नेकपाले मङ्सिर १६ गते देशभर जनप्रदर्शन गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर १६ गते निर्मला पन्तको न्यायका लागि देशभर जनप्रदर्शन गर्ने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यले अहिलेसम्म अपराधीहरूलाई कानुनी कठघरामा ल्याउन नसकेको र उक्त घटनामा राज्यले देखाएको लाचारी, गैरजिम्मेवारीपना र अपराधीलाई संरक्षण गर्ने गतिविधिले सम्पूर्ण नेपाली जनसमुदायलाई लज्जित बनाएको भन्दै दबाबमूलक जनप्रदर्शन गर्ने उक्त पार्टीले जनाएको छ ।

पार्टीले राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा निरन्तर सङ्घर्ष गर्दै आएको र देशव्यापी दबाबमूलक जनप्रदर्शन गर्ने केन्द्रीय निर्णयअनुसार कञ्चनपुर, झापालगायत जिल्लाहरूमा जनप्रदर्शन गर्न लागिएको नेकपा कञ्चनपुरले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पार्टी जिल्ला इन्चार्ज अग्नि र परिवर्तनले विज्ञप्तिमार्फत मङ्सिर १६ गते दिउँसो १२ बजे महेन्द्रनगरमा हुने जनप्रदर्शन कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, नागरिक समाज, अधिकारकर्मी, व्यापारी, व्यवसायी, युवा, मजदुर, किसान, राजनीतिकर्मीलगायत सम्पूर्ण जनसमुदायलाई अपिल गरेका छन् । त्यसैगरी नेकपा झापाले पनि ‘मङ्सिर १६ गते बिर्तामोड जाऔँ ! निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन गरौँ !!’ भन्ने नाराका साथ कार्यक्रम गर्न लागेको जानकारी नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले दिएका छन् ।

२०७५ मङ्सिर १४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :