मिनीट्रक दुर्घटना परी ज्यान गुमाउनेहरूप्रति नेकपा नुवाकोटद्वारा दुःख व्यक्त

नुवाकोट : नुवाकोट जिल्ला, दुप्चेश्वर गाउँपालिका, वडा नं १, घ्याङफेदीमा शुक्रबार भएको बा ३ ख, ३९१३ नम्बर रहेको मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति नेपाल कम्युनिस्ट पार्टी, नुवाकोट जिल्ला समितिले दुःख व्यक्त गरेको छ । सो घटनामा परी पार्टीका इकाइ समितिका सदस्य रिवल तामाङ, मंगले तामाङ, कृष्ण तामाङ, छोङ सोनाम तामाङलगायत २० जनाको मृत्यु भएकोप्रति गहिरो दुःख प्रकट गर्दै शोकाकूल परिवारमा गहिरो समवेदना समेत व्यक्त गरेको छ । शनिबार नेपाल नेपाल कम्युनिस्ट पार्टीका नुवाकोट जिल्ला इन्चार्ज स्थितिले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दुःख व्यक्त गरेकी छिन् । उनले गम्भीर घाइते हुनुभएका सुकुराम तामाङ, मानबहादुर तामाङ, सुकुराम लामालगायत घाइतेहरूको शीघ्र–स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् । विज्ञप्तिमा ‘नेपालको राजनीतिक व्यवस्था जसरी समस्याग्रस्त बन्दै गएको छ, त्यसरी नै जनताका अवस्था झन् संकटग्रस्त बन्दैछ । दलाल सत्ताद्वारा पालितपोषित ठेकेदारहरूले अधिकांश ग्रामीण भेगका डाँडाकाँडामा डोजर आतंक मच्याएका छन् । बाटोको राम्रो व्यवस्था नै नगरी नागरिकहरूबाट पैसा असुल्ने काम पनि भइरहेको छ । स्थानीय जनप्रतिनिधिहरू पनि यस्तो हर्कतमा निर्लिप्त छन् । यस्तो समस्या देशैभर रहेको छ । तसर्थ, नुवाकोटलगायत नेपालको ग्रामीण भू–भागमा रहेका बाटाहरूको स्तरोन्नति गर्न, त्यसक्रममा मृत्यु भएका नागरिकको परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरूको उपचारमा गम्भीर हुन हामी यसै प्रेस विज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई विशेष आग्रह गर्दछौँ ।’

२०७५ मङ्सिर २९ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :