कम्युनिस्ट पार्टी पुनर्गठनको महत्व

हामीले पार्टी पुनर्गठन गरेको पाँच वर्ष बितेको छ । काठमाडौँमा हजारौँ जनताको सहभागितामा भव्य रूपले पार्टीको पाँचौँ पुनर्गठन दिवस मनायौँ । साताव्यापी रूपमा देशभर विभिन्न कार्यक्रमहरू भए । पाँच वर्षप्रति गौरव गर्दै आउँदा दिनमा सफलताका लागि शुभकामना आदानप्रदान ग¥यौँ । हाम्रा नेता—कार्यकर्ता, कमान्डर—सदस्यहरूको मेहनत, लगनशीलता र बुद्धिमत्ता असाधारण रूपले सम्माननीय छ ।

हामीले पार्टी बनाएका छौँ, क्रान्तिको विचार, नीति र नेतृत्व निर्माण गरेका छौँ । हामीले सर्वहारावर्ग, श्रमिक जनता, उत्पीडित जनसमुदाय, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका लागि दह्रो विश्वास लिएका छौँ, आफ्नो दायित्व बोकेका छौँ । हामीले जनता र देशका समस्याहरूलाई लिएर सङ्घर्ष गरेका छौँ, जेलनेल खाएका छौँ, दमन झेलेका छौँ र बलिदान गरेका छौँ । यो प्रक्रियामा सर्वहारावर्ग, मजदुर किसान, बुद्धिजीवी, सहिद—बेपत्ता योद्धा परिवार, कम्युनिस्ट नेताहरू र देशभक्तहरूको साथसहयोग, माया, समर्थन र विश्वास पाएका छौँ । हामीलाई संशोधनवादविरुद्धको सङ्घर्ष र विद्रोह, पार्टी पुनर्गठन र शक्ति विकासका साथै नयाँ क्रान्तिका पक्षमा गरेको पहल सही र वस्तुवादी रहेको विश्वास अझ गहिरो गरी पैदा भएको छ । मुक्ति, स्वाधीनता र स्वतन्त्रताका हिमायती नेपाली श्रमिक जनता, हामीलाई माया गर्ने सम्पूर्ण नागरिकहरूप्रति विशेष श्रद्धा जागेको छ । हाम्रो क्रान्तिप्रतिको विश्वास कसैले हल्लाउन नसक्ने गरी अटल बनेको छ । हामी अरू जोडले प्रतिबद्ध हुन चाहन्छौँ– क्रान्ति, वैज्ञानिक समाजवाद—साम्यवाद, जनताको पूर्ण मुक्ति हाम्रो जीवनको अविच्छिन्न आदर्श हुनेछ ।

बेरोकटोक सत्ता भोगको चाहना राखेका दलाल पुँजीवादी वर्ग, पुँजीवादी, संशोधनवादी, आत्मसमर्पणवादी, विसर्जनवादीहरूसामु क्रान्ति भयानक आतङ्क बनेर उभिएको छ । उनीहरूको चारैतिर क्रान्तिको आतङ्क छाएको छ । उनीहरूले क्रान्तिको आतङ्कभित्र नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वपङ्क्तिलाई चक्क देखेका छन् । नेपाल कम्युनिस्ट पार्टीको विकास, सङ्घर्ष र समर्पणभावमा उनीहरूले आफ्नो वैभवशाली भविष्य र जीवन डुबिरहेको देखेका छन् । त्यसैले यसलाई कमजोर पार्न, दबाउन र समाप्त पार्न यो राज्यसत्ताका निर्देशक साम्राज्यवादी—उत्तरसाम्राज्यवादीदेखि देशमा सत्तामा लुट मच्चाइरहेका दलाल पुँजीपतिवर्ग, आत्मसमर्पणवादी, विसर्जनवादी, वितण्डावादीहरू सबै एक भएर पैतालादेखिको बल लगाइरहेका छन् ।

सबैखाले प्रतिक्रियावादीहरूका भाषा, षड्यन्त्र र दमनलाई हेर्दा माक्र्स—एङ्गेल्सले कम्युनिस्ट घोषणापत्रमा उल्लेख गर्नुभएजस्तै कम्युनिस्ट पार्टी अब एक शक्ति साबित भएको छ । हुन पनि यतिबेला दुई वर्गको धु्रवीकरणको मियो यिनै शक्ति बनेका छन् । एकातिर दलाल पुँजीपति वर्ग र उसको सत्ता छ भने अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी शक्तिहरू र वैज्ञानिक समाजवादी क्रान्ति छ । क्रान्ति र परिवर्तनको झन्डा यसैको हातमा छ । सारा क्रान्तिकारीहरूको यही मियोमा गोलबन्दी सुरु भएको छ ।

१० वर्षसम्म नेपाली श्रमिक जनताको नयाँ जनवादी क्रान्ति चलिरहँदा देशमा एउटा विशिष्ट अवस्था पैदा भयो । राजतन्त्र पनि समाप्त भयो । नयाँ जनवादी क्रान्ति पनि असफल पारियो । दुवैको ठाउँमा दलाल पुँजीवादी सत्ता स्थापना भयो । दलाल पुँजीवादी सत्ताले नेपाली समाजको वर्गसङ्घर्ष र उत्पीडनहरूलाई समाधान गरेन । पुरानोको ठाउँमा नयाँ वर्गको आधिपत्य र त्यसको शोषण—उत्पीडनलाई मात्र अगाडि ल्यायो । दलाल पुँजीपति वर्गको उत्पीडनभित्र श्रमिक जनता मात्र होइन, सारा देशका जनताहरू (दलाल वर्गबाहेक) परिरहेका छन् । देशको स्वाधीनता खतरामा परिरहेकै छ । आत्मसमर्पण दिन–प्रतिदिन बढ्दै गएको छ । सामाजिक असुरक्षाको लेखाजोखा छैन । समाज अराजकताका कारणले क्षतविक्षत भएको छ । नेपाली आमा, दिदीबहिनीहरूको जीवन इतिहासमै उत्पीडित (देशभित्र र बाहिर) बन्न पुगेको छ । हिंसामा सबैभन्दा बढी अभिजात वर्ग नै संलग्न छ । उत्पीडित जाति, समुदयाको अवस्था त्यस्तै जटिल बनेको छ ।

केही वर्ष पहिलेसम्म एमाले, काङ्ग्रेसबाट सुधार होला कि भनेर अपेक्षामा बसेका जनता अब यो दलाल पुँजीवादी व्यवस्थाबाट काम नचल्ने निष्कर्षमा पुगेका छन् । कतै जनता निराशातिर जान्छन् कि भन्ने चिन्ता टार्दै जनताले भरपर्दो वैकल्पिक नेतृत्व र विश्वासलाग्दो समाधान खोजेका छन् । हाम्रो पार्टीले बेलैमा दलाल पुँजीवादी सत्ताको ध्वंसकारी र पीडक चरित्रबारे अगाडि सारेको धारणा र क्रान्तिको आवश्यकताबारे राखेको विचारले गर्दा नेपाल कम्युनिस्ट पार्टी सबै जनताको आशामा बदलिएको छ । संसद्वादीहरूले एक दशकदेखि लगाएको शान्ति र समृद्धिको नारा मुठीभर दलालहरूको शान्ति र समृद्धिमा खुम्चिएर हावाजस्तो उडेर गएको छ । त्यसमा कुनै दम र सत्य बाँकी रहेको छैन ।

जनतालाई जानकारी भएको विषय नै हो तर हामी स्पष्ट गर्न चाहन्छौँ– दलाल पुँजीवादी सत्ताका विरुद्ध क्रान्ति कुनै पार्टीविशेष र नेताविशेषको विषय होइन । व्यापक अर्थमा हेर्ने हो भने यो विश्व मानवजातिका लागि अस्वीकार्य भइसकेको भूमण्डलीकृत पुँजीवादी राज्यसत्तालाई सदाका लागि मिल्काउने विषयसँग जोडिएको छ भने विशिष्ट अर्थमा भन्दा यो नेपाली जनता र देशको भविष्य र हितसँग जोडिएको विषय हो । जनता जे कारणले आजको उत्पीडित एवम् कङ्गालीकरणमा परेका छन् । देश जुन कारणले पराधीन र कङ्गाल बन्दै गएको छ, त्यसलाई समाधान गर्ने सवाल हो । यो भनिरहनु पर्दैन– रोगका कीटाणुहरू नमारेसम्म रोग निको हुँदैन । समस्याको जरो नउखेलेसम्म समस्या हट्दैन । हाम्रो जनताको दुःख र गरिबीका कारण दलाल पुँजीवादी वर्गको शोषण, उत्पीडन, लुट, आत्मसमर्पण र गद्दारी हो । यो सत्तालाई उखेलेर नफालेसम्म साथै यसको स्थानमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना नगरेसम्म जनताको अवस्थामा कहिल्यै सुधार आउनेछैन । देशको अवस्थामा परिवर्तन आउनेछैन । बरु जनताको जीवन झनै कष्टकर, सङ्कटग्रस्त र देश बेहाल हुँदै जानेछ । हाम्रो पार्टीले लगातार जनतासमक्ष यही भन्दै आएको छ– दलाल पुँजीवादलाई मिल्काउने र क्रान्ति सम्पन्न गर्ने विषय पार्टीको मामिला मात्र होइन । हाम्रो पार्टीले त जनता र देशको विषयलाई सत्यको गहिराइमा पुगेर प्रतिनिधित्व गरेको मात्र हो ।

जनतालाई यो पनि थाहा छ– दलाल पुँजीवादी सत्ता सञ्चालकहरूले सत्य बुझेर नै हाम्रो पार्टीमाथि दमन गरिरहेका छन् । यो दमन पनि मात्र हाम्रो पार्टी र हामी केही नेताहरूमाथिको दमन होइन । यो जनता र देशको साझा हितको नेतृत्व गर्ने जिम्मेवार पार्टीमाथिको दमन हो । अर्को अर्थमा यो जनता र देशमाथिकै दमन हो । हो दलाल सत्ताका लुटेराहरूले जनता र हाम्रो पार्टीलाई अलगथलग पार्न र भ्रम छर्न प्रयत्न गरिरहेका छन् । उनीहरूलाई ज्ञान छ– जनता र जनताका प्रतिनिधि पार्टी, देश र देशको प्रतिनिधि संस्थालाई टुक्रा पार्न नसकेसम्म उनीहरूको कालो सपना पूरा हुँदैन ।

क्रान्तिको नेतृत्व गर्न निश्चितै रूपले एक सुस्पष्ट, सही क्रान्तिकारी विचार र नेतृत्व चाहिन्छ । त्यसको कार्यान्वयन गर्ने पार्टी र साधन चाहिन्छ । तर यसो भनेर जे छ त्यतिबाट, जो छ त्यहीबाट मात्र भन्ने सही होइन । यसका लागि निश्चित विचारका आधारमा सबै क्रान्तिकारी वर्ग, पार्टीहरू, समुदाय, शक्तिहरूलाई एकताबद्ध र मोर्चाबद्ध बनाउँदै लानैपर्छ । क्रान्तिलाई फराकिलो राजमार्गमा हिँडाउन आँट गर्नैपर्छ । श्रमिक वर्ग र जनताका लागि त यो अपरिहार्य नै छ । हाम्रो पार्टी यसका लागि हरदम तत्पर छ । हामी कुनै पछि बनिबनाउ सङ्कीर्ण मान्यता र सोचाइमा बाँधिएर कुँजिन चाहँदैनौँ । वस्तुगत दुनियाँ र भौतिक अवस्थाले सही साबित गरेका र गर्ने मान्यताहरूलाई सहर्ष स्वीकार गर्दै क्रान्तिलाई सफलतातिर अगाडि बढाउन तयार छौँ । तर अर्को कुरा पनि सबैमा हेक्का रहोस्, कुनै पनि तर्क, बहाना, निहुँमा अगाडि बढिरहेको क्रान्तिलाई एकछिन पनि विराम लगाउन सकिँदैन । क्रान्तिकारी मार्गको आलोचना वा अनुसरण गर्न जति सजिलो हुन्छ, क्रान्तिको मार्ग कोर्न र त्यसलाई सफल गर्न अतुलनीय रूपले पेचिलो हुन्छ । जे कुरा सिद्धान्त र व्यवहारद्वारा सही साबित हुँदै अगाडि बढ्छ सबै क्रान्तिकारीले पूर्वाग्रहबिना त्यसलाई सुदृढ र विकास गर्न तत्पर हुनुपर्छ । हामी त्यही मालेमावादी मान्यतामा अगाडि बढौँ ।

अन्त्यमा हाम्रा नेता, कार्यकर्ता, जनमुक्ति सेना, जनसत्ता प्रतिनिधिहरूले आफ्नो र जनताको शक्तिलाई सुदृढ गर्न अझै परिश्रम लगाउनुपर्छ । हाम्रो काँधमा आएको नेपाली जनता, नेपाल देश, सर्वहारा क्रान्ति र वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्ने जिम्मेवारीलाई बलियो तरिकाले पकड्नुपर्छ । सबैले हेरिरहेको र विभिन्न प्रश्नहरूसहित गरिरहेको इमानदारीपूर्ण दायित्व निर्वाहको अपेक्षालाई सन्तुष्ट हुने गरी पूरा गर्न समर्पित हुनुपर्छ । दुःख–कष्टहरू हाम्रो नयाँ युग जन्माउने सपनाभन्दा धेरै तल छन् । पार्टी पुनर्गठनका सफलतपूर्ण पाँच वर्षअगाडि चढ्दै जाँदा अरू महान् वर्षहरू हुनेछन् । हामी सही छौँ भने हाम्रो सफलतालाई कसैले पनि रोक्न सक्नेछैन ।

२०७५ मङ्सिर १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!