निर्मला पन्तको न्यायका लागि नेकपाद्धारा देशैभरी प्रदर्शन

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले आज अर्थात आइतबार देशैभरी प्रदर्शन गरेको छ । निर्मला पन्तको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौं, पोखरा, बुटवल, दाङ, कैलाली, कन्चनपुर, चितवन, सिन्धुली, झापा, विराटनगर, ताप्लेजुङ, पाँचथर, इलामलगायत देशैभरी प्रदर्शन गरिएको छ । प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् । काठमाडौंको शान्तिवाटिकाबाट शुरु भएको विरोध जुलुस घण्टाघर, सहिदगेट, सुन्धारा हुदै पुनः शान्तिवाटिकामा पुगी कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने वक्ताहरुले यथाशिघ्र निर्मला पन्तका हत्याराहरुलाई कारबाही गर्न माग गरे ।                                     

यसैगरी निर्मलाको हत्याको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा प्रदर्शन गरिएको छ । जुलुसपछि आयोजित कोणसभालाई विद्यार्थी नेता वीरेन्द्र शाहले सम्बोधन गरेका थिए । उनले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर दबाबका कार्यक्रम अगाडि ल्याउने बताए । स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली शहरका विभिन्न स्थानको परिक्रमापछि संविधानचोकमा गएर सभामा परिणत भएको थियो । निर्मला पन्तलाई न्याय दिन दबाब गर्दै ‘सरकार भेटियो न्याय भेटिएन’ भन्ने पोस्टर टाँसिएको थियो । त्यसरी टाँसिएका पोस्टर भने प्रहरीले निकालेका थिए भने पोस्टर टाँस्नेलाई समेत प्रहरीले पक्राउ गरेको थियो ।

निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ । दाङको लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिस्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्यहरू किरण डाँगी, एकराज चौधरी, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष प्रितिमा चौधरी, अखिल (क्रान्तिकारी)का कृष्ण पुन, सरोज विक, देवराज पुन, गणेश सुनार लगायत विद्यार्थीलाई इलाका प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक अरुण सिंहको नेतृत्वको प्रहरी टोलीले विनाकारण ७ जनालाई गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको उदासिनता, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले आम नेपालीलाई लज्जित तुल्याएको अवस्थामा दबाबस्वरुप शान्तिपूर्ण कार्यक्रम भइरहेकोबेला प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपाले विरोध गरेको छ ।

निर्मला पन्तको न्यायका लागि नेकपाद्धारा देशैभरी भएको प्रदर्शन :तस्वीरमा

 

 

 

 

 

 

 

 

 

 

२०७५ मङ्सिर १६ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :