केपी-प्रचण्डको कथित समाजवाद भनेको दरिद्रता र अभावको दलाल पुँजीवाद हो : नेता पुन

  

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डडेलधुराको आयोजनामा आइतबार आलिताल गाउँपालिकाको गोदाम बजारमा विशाल जनसभा सम्पन्न भएको छ । सभालाई पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन, ट्रेडयुनियन महासङ्घ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष लोकबहादुर पल्लि मगर, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य ममता सुर्खेती लगायतले सम्बोधन गरेका थिए भने सामना सांस्कृतिक परिवारको केन्द्रीय टोलीले सांस्कृतिक प्रदर्शन गरेको थियो।

सभालाई सम्बोधन गर्दै नेता पुनले देशका बौद्धिक र श्रमिक देश बाहिर पलायन भइरहेकोप्रति इङ्कित गर्दै श्रमिक र बौद्धिक पलायन हुने देश कहिले पनि समृद्ध नहुने र केपी-प्रचण्डको कथित समाजवाद भनेको दरिद्रता र अभावको दलाल पुँजीवाद भएको दाबी गरे । दलाल पुँजीवादले देश र जनतालाई बर्बादिको दिशामा लिएकाले आफ्नो पार्टी महासचिव कमरेड विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको नयाँ बाटोमा अघि बढेको र त्यसमार्फत नै समाजवाद ल्याउने कुरा बताए ।

कार्यक्रममा पार्टीका डोटी जिल्ला इन्चार्ज सिखर, महाकाली ब्युरो कार्यालय सचिव सङ्घर्ष, सेती ब्युरो न्याय विभागका प्रमुख अमर, सामना परिवारका संयोजक सरल माझी, दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य बिरु तिरुवा, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य सर्मिला थापा, सहिद परिवार जन, शिक्षक प्राध्यापक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार लगायत आम जनसमुदायको उपस्थिति रहेको थियोे । कार्यक्रममा सहिद परिवारलाई सम्मान पनि गरिएको थियोे ।

जिल्ला पार्टी सचिव टीका रानामगरको अध्यक्षतामा सामना कलाकारका उदियमान प्रतिभा आरोह नेपालीको सञ्चालन र जिल्ला इन्चार्ज अमर बुढा ‘अबिनास’ले स्वागत मन्तव्य राखेका थिए ।

२०७५ पुस २ गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :