‘पवित्रता’ को पराकाष्ठा

काठमाडौँ : मङ्सिर १४ देखि १७ गतेसम्म अर्थात् नोभेम्बर ३० देखि डिसेम्बर ३ सम्म काठमाडौँमा बडो तामझामका साथ एउटा असाध्यै विवादित र धर्मनिरपेक्षताका विरुद्ध ‘एसिया प्यासिफिक समिट २०१८’ भयो । उक्त कार्यक्रमको मुख्य आयोजक एउटा क्रिस्चियन धर्मप्रचारक गैरसरकारी संस्था दक्षिणकोरिया-आधारित युनिभर्सल पिस फेडेरेसन र सहआयोजक नेपाल सरकार बन्न पुगेको थियो । ‘हाम्रो समयका आलोचनात्मक चुनौतीहरू : अन्योन्याश्रित, पारस्परिक समृद्धि र सार्वभौम मूल्य’ शीर्षकमा आयोजित उक्त कार्यक्रमको सर्वत्र विरोध भैराखेको छ । साथै यसलाई गम्भीर रूपमा लिइएको छ । कहाँसम्म भने सरकारी नेकपाका वरिष्ठ नेताहरूले नै पनि चर्को विरोध गरिरहेका छन् । अझ भन्नुपर्दा माधव नेपाल जो यस कार्यक्रम आयोजनाका पहलकर्ता हुन् उनको गुटका मुख्य खम्बा भनेर चिनिएका नेताले नै खुबै विरोध गरिराखेका छन् । यस्ता कार्यक्रमहरूको विरोध गर्न पनि जरुरी रहेको छ ।

यसरी विरोध हुनुका दुईवटा पक्ष रहेका छन् :

                प्यासिफिक क्षेत्रबाट नेपाल, भारत, कम्बोडिया, म्यान्मार, मलेसिया, पाकिस्तान र फिलिपिन्सका राष्ट्र, सरकारप्रमुख वा पूर्वप्रमुखहरूको उपस्थिति रहने भनिए पनि मुख्य रूपमा आफू क्रिस्चियनका रूपमा चिनिएकाहरू उक्त कार्यक्रममा उपस्थित भएका थिए । त्यसैले पनि यो सम्मेलनको धेरै विरोध गरिएको छ । हिन्दुहरूको वर्चस्व रहेको नेपाललाई संविधान २०७२ मा धर्मनिरपेक्ष भनिएको भए पनि वर्तमान सत्ता अहिले पनि हिन्दु धर्मप्रति सापेक्ष रहेको सहजै अनुमान गर्न सकिन्छ । यो कार्यक्रमका पर्दाबाहिरका आयोजक पूर्वमन्त्री तथा पास्चर एकनाथ ढकाल देखिएको भए पनि आन्तरिक रूपमा त्यसका मुख्य योजनाकार पूर्वप्रधानमन्त्री तथा सरकारी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल जोडिएको भनी सार्वजनिक भएको थियो । अझ रमाइलो त आफूलाई ठूलो र सत्ताधारी कम्युनिस्ट पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई उक्त कार्यक्रममा उपस्थित भएर आयोजकहरूबाट गरिएको एक लाख अमेरिकी डलर मूल्यको ‘सुशासन’ सम्मानद्वारा सम्मानित गरेका थिए । यसरी विवादित र सर्वत्र विरोध भैराखेको उक्त कार्यक्रममा आफूलाई खाँटी राष्ट्रवादी र संविधानको पालक भन्ने प्रधानमन्त्री कार्यक्रममा सहभागी भई सम्मान लिनुले जग हँसाएको छ ।बाहिर कार्यक्रमको जे नाम दिइएको भए पनि यसको मुख्य उद्देश्य धर्मराजनीति हो भन्न कुनै कन्जुसाइँ गर्नुपर्ने आवश्यकता रहेन । नेपालको भौगोलक अवस्था र यहाँको राजनीतिले दक्षिणएसिया मात्र नभएर विश्वलाई नै आकर्षित गरिराखेको छ । त्यसको पहिलो कारण नेपालमा लामो समयदेखि कम्युनिस्ट आन्दोलनको प्रभाव परेको छ । जनता बहुसङ्ख्यक जनता अहिले पनि क्रान्तिका पक्षमा रहँदै आएका छन् । यसले गर्दा गुगलमा ९४ प्रतिशत सामग्रीमा वामपन्थीहरूको बाहुल्य रहेको भन्दै गुगलका विरुद्ध ठाडो आलोचना गर्ने ट्रम्पहरू जो देशको अति विकसित र शक्तिशाली भनेर चिनिएको र आफूलाई प्रजातन्त्रको मसिहा भन्न रुचाउने देशको राष्ट्रपति हुन्, उनले पदीय शपथग्रहण गर्दा आमाले दिएको र राष्ट्रपतिको पादरीले दिएको बाइबल हातमा राखेकाहरूलाई यसरी कम्युनिस्टहरूको वर्चस्व बढ्नुलाई मन पर्ने कुरा भएन । अझ त्यसमा पनि नाम मात्रका कम्युनिस्टहरूको स्पष्ट बहुमतको सरकार चलिराख्नुले उनीहरूमा बेचैनी हुनु स्वाभाविक हो । राष्ट्रवादका नाममा महेन्द्रीय राष्ट्रवाद पक्षपोषक यो सरकार कम्युनिस्ट नामसँग जोडिएकाले पश्चिमाहरू त्यसका पछाडि हात धोएर पछि लागेका छन् । त्यसैले उनीहरूले माधव नेपाललाई मोहरा बनाएका छन् ।
भूराजनीतिक रूपमा नेपाल कम्युनिस्ट नाम जोडिएको व्यवस्था भएको चीन र लोकतान्त्रिक नाम जोडिएको ठूलो मुलुक भारतको बीचमा रहेको छ । तीव्र आर्थिक, रणनीतिक र सामरिक विकास गरेको चीनलाई कसरी घेर्ने र त्यसका लागि आवश्यक पर्ने क्रीडास्थल नेपाललाई कसरी बनाउने भन्ने गुरुयोजनामा यो कार्यक्रम आयोजना गरिएको भन्ने कुरामा कुनै शङ्का छैन ।
एकातिर नेपालमा बहुसङ्ख्यक हिन्दूहरू छन् । नेपालमा गैरहिन्दू, महिला, दलितहरूमाथि धर्मका नाममा दमन, उत्पीडन अति नै छ । त्यो पक्ष एकातिर रह्यो । तर हिन्दू धर्मका विरुद्धमा, कम्युनिस्ट मास्ने योजनामा नेपालमा नयाँ तरिकाले साम्राज्यवादको दबदबा बढाउनका लागि क्रिस्चियन धर्म प्रचारलाई यस कार्यक्रमले वैधानिकता दिएको छ । उक्त कार्यक्रममा १५ सयजनालाई होली वाइन (पवित्र जाँड) ख्वाएर हाक जा हान मुनले आफूलाई जिससकी छोरी भन्दै आशीर्वाद दिएकी थिइन् । उक्त आशीर्वाद दिँदा प्रधानमन्त्रीलाई भने एउटा सुनको तक्मा भिराएर र एक लाख डलर प्रदान गरिएको थियो ।
एकातिर पवित्र धर्मको नाम दिने, अर्कोतिर धर्मका नाममा साम्राज्यवादको नयाँ तौरतरिकाद्वारा हैमक जमाउने भएकाले यो पवित्रताका नाममा गरिएको फोहोरी राजनीति हो । त्यसैले यो कार्यक्रम वास्तवमा पवित्रताको पराकाष्ठा हो । यसको सबैले भत्र्सना गर्न जरुरी छ । 

राताे  खबर साप्ताहिकबाट

२०७५ मंसिर १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :