पूर्वजनमुक्ति सेनाका झलकुमारलाई किन जन्मकैद ? सेना र प्रधानमन्त्री कार्यालयलाई सर्वोच्चको आदेश

 
काठमाडौँ : सर्वोच्च अदालतले पूर्वजनमुक्ति सेनाका योद्धा झलकुमार भगत ‘झलक’लाई सर्वस्वसहित जन्मकैद गर्नुको कारण देखाउन प्रधानमन्त्रीको कार्यालय तथा नेपाली सेनालाई आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइगर्दै झलकुमारलाई सर्वस्वसहित जन्मकैदफैसला गर्नुको कारण देखाउन आदेश दिएको हो ।

जनयुद्धकालमा तत्कालीन शाहीसेनाबाट विद्रोह गरी नेकपा (माओवादी)मा समावेश भएको विषयलाई लिएर सेनाले झलकुमारलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । झलकुमारअहिले मध्यक्षेत्रीय कारागार कार्यालय सिमलटार, भीमफेदीमा कैद सजाय काटिरहेका छन् । झलकुमारले आफूलाई शान्ति सम्झौताविपरीत पक्राउ गरी फैसला गरेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । झलकुमारका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, कपिलचन्द्र पोख्रेललागायतले बहस गरेका थिए ।
रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानसेनापति, रक्षामन्त्रालय, गृहमन्त्रालयलगायतलाई विपक्षी बनाइएको छ ।झलकुमारलाई नेपाली सेनाको समरी जनरल सैनिक अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।

को हुन झलकुमार ?

मोरङ जिल्ला हाल ग्रामथान गाउँपालिका निवासी झलकुमार भगत तत्कालीन शाही नेपाली सेना भोजपुर जिल्लाको विष्णुदल गणमा कार्यरत थिए । झलकुमार २०६२ साल साउन ८ गते हतियारसहित तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।
उनी तत्कालीन माओवादीको जनमुक्ति सेनामा एक थान इन्साससहित ५ थान म्यागजिन, एक थान गलिलसहित ५ थान म्यागजिन, चार थान ग्रिनेट, ९ सय राउन्ड गोलीसहित प्रवेश गरेका थिए ।
झलकुमारलाई चुनावविरोधी गतिविधिमा लागेको भन्दै २०७४ मङ्सिर ८ गते मोरङमा रहेको आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । पछि प्रहरीले सेनालाई जिम्मा लगाएको थियो । स्मरणीय छ, जनयुद्धताका सेना र प्रहरीलाई विद्रोह गरी जनयुद्धमा लाग्न आह्वान गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल सरकारी पार्टीका अध्यक्ष र त्यतिबेलाका माओवादी नेता रामबहादुर थापा ‘बादल’ गृहमन्त्री छन् ।

२०७५ मङ्सिर २४ गते साेमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :