महिला हिंसा, बलात्कारका घटना र ‘मि टु’ अभियान


मातृसत्ताको पतन महिलाहरूका लागि विश्वमा ऐतिहासिक स्तरको पराजय थियो ।
– फ्रेडरिस एङ्गेल्स
पुँजीवादी प्रणालीले महिला वर्गको व्यापक समुदायलाई पतीत पार्छ र दमन गर्छ । त्यसपछि यसले नारी जातिमा असन्तोष र त्रास उत्पन्न गराउँछ र त्यसको माध्यमबाट असीमित बिक्री र नाफाका लहरहरू जन्माउँछ ।
– एभलिन रिड
इतिहासको अलिकति पनि ज्ञान भएको जोकसैलाई पनि थाहा हुनुपर्दछ– महान् सामाजिक परिवर्तनहरू महिला विद्रोहबिना असम्भव हुन्छ ।
– कार्ल माक्र्स
संसारमा चल्ने हरेक प्रकारका आन्दोलनहरूमध्ये महत्वपूर्ण आन्दोलन हो महिला आन्दोलन । जतिबेलादेखि मानवसभ्यताका वाहकका रूपमा रहेका महिला र पुरुषमध्ये महिलाहरू समाज निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका हुँदाहुँदै पनि पुरुषभन्दा आफूलाई उत्पीडित दमित र अधिकारविहीन भएको महसुस गर्न थाले त्यतिबेलादेखि नै महिलाहरूले आफू र आफ्नो समुदायका बारेमा कुरा उठाउन थालेको पाइन्छ । राज्य, समाज, संस्कार संस्कृति, सम्पत्ति, सन्तान, आफ्नो स्वाभिमानजस्ता विषयहरूमा महिलामाथि गरिएको विभेदलाई उजागर गर्ने मात्र होइन, त्यसको समाधानसमेत कसरी गर्न सकिन्छ भनेर भएका बहस छलफल र सङ्घर्षले सङ्गठित असङ्गठित रूपमा एउटा ठूलो आन्दोलनको रूप ग्रहण गर्न पुग्यो जुन महिला आन्दोलनको रूपमा निरन्तर चलिरहेको छ । महिला आन्दोलनका विविध पाटा र पक्षहरू छन् ।

त्यसक्रममा महिलाबारेमा धेरै कोणबाट बहस चल्ने गरेका छन् । महिला के हो ? वर्ग, लिङ्ग, जात वा समुदाय ? के प्राकृतिक रूपमै महिलाहरू पुरुषभन्दा कमजोर छन् ? महिलामाथि विभेदको कारण के हो ? के महिलाहरू आफैँमा स्वतन्त्र छन् ? छैनन् भने उनलाई बन्धनमा पार्ने तत्वहरू केके हुन् ? राज्यसत्ता र महिलासम्बन्धी अहिलेसम्मका अवधारणाहरूले किन महिला र पुरुषमा समानता ल्याउन सकेको छैन ? अझै बारम्बार महिलामाथि हुने हिंसाका घटनाहरू किन बढिरहेका छन् र किन हुन्छ महिला हिंसा ? महिला हिंसामा पनि अत्यन्त अमानवीय र जघन्य रूपमा हुने बलात्कार र हत्याका घटनाले मानव सभ्यतालाई नै चुनौती दिँदै छैन र ? महिला हिंसाको मुख्य कारण पुरुष हो वा पितृसत्ता ? आदि ।

लामो समयदेखि महिलासम्बन्धी विभिन्न विषयमा बहस र आन्दोलनहरू भइरहेका छन् । यसक्रममा कहिले कुन मुद्दा प्रधान बन्छ त कहिले कुन । पछिल्लो समयमा महिला हिंसाविरोधी आन्दोलन संसारभर चलिरहेको छ र यो मुद्दा नेपालमा पनि विगत केही वर्षदेखि चर्चाको शिखरमा छ । महिला हिंसा महिलामाथि हुने उत्पीडन र दमनको चरम रूप हो । सामान्यतः हिंसा भन्नाले शारीरिक यातना वा कुटपिट काटमार हत्यासम्मका घटनालाई बुझिन्छ । समाज विकास, मान्छेको चेतना र सामाजिक मूल्यमान्यतामा आएको परिवर्तनसँगै हिंसाको परिभाषा पनि फराकिलो हुँदै आएको छ । हिंजो कसैले महिलालाई प्रत्यक्ष शारीरिक यातना दियो, कुटपिट ग¥यो वा हत्या ग¥यो भने महिलामाथि हिंसा भयो भनिथ्यो भने आजभोलि कसैले गलत नियतका साथ शारीरिक स्पर्श ग¥यो वा अनैतिक आचरणका साथ महिलामाथि कटाक्ष ग¥यो भने पनि त्यो महिला हिंसा मानिन्छ । परिभाषा र घटना प्रकृतिको तहसम्म यो कुरा सही छ । तर हरेक मानिसले उठाउनुपर्ने प्रश्न के हो भने किन हुन्छ वा गरिन्छ महिला हिंसा ? यसमा को जिम्मेवार छ ? स्वयम् महिला, पुरुष, समाज, राज्यव्यवस्था वा अरू कुनै ? गाउँ, सहर, टोल, छिमेक, घरपरिवार चियापसल वा अन्तरक्रियाहरूमा यी प्रश्नहरू उठे भने सबैको पहिलो उत्तर हुन्छ महिला हिंसा गलत हो । यो हुनु हुँदैन वा गर्नु हुँदैन । यतिसम्म सबैको उत्तर सही र एउटै हुन्छ । तर जब यसमा दोषी को भन्ने प्रश्न आउँछ, महिला भन्छन् पुरुष दोषी, पुरुष भन्छन् महिला दोषी ।

महिला र पुरुषले एकअर्कालाई आरोप–प्रत्यारोप गरेको दृश्यभन्दा अलि माथि उठेर बहस थाल्ने हो भने त्यहाँ कारणहरू अगाडि आउँछन् । सामाजिक मूल्य मान्यता नै यस्तै छ । राज्यव्यवस्थाले नै महिलाभन्दा पुरुषलाई सर्वश्रेष्ठ ठानेको छ र त्यसैको अहम्ले महिलामाथि आफ्नो प्रभुत्व थोपर्नलाई कुनै न कुनै रूपबाट पुरुषलाई प्रेरित गरेको हुन्छ जसका कारण आफ्नो आवेग महिलामाथि पोख्दा महिलाहरू पुरुषबाट हिंसाको सिकार हुन्छन् । राज्यप्रणाली वा उत्पादन प्रणाली नै पुरुष स्वामित्वमा आधारित छ । त्यसले बलियोले कमजोरलाई हेप्ने प्रवृत्तिको विकास हुन्छ अनि त्यसको मारमा कमजोर मानिएका महिलाहरू स्वतः पर्दछन् । आदिआदि ।
ती तर्कहरूबाट पनि के बुझ्न सकिन्छ भने हिंसा भनेको बलियोले कमजोरमाथि आफू श्रेष्ठ छु भनेर देखाउन प्रयोग गरिने अस्त्र हो । यही मान्यतालाई स्वीकार गर्ने हो भने जहाँ महिला हिंसा हुन्छ त्यहाँ महिला पुरुषभन्दा कमजोर छन् भन्ने देखाउँछ । के मानव समाजमा महिला पुरुषभन्दा कमजोर भएरै जन्मिएको हुन्छ ? महिला र पुरुषबीचको विभेदको खाडल मानव समाज उत्पत्तिसँगै भएको हो वा पछि गराइएका हुन् ?
धेरै दार्शनिकहरू, वैज्ञानिक तथा इतिहासविद्हरूले महिला पुरुषको विभेदका विषयहरूमा विभिन्न विचारहरू राख्दै आएका छन् जसमध्ये समाज विकासको द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट एङ्गेल्सले गरेको विश्लेषण नै सही र वस्तुवादी विश्लेषण मान्न सकिन्छ । उनको अध्ययन अनुसार जतिबेला समाज (गण) महिलाको नेतृत्व (मातृसत्ता) मा चलेको थियो । त्यतिबेला महिलाहरू स्वतन्त्र थिए । उनीमाथि कुनै प्रकारको दमन उत्पीडन थिएन । जब समाजमा परिवार, निजी सम्पत्ति र राज्यको उदय भयो त्यसको स्वामित्व र नेतृत्व पुरुषले गर्न पुग्यो । स्वभावतः त्यो सामाजिक अवधारणाले महिलालाई पुरुषको स्वामित्वमा रहन बाध्य पा¥यो । त्यहीँबाट नै महिला पुरुषको बीचमा विभेदको बीजरोपण भयो । त्यतिबेलादेखि नै समाजमा पितृसत्ता हाबी छ र त्यसको अधीनमा महिलाहरू पर्दै आएका छन् । वास्तवमा यही विभेदबाट नै महिला उत्पीडनका विविध रूपहरू फैलिदै आउँदा महिला हिंसाले निरन्तरता पाइरहेको छ । त्यति मात्र होइन, पितृसत्तात्मक राज्यसत्ताले बेलाबेलामा महिलाहरूले गर्ने स्वतन्त्रताको विद्रोहलाई दमन गर्न विभिन्न जालझेल षड्यन्त्र गर्दै धर्मकर्म संस्कार संस्कृतिको विधिविधानमा ढाली महिलाको मानसिकतामा नै पुरुषवादी चिन्तनको विष भरिदिएको छ ।

महिला हिंसाको चर्चा गर्दा बेलाबेलामा हुने घटना र संवेदनशील हिसाबले चर्चा–परिचर्चा हुने घटना हुन् बलात्कारका घटना । बलात्कार भन्नेबित्तिकै नेपाली समाजमा जबर्जस्ती करणी भनेर बुझिन्छ । यो महिला हिंसाको अति नै संवेदनशील पाटो हो । हो, यौन मानिसका लागि जैविक शारीरिक हिसाबले आवश्यक मानिन्छ तर यो मानिसको नितान्त निजी, भावनात्मक र संवेदनशील मामिला हो । पुँजीवादी समाजले यसलाई व्यक्तिको निजी मामिलामा छोडिदिन्छ । माक्र्सवादी अवधारणाले यो व्यक्तिको भावनात्मक प्रेमको उच्चतम अभिव्यक्तिका रूपमा बुझ्दछ र एकनिष्टताको वकालत गर्दछ । हाम्रो नेपाली समाजमा यो इज्जत, मान, प्रतिष्ठा र त्यो पनि महिलाका लागि त झन् उसको जिन्दगीको सर्वश्व मापनका रूपमा बुझिन्छ । यस्तो संवेदनशील विषयलाई कसैले आफ्नो तुष्टि मेट्न, बहादुरी प्रदर्शन गर्न र आफ्नो पुरुषत्वको प्रभाव जमाउन जबर्जस्ती गर्छ र आफ्ना सामाजिक मर्यादामा आँच आउने डरले बलात्कारपछि हत्या गर्छ भने त्यस्ता व्यक्ति वा घटनालाई अपराधका कुन शब्दमा व्यक्त गर्न सकिन्छ ? त्यति मात्र होइन, बालिका बलात्कार, हजुरआमा बलात्कार, हजुरबाले नातिनी बलात्कार, स्कुले छात्रा बलात्कार, बाबुले छोरी बलात्कार, घाँसदाउरा, मेलापात गएकी महिला बलात्कार, साथीले कोठामा बोलाएर सामूहिक बलात्कार, प्रेम स्वीकार नगरेकोमा एसिड प्रहार, छुरा प्रहारजस्ता घटनाहरूले २१ औँ शताब्दीको वैज्ञानिक युगको मान्छे विवेकविहीन पशु त बन्दै छैन ? भन्ने प्रश्न खडा गरेको छ ।

नेपालमा पछिल्लो समयमा भएको निर्मला बलात्कार हत्याकाण्डसहितका सयौँ बलात्कार, हत्या प्रकरण र बलात्कारी हत्यारा पत्ता लगाई दण्ड दिने मामिलामा राज्यको उदासीनता वा गैरजिम्मेवारीपन हेर्दा लाग्छ यो राज्यको कुनै सरोकारको विषय नै होइन । मानौँ यो निर्मलाजस्ता महिलाहरूको व्यक्तिगत मामिला हो र राज्यको पितृसत्तात्मक संरचनाले यी घटनालाई सामान्य ठान्छ ।

अझ बलात्कारका कुनै घटना घटे भने सामाजिक सञ्जालमा बहस चल्छ । महिलाकै कारणले हुन्छन् यस्ता घटना । महिलाको फेसन, ड्रेसअप, चरित्र आदि माथि टीकाटिप्पणी गरिन्छ र भनिन्छ महिलाको लवाइखवाइ र चालचलनले पुरुषलाई बलात्कार गर्ने वातावरण बनाउँछ । हाय पितृसत्ता ! तिम्रो पुरुषत्वले त्यस्ता महिलाबाट टाढा बस्नुपर्छ, आफ्नो आवेगलाई विवेकमा बदल्नुपर्छ र आत्मसंयम बन्नुपर्छ भन्ने किन सिकाउँदैन र त्यस्ता महिलालाई देख्नेबित्तिकै सबै काम छोडेर पछिपछि किन दौडाउँछ । आफ्नो मर्यादालाई कुनै ख्याल नगरी आफ्नो तुष्टि मेट्ने र इज्जत जाने डरमा झन् ठूलो अपराध गरी त्यस्ता महिलाको हत्या गरिदिने ? के यो पितृसत्ताको आडम्बरयुक्त अहङ्कार र महिलाप्रति हेर्ने दृष्टिकोणमा समस्या होइन ? गल्ती आफूले गर्ने दोषजति अरूलाई दिने ?

महिला हिंसाका घटनाका विविध प्रकृति, तिनका ऐतिहासिक पृष्ठभूमि र सामाजिक–आर्थिक संरचनालाई गहिरो गरी नियाल्ने हो भने पितृसत्ताले महिलालाई दास युग, सामन्त युग, पुँजीवादी युग र अझ अहिलेको उत्तरसाम्राज्यवादी युगसम्म आउँदा आफ्नो अनुकूलतामा प्रयोग गर्दै आएको छ । कहिले आफ्नो वंशज वा उत्तराधिकारी जन्माइदिने पत्नी, कहिले सम्पत्तिको जगेर्ना गरिदिने गृहिणी, कहिले सत्तामा सङ्कट आउँदा सङ्कटमोचन गर्ने हतियार, कहिले मालसामान उत्पादन गर्ने मेसिन, कहिले मेसिन चलाउने श्रमिक, कहिले माल बिक्री गर्ने विज्ञापनका साधन त कहिले मनोरञ्जनका साधन । कहिलेकहीँ आफ्नो सत्ता धरापमा पर्नेगरी आँधीहुरी आयो भने त्यसलाई रोक्न पितृसत्ताले आफ्नो सत्तामा १ इन्च पनि दायाँबायाँ नहुने गरी एकाध महिलालाई सिंहासनमा चढाइदिन्छ र त्यही डन्डा प्रयोग गरी लाखौँकरोडौँ महिलाहरूलाई हिंसाको सिकार बनाउँछ जुन हाम्रो आँखा अगाडि दैनिक रूपमा घट्ने कहालीलाग्दा घटनाहरूले पुष्टि गरिरहेका छन् ।

पितृसत्ताले जतिसुकै दमन गरे पनि महिलाहरूले दमनका विरुद्ध विद्रोह बोलिरहेका छन् । पछिल्ला समयमा महिलासम्बन्धी उठेका बहस, महिलाअधिकारका लागि गरिएका सङ्घर्ष, सामाजिक र आर्थिक उत्पादन सम्बन्धमा महिलाको सहभागिता आदिले पितृसत्तालाई ठूलै चुनौती दिएको छ । जस्तोसुकै परिस्थितिमा पनि धर्म, संस्कार नीति, नियम, मान, मर्यादा भन्दै पितृसत्ताको रक्षाका लागि आफ्नो सर्वस्व गुमाउने मानसिकताबाट माथि उठ्दै आज महिलाहरू आफ्नो स्वत्वको रक्षा, पुरुषहरूले आफूमाथि गरेका अपराधविरुद्ध न्यायको मागसहित निर्भीकताका साथ बोल्न थालेका छन् । यसैको पछिल्लो अभिव्यक्ति हो ‘मि टु’ (म पनि) अभियान ।
अपराधीले अपराध गरेर पनि उजुरी र सुनुवाइ नहुँदा शिर ठाडो पारेर हिँडिरहने स्थितिको अन्त्य गर्न र अन्यायमा परेकाले न्यायको अनुभूति पाउनका लागि गरिने दबाबमूलक आन्दोलनले दोषीलाई दण्डित बनाएरै छाड्ने सङ्घर्षको एउटा पाटो हो ‘मि टु’ अभियान । इतिहासमा यस्ता घटनाका उदाहरणहरू विभिन्न देशहरूमा देख्न सकिन्छ ।

दोस्रो विश्वयुद्धमा जापानीहरूले हारेका देशका महिलाहरूलाई यौनदासीका रूपमा प्रयोग गरे । पछि क्रमशः ती कुराहरू खुल्दै गए र त्यतिबेला महिलाहरूले भोगेको पीडा र राज्यले भोगेको अपमानका विरुद्ध आवाज उठ्न थाल्यो । दशकौँ पछि जापान सरकारले आफ्ना सिपाहीले गरेको अपराधका लागि माफी माग्दै क्षतिपूर्ति दिनुप¥यो ।
केही वर्षअघि राष्ट्रसङ्घले महिला हिंसाका बारेमा एउटा तथ्याङ्क सार्वजनिक ग¥यो । विश्वका तीन अर्ब महिलामध्ये एक अर्ब महिला आफ्नो जीवनकालमा हिंसाबाट पीडित छन् । यही तथ्याङ्कका आधारमा न्यायका पक्षपाती नागरिकहरूका तर्फबाट ‘एक अर्ब महिलामाथिको हिंसाविरुद्ध गोलबन्द होऔँ’ भन्ने अभियान सुरु गरियो । यसलाई ओबीआर (वन मिलियन राइजिङ) अर्थात् ‘एक अर्बको जागरण’ नाम दिइयो । महिलाहरू समान हैसियत र स्वाभिमान सहित जन्मिए पनि किन बिनाकुनै दोष वा अपराधमा अर्को पक्षबाट पीडित छन् भन्ने प्रश्नले ती महिलाहरूलाई आफूमाथिको पीडा र त्यसको नकारात्मक प्रभावलाई हिम्मतका साथ बाहिर ल्याउन यस्ता अभियानले महत्वपूर्ण भूमिका खेल्ने गरेका छन् ।

अहिले नेपालमा चर्चामा आएको ‘मि टु’ अभियान सन् २००६ मा अमेरिकामा सामाजिक अभियन्ता ताराना ब्रुकेले सुरु गरेकी हुन् । यो अभियानले यौनहिंसाबाट पीडितहरूलाई सहानुभूतिका साथ सशक्तीकरण गर्ने उद्देश्य लिएको थियो । सन् २०१७ मा अर्को अमेरिकी कलाकार आलिसा मिलानोले यसलाई ह्यास ट्याग मि टु ‘३ मि टु’ मा रूपान्तरण गरिन् । यसले अमेरिकी संसद्मा मि टु विधेयक नै पेस भयो र यौन दुरुत्साहनसम्बन्धी नीति र कानुन पीडित पक्षीय रूपमा परिवर्तन हुन पुग्यो ।
भर्खरै भारतमा नरेन्द्र मोदीले सरकारका एकजना मन्त्रीले यौनहिंसाकै अभियोगमा आफ्नो पदबाट राजीनामा दिएका छन् भने बलिउडका कयौँ कलाकारहरू यौनहिंसाको आरोपमा मुछिएका छन् । नेपालमा यौनहिंसालाई महिलाको अस्मितासँग जोड्ने गरिन्छ । जतिसुकै ठूलो हिंसामा परे पनि पीडितले आफ्नो इज्जतका लागि कुरा बाहिर ल्याउन सक्दैनन् । जसका कारण पीडक जतिसुकै ठूलो अपराधी भए पनि छाती फुलाएर हिँड्ने गरेका छन् ।

माओवादी जनयुद्धकालमा तत्कालीन राज्यसत्ताबाट महिलाहरूमाथि ठूलठूला दमनका शृङ्खलाहरू चलाइए । अझ महिलाहरूलाई गिरफ्तार गरी यातना दिने मात्र होइन, बलात्कार गरेर आतङ्कित गराउने कोसिस गरियो । कतिपय पीडित महिलाहरूले आफूमाथि भएका घटनाहरूलाई सार्वजनिक गरेनन् । राज्यसत्ताले नै महिलाको विद्रोहलाई दबाउन र उनको विचारलाई परास्त गर्न नसकेर मानसिक रूपमा गलाउन बलात्कारको हतियार अपनाउन थालेपछि तत्कालीन माओवादी आन्दोलनकी नेत्री देवी खड्काले साहसका साथ आफूमाथि भएको बलात्कारको घटना सार्वजनिक गरिन् । त्यसपछि रोल्पाका बागमती थापा र दिव्यज्योति थापाले आफूमाथि प्रहरीले बलात्कार गरेको घटना सार्वजनिक गरे । पछि क्रमशः देशैभर राज्यद्वारा बलात्कार भएका घटनाहरू सार्वजनिक हुँदै गए । तत्कालीन अवस्थामा यो पनि ‘मि टु’ अभियान नै थियो ।

तर विडम्बना ! त्यतिबेला बलात्कार र हत्या गर्नेहरू आज फुली थप्दै कुन पदमा पुगेका छन् ? बलात्कृत हुने नेत्रीहरू नै सरकारमा हुँदा दोषीहरूलाई कारबाही गर्ने वातावरण किन बनेन ? त्यतिबेलाको ‘मि टु’ अभियान माओवादीबाहेक अरूको सरोकारको विषय भएन तर आज विदेशमा चलेको हावाले नेपालका रूखहरू हल्लाउँदैछ । जे होस् मि टु अभियानको प्रभावले महिला हिंसापीडितहरूलाई साँचो बोल्न साहस दियो भने महिला आन्दोलनका लागि त्यो सकारात्मक हुनेछ । तर नेपालजस्तो मुलुक जहाँ निर्मलाका हत्यारालाई राज्यले नै बचाउ गर्छ । कसैले कुरा उठाएमा व्यक्तिगत रिसइविको कारण भन्दै उल्टै पीडितलाई दोष दिन्छ । यस्तो समाजमा ‘मि टु’ अभियान चलाउन चुनौतीपूर्ण त छ नै तर माक्र्सले भनेझैँ समाज परिवर्तनका लागि महिलाको विद्रोह अनिवार्य हुन्छ र गर्नुपर्छ ।
यो अभियानमा नेपालका महिलाहरूले साँच्चिकै विद्रोह गरे भने यसले नेपाली समाजको महिलामैत्री भनिने आदर्शवादी खोलभित्र हुर्किरहेको पुँजीवादी पितृसत्तावादी चिन्तन सोचाइ र पाखण्डलाई उजागर गरी त्यसभित्रका अपराधहरूलाई सतहमा ल्याइदिनेछ र यसले नेपाली समाजको इमानदारी, नैतिक मूल्य, मान्यतासहितको समाज रूपान्तरणमा मद्दत मिल्नेछ ।

२०७५ पुस २ गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :