नेकपाको ‘अभियान–टु’ : लुम्बिनीमा ‘क्षितिज परिवार’ जनताका गीत गाउँदै

बुटवल : संसदीय व्यवस्थाका विरुद्ध सङ्घर्ष गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लुम्बिनी व्युरोमा ‘संगठन सुदृढ तथा विस्तार अभियान–२’ चलाइरहेको छ । पूर्व घोषित चार महिने अभियान सम्पन्न गरि मंसिर ८ गते काठमाडौँमा विशाल जनसभा सम्पन्न गरेर नेकपाले ‘अभियान टु’ सञ्चालन गरेको हो ।
अभियानका क्रममा लुम्बिनी व्युरोमा सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान तीव्र रुपमा अगाडी बढिरहेको उक्त पार्टीले बताएको छ । लुम्बिनीका ७ वटा जिल्ला तथा चुरे क्षेत्रसहित सबै ठाउँमा अभियान चलिरहेको सम्बन्धित जिल्लाहरुले जानकारी दिएका छन् । नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा र पहाडको चुरे क्षेत्रमा पार्टी सदस्यता, नविकरण, सेल समिति गठन, जबस मोर्चाहरुको भेला, बैठक, सहिद परिवार भेटघाट तथा जनश्रमदान लगायतका कामहरु अभियानात्मक ढंगले चलेको लुम्बिनी ब्युरो सदस्य संगम पुनले बताए ।


क्षितिज जनसङ्गीत अभियान तीव्र
नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी ब्युरोअन्तर्गत रहेको अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत रहेको क्षितिज परिवारले गाउँगाउँमा जनताका घरदैलोमा पुगेर जनवादी गीत तथा नाँचहरु प्रस्तुत गरिरहेको छ । अभियान अन्तर्गत गुल्मीका दर्जनौं स्थानहरुमा क्षितिज परिवारले बेजोड सांगितिक प्र्रस्तुति देखाएको छ ।

क्षितिज परिवारको सांस्कृतिक कार्यक्रममा जनताको अपार सहभागिता रहेको छ । मङ्सिर २१ गते तम्घासदेखि सुरु भएको अभियान पिपलधारा, धुर्कोटको धुर, मालिका गाउँपालिकाको दर्लिङ्ग, मुसीकोट गाउँपालिकाको पौदीअम्राई, चन्द्रकोट गापाको पिपलपाटा, सत्यवती गाउँपालिकाको खैरेनी र अस्लेवा, ठूलो लुम्पेकलगायतका ठाउँहरुमा झण्डै ५ हजारभन्दा धेरै जनताको वीचमा अभियान सञ्चालन गरेको जिल्ला सेक्रेटरी खिम खड्काले जानकारी दिए ।

गुल्मेली क्रान्तिकारी जनताको पक्षमा पार्टीले अभियान सञ्चालन गरेको बताउँदै जिल्ला इन्चार्ज प्रविनले एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशामार्फत श्रमजीवी वर्गको सत्ता स्थापना गर्ने बताए । राजनीतिक अभियानसँगै समाजवादी संस्कृतिको पक्षमा क्रान्तिकारी गीत तथा नाँचहरु प्रस्तुत गरिएको अखिल नेपाल जनसांस्कृतिक महासङ्घका लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले बताए ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :