जीवनका पाइला–७

भारतको दानापानी खाएर नेपालमा सङ्घर्ष

धनुषा, जमुनीबासका आसबहादुर मगरले माओको ‘रेड बुक’ अध्ययन गर्न दिएपछि प्रेमबहादुर रानालाई कम्युनिस्ट पार्टी राम्रो लाग्न थालेको हो । त्यो २०२७ सालको कुरा हो । उनैले जनजागृति नामको अखबार पनि दिए । नलबहादुर, आसबहादुर र केदार चौहान बाबुराम रानासमक्ष पुगे । उनीहरूको गाउँमा भरपर्दा ९ जना भइसकेका थिए । सुरुमा उनीहरूलाई किसान सङ्गठनमा राखियो र परीक्षणकालमा आवश्यक काम दिइयो । उनीहरू जनसङ्घर्षमा अग्रीम मोर्चामा उभिए । २०३१ सालमा कमरेड आजादले रानालाई पार्टी सदस्यता प्रदान गरे ।

२०३५ सालमा विद्यार्थी आन्दोलन चर्कियो । त्यो सङ्घर्ष देशव्यापी जनसङ्घर्षमा फड्को मार्दै थियो । २०३६ सालमा राजा वीरेन्द्रले ‘बहुदलीय व्यवस्था वा सुधारसहितको पञ्चायती व्यवस्था’ रोज्न जनमतसङ्ग्रहको घोषणा गरे । त्यसबेला नेकपा (चौम) को नारा थियो —
जनमतसङ्ग्रह — धोका हो !
राजबन्दीहरू — रिहा गर !
अन्तरिम सरकार — गठन गर !
झूट्टा मुद्दा — खारेज गर !
यी नाराहरूको वरिपरि पार्टी नीति र कार्यक्रम बनेको थियो । जनसमक्ष पार्टी नीति सार्वजनिक गर्न २०३६ भदौ २४ गते धनुषा बाह्रबिघामा जनसभा राखिएको थियो । जनता सातु, नुन, चिउरा र गिलाँस बोकेर ३ दिन पैदल हिँड्दै बाह्रबिघा पुगेका थिए । उक्त सभालाई निर्मल लामाले सम्बोधन गर्ने पार्टी निर्णय थियो तर सभालाई सम्बोधन गर्न लामाकै सिफारिसमा मनमोहन अधिकारी पुगे । जनता निराश भएर फर्के । पार्टी निर्णय उल्लङ्घन गरेको कारण निर्मल लामा कारबाहीमा परे । लामालाई आत्मसुरक्षावादी र सुधारवादीको आरोप लाग्यो ।

असोज ३ गते स्थानीय स्तरमा सबै जिल्लामा जनसभा गर्ने पार्टी निर्णय थियो । जनताको मनोबल उठेको कारण सामन्तहरूलाई टिन ठटाएर गाउँ घुमाउने, भ्यागुताको माला लगाइदिने, जुत्ताको माला लगाइदिने, कालो मोसो दल्ने, रूखको फेदमा उभ्याएर माफ मगाउनेजस्ता जनसङ्घर्षहरू देशभरि चलिरहेका थिए । उपप्रधानपञ्चसमेत रहेका प्रेमबहादुर रानालाई २०३६ असोज ५ गते प्रहरीले घरैबाट गिरफ्तार ग¥यो । सिन्धुली जेल फुटाएर रसबहादुर कार्की त्यही दिन रानाको घरमा आइपुगेका थिए । प्रेमले आफू पक्रिएर भए पनि कार्कीलाई बचाए । रसबहादुरले प्रहरीको पोसाक लगाएको हुनाले गाउँलेले समातेका थिए । तर सबै कुरा भनेपछि छोडिदिए । जनताले उनलाई खोस्दा प्रहरी र जनताबीच भएको झडपमा कृष्णबहादुर राना मारिए । मसिनीमाया स्याङ्बालाई करङमा गोली लाग्यो । भारत डङ्कन लगेर जिउँदी सहिद मसिनीमायालाई आन्दोलनकारीले बचाए । जनतासँग भरुवा खुकुरी र लाठी मात्र थियो । प्रहरीलाई मद्दत गर्न आएका चारवटा मोटरको प्रहरी बल हजारौँ जनता देखेर त्यत्तिकै फर्कियो । त्यो २०३६ साल असोज ६ गतेको घटना थियो ।

२०३६ असोज ६ गते नन्दलाल मारिए । राज्यआतङ्क चरम भयो । असोज १३ गते राना भारत निर्वासनमा गए । दुःखका दिनहरू सुरु भए । त्यस रात बगरमा रात बिताए । अर्को दिन महेन्द्र लामाका भारतीय साथीको घर गोडारीमा बसे । त्यसपछि सीतामडीमा गएर जयगोविन्द शाहलाई सबै सूचना दिए । पार्टी नीतिविरुद्ध कारबाही गरेको भनेर उनीहरू आलोचित भए । त्यसपछि राना चितवनमा गएर चार महिना काम गरे ।

पार्टीमा आजादले सशस्त्र सङ्घर्षमा जानुपर्ने धारणा राखेका थिए । ‘भारतको दानापानी खाएर नेपाली क्रान्ति हुँदैन । जनता लाठीको सहाराले लडे । अब लाठीले मात्र थप लड्न सक्दैनन् । सशस्त्र सङ्घर्षमा जानुपर्छ भनेका थिए । त्यही कारण कमरेड आजादलाई उग्रवादी भनियो’, पूर्वउपप्रधानपञ्च तथा नेकपा (चौम) महोत्तरीका जिल्ला पार्टी सदस्य, विप्लव नेतृत्वको नेकपाका महोत्तरीका पूर्व इन्चार्जसमेत रहेका प्रेमबहादुर राना भन्छन् । त्यसपछि पूर्वी तराईको पार्टी नीतिप्रतिकूलका सफायाका घटनामा आजाद नै जिम्मेवार रहेको प्रचार पार्टीभित्र गरियो । त्यो सूचना पञ्चायती व्यवस्थासम्म पुग्यो । ‘आजादलाई कारबाही गरेर खान, बस्न नदेऊ भन्ने निर्देशन मोहनविक्रम सिंहले गरे । ७ वर्ष एकसाथ काम गरेको साथी कारबाहीमा परेपछि दुःख लाग्यो । ७ दिन बास दिएँ । हात्तीलेट जङ्गल, माईथान, भब्सी, रजबास हँुदै महोत्तरीबाट सिन्धुली पठाएका थियौँ । त्यसलगत्तै उहाँको हत्या भएछ’, उनी थप्छन्, ‘नेताहरू भारतमा बस्थे तर आजाद देशमै बसेर लड्थे । काम गर्ने र नगर्ने, जनतासँग सम्बन्ध भएका र नभएका नेताबीचको अन्तरविरोध पनि थियो त्यो । ‘पार्टीले सहिद घोषणा पनि गरेन । त्यसपछि नेताहरू ठीक छैनन्, पार्टी ठीक छैन भन्ने लाग्न थाल्यो ।’

२०३८ सालमा बाबुराम राना र प्रेमबहादुर राना पार्टी मुख्यालय गोरखपुर गए । त्यहाँ जयगोविन्द शाह, एमबी सिंह, सूर्यनाथ यादव, भक्तबहादुर श्रेष्ठ सबै नेताहरू थिए । आजादको विरोधमा सबै नेता थिए । महोत्तरी जिल्ला इन्चार्जसमेत रहेका रानाले ‘साहस गर्नुपर्छ, प्रतिरोध गर्नुपर्छ भनेर सिकाएको होइन ! आजादलाई किन कारबाही गरेको ? म काम गर्दिनँ । म गोरखपुरमा पनि बस्दिनँ । ठूलो संसार छ, जहाँ गए पनि जाउँला’ भन्दै नेताहरूसँग विद्रोह गरेका थिए । ४५ दिनसम्म रानालाई फर्किन आदेश भएन । त्यसपछि मोहनविक्रमले फर्किन भाडा छ ? भनेर सोधे । रानाले ‘२ रूपैयाँ छ’ भनेपछि एमबी सिंह हाँसेर ४५ रूपैयाँ दिए । त्यसपछि नेपाल फर्कन रेल स्टेसनमा आए । मनमा कुरा खेल्यो । घर बिग्रियो, बालबच्चाले दुःख पाए । पार्टी पनि आफ्नो भएन ! कहाँ जाने, के गर्ने उनी चरम निराशाको खाडलमा खसे । त्यसपछि उनी भान्जीज्वाइँ चुन्नीलाल मगरको भूमिगत आश्रयस्थल मुजफ्फरपुर पुगे । चुन्नीलालले ३० रूपैयाँ दिए । एमबी सिंहले दिएको २० रूपैयाँ बाँकी थियो । त्यसपछि राना दार्जिलिङ हान्निए ।

खर्साङ पुग्दा ५ रुपैयाँ बाँकी थियो । ‘बङ्गाली हेरिनँ । नाकचुुच्चो हेरिनँ । थेप्चे नाक हेरेँ । दुःख पर्दा मान्छेले जात खोज्दो रहेछ’ भन्दै रानाले त्यही पैसाले टहल्दै गरेको युवकलाई ८ आना (५० पैसा) को चिया र ८ आनाको पान खुवाए । त्यही मित्रभावनाका कारण युवकले रानालाई आफ्नै घरमा लगे । छोराको साथी भनेपछि घरमा राम्रो सत्कार भयो । एक साता बसेर घुमफिर गरी जान कर गरियो । रानालाई ‘के खोज्छस्… आँखो’ भनैझैँ भयो । एक सातापछि रानाले साथीलाई सबै कुरा खोले । युवकले ३० रूपैयाँ दिएर मालबजारसम्म जाने साथीको मालवाहक बाहनमा चढाइदिए ।

गोरुबथानमा रानाकी छेमा (फुपू) बस्थिन् । बाटोमा एउटी महिलाको उद्धारक बनेर झोला बोकिदिए । तिनले खाजा खुवाइन् । उनी केही समय गोरुबथान छेमाकोमा बसेर अनेक ठक्कर र हन्डर खाँदै नेपाल आए । २०४० सालबाट निर्मल लामातिर लागे । २०५१ सालपछि जनयुद्धमा सहभागी भए ।

१२ बुँदे सहमति ठगी ठान्छन् राना । हेटौँडा अधिवेशनको प्रचण्ड नाटक मन परेन रानालाई । त्यसपछि झमानसिंह मगर र राना काठमाडौँ गएर वैचारिक, राजनीतिक छलफलपछि क्रान्तिकारी धारातिर संलग्न भए । विप्लव नेतृत्वको नेकपालाई विप्लव ठान्ने राना चित्रबहादुर आलेका भरपर्दा कार्यकर्ता र सहकर्मी हुन् ।

इतिहासको समीक्षा गर्दै प्रेमबहादुर राना भन्छन्, ‘किसान सङ्घर्ष भोगेकाहरू जनयुद्धमा गएनन् । जनयुद्ध भोगेकाहरू अबको क्रान्तिमा जालान् त ?’ उनलाई शङ्का लाग्छ । ऐतिहासिक शिवगढी भेलामा नै उनले त्यो कुरा बताएका थिए । तर आलोचना र सतर्कता मात्रै छैन, उनी प्रश्नसहित आन्दोलित छन् । राना समाजसेवी पनि हुन् । धनुषा, बटेश्वर निवासी राममणि पोखरेलका नाममा रहेको तर जनयुद्धकालमा कब्जा गरेको जग्गा उनको नेतृत्वमा सुकुमबासीलाई बाँडिएको छ । बर्दिबास नपा ८ (साबिक हाथीलेट ९) भगवतीबस्तीको १० बिघा जग्गामध्ये १९ जना सुकुमबासीलाई ६ धुरका दरले जनही वितरण गरिएको छ । ९ कट्ठा सार्वजनिक भोगचलनका लागि छुट्ट्याइएको बताइन्छ ।

कलाकार वेदबहादुर थापामगर

चित्रबहादुर आलेका नजिकका नातेदार मात्र नभएर सहयोद्धा हुन् वेदबहादुर थापामगर । उनले नामजस्तै वेद त पढेनन् तर क्रान्तिकारी गीत जनताको बीचमा गाउँदै जनचेतना उठाए । क्रान्ति र परिवर्तनका लागि जनमत बनाए । २००४ साल पुस २६ गते बटेश्वर, धनुषामा जन्मेका थापाको परिवार २०२२ सालमा बरहथवा नपा २ (साबिक हजरिया २) मा बसाइँ सरेर आएको हो । बटेश्वरबाट बसाइँ सरेर आएका कारण सर्लाहीमा पनि उनीहरू बसेको टोललाई ‘बटेश्वर टोला’ भनिन्छ । जङ्गल फडानी गरेको आरोपमा २०१८ सालमा ६ महिना थापा जेल परेका थिए । उसबेला ‘चन्दने जर्घा’ नामका साथी थिए । राजा महेन्द्रले उनलाई २७५ बिघा जग्गा जङ्गल फडानी गरेर भोगचलन गर्नू भनेर लालमोहर दिएका थिए । तिनै जर्घाले ‘मेरो मान्छे हो, यसले मेरै क्षेत्रको बन फाँडेको हो’ भनेर जेलबाट निकालेका थिए । त्यसबेला थापा गौर जेलमा थिए । उसबेला सर्लाही सदरमुकाम पनि गौरमा थियो ।

वेदबहादुर नेतृत्वको कलाकार टोलीमा गौरी सुस्लिङ (लालबन्दी), उद्धव पोखरेल, बेचु, शङ्का माझी (चौरासी), चेतबहादुर आले (हाथीलेट), डम्बरबहादुर मगर र अमर पुलामीसहित ८ जना थिए । २०३६ साल भदौ ४ गतेको धनुषा, बाह्रबिघाको ऐतिहासिक जनसभामा थापाको सांस्कृतिक टोलीले गीत गाएको थियो । हजरियाका विष्णु तामाङले उसबेलाका १०६ वटा गीत सङ्कलन गरेका थिए । २०५० सालको बाढीमा बागमतीले बटेश्वर टोल डुबान गर्दा कागज–किताब डुबेर नष्ट भए । उसबेलाको जस्तो इमान, जमान र जोश देख्दैनन् थापा । ‘साथीहरूले वडा अध्यक्षमा उठाए । काङ्ग्रेस र एमाले ठूलो मतान्तरले हारे । त्यसपछि म कचहरी, पञ्चभेला, समाज सुधारका कामतिर व्यस्त भएँ । राजनीति छुट्यो । सुधारवाद संस्कार बनेर आयो । क्रान्ति र सङ्घर्ष हरायो तर त्यसको वैचारिक विश्लेषण भएन’, थापा भन्छन् । संयुक्त जनमोर्चाबाट २०४९ को स्थानीय निर्वाचनमा विजयी भएका थापा संसदीय चुनावबारे आफ्नो व्यावहारिक अनुभव सुनाउँछन् । चित्रबहादुर आलेसहितका नेताहरूले संसदीय चुनाव खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरिरहेको बेला थापाले त्यसप्रकारको आत्मस्वीकार गरेका हुन् । सुधारले क्रान्तिको होइन, संसद्वादकै सेवा गर्ने रहेछ भन्ने थापाको बुझाइ देखिन्छ ।

२०७५ पुस २ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :