नेपाली साहित्य र अक्टोबर क्रान्ति

 

माक्र्सवादको आधारभूत सिद्धान्तमा आधारित रहेर तत्कालीन विश्वसाम्राज्यवादी अन्तरविरोधको सही पहिचान गर्दै सही विचार र राजनीतिमा विद्वताको प्रयोग गरेर लेनिनको नेतृत्वमा भएको सर्वहारा वर्गीय अधिनायकत्व स्थापना गर्ने समाजवादी अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा यो वर्षभरि विश्वका समाजवादीहरूले विभिन्न कार्यक्रम गरिरहेका छन् । यो टिप्पणी यही सन्दर्भमा नेपालमा पनि प्रलेस स्थापनाका सन्दर्भमा नेपाली कला र साहित्यमा अक्टोबर क्रान्तिको प्रभाव विषयमा प्रस्तुत दुई कार्यपत्रमाथि गरिएको टिप्पणीमा आधारित छ । उक्त कार्यक्रममा एउटै विषयमा दुई कार्यपत्र प्रस्तुत भएका थिए ।

उक्त कार्यक्रममा वरिष्ठ माक्र्सवादी सौन्दर्यशास्त्री, क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अभियन्ता मोहन वैद्य किरण (चैतन्य) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी अर्को कार्यपत्र तत्कालीन नेकपा एमाले हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा साहित्यकार वेदुराम भुसालले पेस गर्नुभएको थियो । दुवै कार्यपत्र पढ्न पाइयो । दुवैजनाले असाध्यै मेहनत गरेर तयार पार्नुभएको छ । तथ्यपरक पनि छन् । त्यसैले सबैले पढ्न योग्य पनि छ । तर पनि केही छुटेका विषयहरू, वैचारिक रूपमा रहेका अस्पष्टता र दृष्टिकोणका बारेमा बोल्नुपर्ने भएको छ । यी कार्यपत्र प्रस्तोताको अहिलेको राजनीतिक र वैचारिक पृष्ठभूमि फरक रहनुका साथै तथ्य समावेश र प्रस्तुतिमा विभिन्नता रहेकाले र अक्टोबर क्रान्तिको महत्व र हेराइ पनि फरक रहेकाले केही समस्या रहेका छन् । त्यसैले केही बोल्नुपर्ने भएको छ ।

सबैभन्दा पहिला अक्टोबर क्रान्ति कार्ल माक्र्सले माक्र्सवादलाई पूर्णता दिएपछि भएको पहिलो सर्वहारा वर्गीय क्रान्ति थियो । तत्कालीन पुँजीवाद जसलाई लेनिनले साम्राज्यवाद ः पुँजीवादको मरणासन्न अवस्थामा चित्रण गर्नुभएको थियो, त्यसलाई पूर्ण ध्वंस गरी समाजवादको स्थापना गर्नुभएको थियो र पहिलोपटक विश्वभरि समाजवादको लहर चलेको थियो । यो क्रान्तिको सफलताले केवल पुँजीवादी सत्ताको अन्त्य गर्दै समाजवादी सत्ताको स्थापनाको ढोका मात्र खोलेको थिएन, लेनिनकै भाषामा साहित्यमा नयाँ यथार्थ र माक्र्सवादी सौन्दर्यशास्त्रको परिभाषा दिएको थियो । त्यसैले अक्टोबर क्रान्ति समग्र क्रान्ति थियो । त्यसैले यहाँ अक्टोबर क्रान्तिका अन्य मुख्य पक्षहरूलाई छाडेर साहित्य वा सौन्दर्यशास्त्रलाई छनोट गरिएको होला । यही अक्टोबर क्रान्तिको एक आयामको नेपालका बारेमा परेका प्रभावका बारेमा उल्लेख गर्नु आवश्यक रहेको छ ।

पहिला वेदुराम भुसालको कार्यपत्रमाथि केही भनाइ राख्न मन लागेको छ । भुसाल आफूलाई माक्र्सवादी—लेनिनवादी भन्न रुचाउनुहुन्छ । पूर्वाग्रही नभईकन भन्ने हो भने यो युगको सही माक्र्सवाद भनेको माक्र्सवाद—लेनिनवाद—माओवाद हो । त्यसैले भुसालको दृष्टिकोणबाट अक्टोबर क्रान्तिको सम्पूर्ण पक्ष उजागर हुन सक्दैन । अहिले भुसालले जुन पक्षधरता लिनुभएको छ, त्यसले सर्वहारा वर्गीय अधिनायकत्व, बल प्रयोगको सिद्धान्तलाई अस्वीकार गर्दछ । भुसालको दृष्टिकोणले यथार्थलाई स्वीकार गर्दछ तर नयाँ यथार्थलाई अस्वीकार गर्दछ । यही आधारमा उहाँले अक्टोबर क्रान्तिपछि नेपालको राजनीतिमा परेका प्रभाव उजागार गर्न खोज्नुभएको छ । यस कार्यपत्रमा कैयौँ खोजपूर्ण तथ्यहरू राखिएका छन् । तथ्यहरू १९८७ सालमा प्रचण्ड गोर्खादेखि साहित्य÷कलाका क्षेत्रमा लेखक र कविवरको उदाहरणको शृङ्खलाले नेपालमा अक्टोबर क्रान्तिको प्रभावलाई अध्ययन गर्न जोडदार टेवा दिन सहयोग गर्दछन् । त्यसैगरी उहाँले अक्टोबर क्रान्तिले विश्वमा पारेको प्रभावबारे राख्नुभएको छ । यी तथ्य मननयोग्य छन् । यी तथ्यहरू यस कार्यपत्रका सबल पक्ष हुन् ।

माथि नै प्रसङ्ग उठाइयो– भुसालमा केही दृष्टिकोणात्मक समस्या रहेका छन् । त्यसैले भुसालको कार्यपत्रमाथि केही थप्न र स्पष्ट पार्न जरुरी छ । माक्र्स र एङ्गेल्सले सन् १८४८ मा सार्वजनिक गर्नुभएको कम्युनिस्ट घोषणापत्रको भूमिकामा लेख्नुभएको छ, ‘युरोप एउटा भूतद्वारा आतङ्कित छ— त्यो भूत साम्यवादको हो ।’ के त्यो भूतद्वारा अहिलेको युरोप आतङ्कित छैनन् ? नेपाल अछुतो रहेको छ ? खासमा त कम्युनिस्ट घोषणापत्र जारी भएको १ सय ७० वर्ष पुग्दै गर्दा त्यो भूतले विश्वभरिका पुँजीवादलाई आतङ्कित पारिरहेको छ । अझ त्यसमा पनि पुँजीवादका पौष्य सन्तानहरू जो संशोधनवादीका रूपमा चित्रित भइरहेका छन् उनीहरू पनि आतङ्कित भैराखेका छन् ।

१८४८ देखि अहिलेसम्म माक्र्स–एङ्गेल्सद्वारा प्रतिपादित, बल प्रयोगको सिद्धान्त, वर्गसङ्घर्ष र सर्वहारा वर्गीय अधिनायकत्वको औचित्य अहिले झन् बढेर गएको छ । मुख्य यिनै माक्र्सवादी प्रस्थापनाहरूलाई सिद्धान्तका रूपमा स्वीकार गरेर लेनिनले अक्टोबर क्रान्ति गर्नुभएको थियो । यो कार्यपत्रमा भुसालले यस तथ्यलाई कतै उल्लेख गरेका छैनन् । दार्शनिक, वैचारिक, राजनीतिक दृष्टिकोणलाई साहित्यमा मेक्सिम गोर्कीले अक्टोबर क्रान्ति पहिले नै विश्वचर्चित उपन्यास आमामा अभिव्यक्त गरिसक्नुभएको थियो । अक्टोबर क्रान्तिपछि निकोलाई आस्त्रोभस्कीले चर्चित उपन्यास अग्निदीक्षामा अभिव्यक्त गर्नुभएको थियो । यी प्रतिनिधि साहित्यिक कृतिहरू मात्र हुन् । यसैगरी लेनिनको संस्मरणमा उहाँकी जीवनसँगिनी, अक्टोबर क्रान्तिकी एक योद्धा तथा महिला मुक्ति आन्दोलनकी नेत्री क्रुप्सकायाले लेनिननामक पुस्तक नै तयार पार्नुभएको थियो जुन पुस्तक संस्मरणमा आधारित रहेको थियो । यस्ता साहित्यिक कृतिहरूले अक्टोबर क्रान्तिको विशुद्ध प्रतिबिम्बन मात्र गरेका थिएनन्, एकातिर माक्र्सवाद—लेनिनवादको प्रचार गरेका थिए भने अर्कोतिर साम्राज्यवाद र सामन्तवादसँग लड्नका लागि वैचारिक हतियारहरूलाई धारिलो र तीखो बनाएका थिए ।

यस्ता साहित्यहरूले विश्वमा समाजवादको लहर ल्याउन विशिष्ट भूमिका निर्वाह गरेका थिए । त्यसबाट नेपाल पनि अछुतो रहने कुरा भएन । तत्कालीन सोभियत सङ्घका साहित्यहरू नेपालीमा भाषान्तरण गरेर प्रकाशित भएका थिए । यद्यपि अक्टोबर क्रान्ति भएको ३२ वर्षपछि मात्र नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । तर पनि साम्यवादी विचारको प्रचार गर्दै कम्युनिस्ट आन्दोलनको तयारीमा यसको नै प्रभावकारी भूमिका रहेको थियो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना अनि साहित्यिक सङ्गठन प्रग्रतिशील लेखक सङ्घ छोटकरीमा प्रलेसले नेपालमा पनि साहित्य र कलामार्फत वर्गीय विचार, राजनीतिलाई जनताको तल्लो वर्गसम्म पु¥याउन भूमिका निर्वाह ग¥यो । चेतनाको जागरण ल्याउन निकै काम ग¥यो । नेपालको जनवादी क्रान्तिको पहलसम्म पनि अक्टोबर क्रान्तिको प्रभावले काम ग¥यो ।

यहाँ भुसालले नेपालको सामन्ती राजतन्त्रको अन्त्य गरी उहाँहरूले भन्दै आएको सङ्घीय लोकतान्त्रिक समाजवाद स्थापना गर्ने महान् जनयुद्ध, त्यसबाट सिर्जित साहित्य र सिर्जनाको प्रसङ्ग कतै उल्लेख गर्नुभएको छैन नै, उहाँले नै गरेको भनिएको झापा विद्रोहका क्रममा सिर्जित साहित्यको पनि कतै उल्लेख छैन । यसरी भीमदत्त पन्तको किसान विद्रोह, तत्कालीन मालेले गरेको झापा विद्रोह र दस वर्षको जनयुद्धद्वारा सिर्जित साहित्यहरू वास्तवमा नै अक्टोबर क्रान्तिका सही उत्तराधिकारीहरू हुन् ।

अक्टोबर क्रान्तिको नेपाली साहित्यमा परेको प्रभाव छुट्टै रहेको छ । यो साहित्यले नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवाद, साहित्यमा यथार्थवाद र यथास्थितिवादका विरुद्ध नयाँ यथार्थवादी साहित्यले चिरेको देखिन्छ । नेपालमा अक्टोबर क्रान्तिबाट नेपालमा सिर्जित साहित्यमा पारिजातको अनिदो पहाड र आहुतीको नयाँ घरलाई छुटाउनु हुँदैनथ्यो । यी दुई साहित्यिक कृतिले नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन् ।

वरिष्ठ सौन्दर्यशास्त्री चैतन्यले विचार, राजनीति कला साहित्य र नयाँ यथार्थलाई उजागार गर्नुभएको छ । उहाँको सबैभन्दा सबल पक्ष भनेको महान् अक्टोबर क्रान्तिदेखि नेपालको महान् १० बर्से जनयुद्धसम्म कला–साहित्यमार्फत अभिव्यक्त नयाँ यथार्थलाई ल्याउनु अनि त्यसको प्रत्यक्ष नेतृत्व गर्नु नै हो । यो सबैभन्दा मुख्य कुरा हो । उहाँले अहिले पनि विचार राजनीति र सहित्यमा व्यवहारतः नेतृत्व गरिरहनुभएको छ । यसको मुख्य कारण भनेको उहाँ एक माक्र्सवादी सौन्दर्यशास्त्री त हो नै साथै माक्र्सवाद—लेनिनवाद—माओवादप्रति दृढ देखिनुहुन्छ । उहाँले माक्र्सवादी साहित्यका नाममा उत्तरआधुनिकतावादको डटेर विरोध मात्र गर्नुभएको छैन, विचार र राजनीतिमा भएको भ्रष्टीकरणका विरुद्ध उभिराख्नुभएको छ । उहाँ राजनीतिमा संशोधनवाद र नवसंशोधनवादका विरुद्ध लडिराख्नुभएको छ तर मिहिन संशोधनवादका विरुद्ध पनि लड्न जरुरी छ किनभने मिहिन संशोधनवादले पनि साहित्यमा जरो गाडिरहेको छ ।

साथै विश्व कम्युनिस्ट आन्दोलनमा जस्तै नेपाली कम्युनिस्ट आन्दोलनबाट उब्जेका स्वस्फूर्त यथार्थवादी, बुर्जुवा यथार्थवादी र आलोचनात्मक यथार्थवादी पहिचान र किटान गर्नुभएको छ । स्वयम् उहाँ आफैँ पनि यी प्रवृत्तिसँग सङ्घर्ष गरिरहनुभएको छ । अक्टोबर क्रान्तिबाट सिर्जित साहित्यमा एउटा उपज संस्मरणात्मक निबन्ध लेखन पनि हो । अझ भन्नुपर्दा कार्ल माक्र्स र एङ्गेल्सका बीचमा कैयौँ चिठीपत्रहरू आदानप्रदान भएका थिए । महान् जनयुद्धका क्रममा संस्मरणात्मक निबन्ध र चिठीका बौछार नै थियो । नेपालका आफूलाई घागडान साहित्यकार भन्न रुचाउने साहित्यकारहरूले चिठी पनि कहीँ साहित्य हुन्छ भन्दथे । यो न्यायसङ्गत थिएन भन्ने पर्दछ ।
अन्त्यमा पुरस्कृत नेत्री, महान् जनयुद्धकी एक सिपाही, सहिद परिवार र जनयुद्धलाई संस्मरणमा अभिव्यक्त गर्ने साहित्यकार सीता विकलाई विशेष बधाई ।

२०७५ मङ्सिर १३ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :