै शङ्का छैन । तसर्थ ग्रामीण भूभागमा रहेका बाटाहरूको स्तरोन्नति गर्न, त्यसक्रममा मृत्यु भएका नागरिकको परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरूको उपचारमा गम्भीर हुन हामी यसै प्रेसविज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई विशेष आग्रह गर्दछौँ ।’
यसैबीच, नेकपा नुवाकोटका सेक्रेटरी बिन्तोसले पनि प्रेसविज्ञप्ति जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतक परिवारलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :