बझाङमा नेकपाको विशाल जनसभा

  

बझाङ : नेपाल कम्युनिस्ट पार्टी बझाङ जिल्लाको आयोजनामा मङ्गलबार विशाल जनसभा तथा बृहत सास्कृतिक कार्यक्रम सदरमुकाम चैनपुरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पार्टीका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले केपी–प्रचण्ड कम्युनिस्टको त कुरै छोडौँ सामान्य वामपन्थी पनि नरहेको जिकिर गरे । देशका प्राकृतिक श्रोत विदेशीको हातमा बेच्ने, एनजीओ आइएनजिओको फाउन्डर र सञ्चालक हुने, निजी कम्पनी र संस्थाका मालिक हुने, शिक्षा, स्वास्थ्यलाई निजीकरण गर्ने, राष्ट्रघाती र जनघाति काम गर्ने कम्युनिस्ट हुन पुगेको नेता पुनको भनाई थियो ।

सभालाई पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्का, दलित मुक्ति मोर्चाका सेती महाकाली संयोजक बिरु तिरुवा, अखिल क्रान्तिकारीका सेती संयोजक लोकेन्द्र सार्की, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पार्वती सिंह, सेतीब्युरो न्याय विभागका प्रमुख अमर, ट्रेड युनियन महासङ्घ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लोकबहादुर पल्लिमगर, पुर्व जिल्ला इन्चार्ज लक्ष्मण खड्का, महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य सर्मिला थापालगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम भन्दा पहिले बाजागाजा सहित हजारौँ जनताको जुलुसले नगरपरिक्रमा गरेकोे थियोे । कार्यक्रममा सामना र स्थानीय कलाकारले आफ्ना प्रस्तुति प्रदर्शन गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सिद्धराज थापा लगायत काङ्ग्रेसबाट समेत गरि दुई दर्जनले पार्टी प्रवेश गरेका छन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण जनमुखी र बझाङ एफएम लगायतले गरेका थिए ।


सामना परिवारका उदियमान प्रतिभा आरोह नेपालीको सञ्चालन, पार्टी जिल्ला इन्चार्ज लक्ष्मण बुढाको अध्यक्षता र जिल्ला सचिव भरत मल्लले स्वागत राखेको थियो ।

२०७५ पुस ४ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :