मधेसी राष्ट्रिय मुक्ति मोर्चा झापामा मनोज ताजपुरिया

झापा ः नेपाल कम्युनिस्ट पार्टी निकट मधेसी राष्ट्रिय मुक्ति मोर्चा ( क्रान्तिकारी) को झापा जिल्ला भेला सम्पन्न भएको छ । मङ्गलबार आयोजित जिल्ला भेलाले मनोज ताजपुरियाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
भेलामा मोर्चाका केन्द्रीय अध्यक्ष एवम् पार्टीका केन्द्रीय सदस्य देवनारायण शाह, नेकपा झापा जिल्ला इन्चार्ज सौगातलगायतको उपस्थिति थियो । मोर्चाका अध्यक्ष शाहले एकीकृत जनक्रान्तिको माध्यमद्वारा स्थापित गरिने वैज्ञानिक समाजवादी सत्ताले मात्र मधेसीको मुक्ति सम्भव हुने बताए । त्यसका लागि मधेसीहरू क्रान्तिमा सहभागी हुन ढिला गर्न नहुने उनले बताए ।
भेलामा झापा इन्चार्ज सौगातले मधेसी जनताको मुक्तिका लागि विभिन्न समयमा आन्दोलनहरू भए पनि विगतका नेताहरूले धोका दिएकाले त्यो सफल नभएको र वैज्ञानिक समाजवादी सत्ताले मधेसी जनताको अधिकार स्थापित गराउने बताए । भेलाको अध्यक्षता चमनलाल माझीले गरेका थिए भने सञ्चालन कुमार मैनालीले गरेका थिए ।

२०७५ पुस ३ गते मंगलबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :