मङ्सिर ८ ले दिएको सन्देश


मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँको प्रदर्शनीमार्गमा भव्य एवम् सानदार जनप्रदर्शन तथा जनसभा सम्पन्न ग¥यो । उक्त जनप्रदर्शन र जनसभाको सर्वत्र चर्चा र परिचर्चा भैराखेको छ । नेपालका सबैजसो मुख्य–मुख्य सञ्चारमाध्यमले महत्वका साथ उक्त कार्यक्रमको प्रचार गरे । यसअघि खासै महत्व नदिने ठूला सञ्चार–घरहरू जुन अहिले आएर निगमद्वारा सञ्चालित छन् उनीहरूले पनि महत्वका साथ स्थान दिएको पाइयो । यति मात्र नभएर सरकार नियन्त्रित सञ्चारमाध्यम र मुखपत्रहरूले पनि महत्वका साथ नै प्रचार गरेका थिए । अहिले भन्ने हो भने मोफसलमा मात्र नभएर मुख्य सहरहरूमा पनि उक्त कार्यक्रमलाई लिएर चर्चा–परिचर्चा चलिराखेको छ । आयोजक पक्षले मङ्सिर ८ को जनप्रदर्शन र जनसभालाई पूर्ण रूपले सफल भएको बताएको छ ।

मङ्सिर ८ गतेलाई नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको पुनर्गठनको दिन पारेर उक्त कार्यक्रम आयोजना गरेको थियो । गत साउनमा बसेको नेकपा केन्द्रीय समितिको बैठकले पार्टी पुनर्गठन दिवस भव्यताका साथ मनाउने निर्णय गरेलगत्तै पार्टी प्रवक्ता तथा स्थायी समितिका सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, बैठकअघि नै गिरफ्तार गरिएका पदम राई, ओमप्रकाश पुनहरू हिरासतमा नै थिए । साउन १० गते पोलिटब्युरो सदस्यहरू कृष्ण धमला, मोहन कार्कीहरू गिरफ्तार भैसकेका थिए । अनि साउन २३ गते दिउँसो टेकबहादुर केसी र साँझ प्रकाण्डलाई गिरफ्तार गरिएको थियो । यसैगरी भदौ ५ गते चन्द्रबहादुर खड्का र भदौ १२ गते पोलिटब्युरो सदस्य उमा भुजेललाई गिरफ्तार गरेपछि ११ जना केन्द्रीय नेता गिरफ्तारीमा परिसकेका थिए । जिल्लास्तरका नेता÷कार्यकर्ता सयौँको सङ्ख्यामा गिरफ्तार गरिएको थियो ।

यसरी राज्यले नेकपाका नेता÷कार्यकर्तामाथि व्यापक धरपकड गर्नुका साथै चरम दमन चलाएको थियो । नेकपाको योजनाबद्ध प्रतिरोध, जनताको विरोध, मानवअधिकारवादी, कानुनविद्हरूको खबरदारीसँगै नेता र कार्यकर्ताहरूलाई राज्य अदालतको आदेशमा छाड्न बाध्य भएको थियो । मङ्सिर ८ को जनप्रदर्शन र जनसभाको प्रचारप्रसारकै क्रममा व्यापक रूपमा नेता र कार्यकर्तालाई गिरफ्तार गरिएको थियो । यति हुँदाहुँदै पनि हजारौँको सङ्ख्यामा जनता देशको कुनाकाप्चाबाट उत्साह र उमङ्गका साथ उपस्थित भए ।

नेकपाको आयोजनामा भएको उक्त जनप्रदर्शन र जनसभाले नेपाली क्रान्तिकारीहरूलाई मात्र नभएर विश्वका सर्वहारावर्गलाई उत्साहित र क्रान्तिप्रति उत्प्रेरित बनाएको छ । नेपालमा प्रचण्ड—बाबुरामहरूले विसर्जन गरेको नेपाली क्रान्ति नयाँ शिरा र उचाइमा उठ्न लागेको आभास दिएको छ ।
जनताको इच्छा, चाहना र भावनाविपरीत बलजफ्ती संविधान बनाएपछि भएका चुनावहरूपछि बनेको ‘वामपन्थी’ को बहुमतको सरकारले कम्युनिस्टहरूको बदनाम गर्नुका साथै बुर्जुवाहरूलाई हँसाउने काम गरिराखेका छन् । क्रान्ति र परिवर्तनका पक्षमा उभिँदै आएका जनतालाई निराश बनाइरहेको अवस्थामा मङ्सिर ८ गतेको जनसभा र जनप्रदर्शनले एकपटक पुनः उत्साहित र उत्प्रेरित बनाएको छ ।

लामो समयदेखि राजनीतिक रूपमा कुनै पनि शक्तिले यो सत्ता र सरकारका विरुद्ध जनतालाई जागरुक बनाएर सडकमा ल्याउन सकेको थिएन । ‘वाम’ को दुईतिहाइ बहुमतको सरकारलाई कसैले ललकार्न सकेको थिएन । दिनदिनै जस्तो भएका र हुने गरेका महिला हिंसा, हत्या, बलात्कार, राष्ट्रघात र जनघातका विरुद्ध सङ्गठित रूपमा जनताले आवाज घन्काउन सकेका थिएनन् । यस्तो लाग्दथ्यो– यो देशमा तानाशाहहरूले जनताको मुखमा सदाका लागि ताला लगाइदिएका छन् । यहाँ हिटलरको पुनर्जन्म भएको छ । तर मङ्सिर ८ को सभाले उनीहरूको तालाबन्दीलाई तोडिदिएका छन् । ओली सरकारमा आसीन भएपछिको दस महिनाको मौनता तोडिदिएको छ ।

सबैभन्दा राम्रो पक्ष र उज्ज्वल भविष्यको मार्गप्रदर्शन गरेको भनेको के हो भने नेपालमा लामो समयसम्म गाँजिरहेको संशोधनवाद, नवसंशोधनवाद र छद्मसंशोधनवादले क्रान्तिका विरुद्ध छरेका सबै भ्रमहरूलाई यसले चिरिदिएको छ । यो जनप्रदर्शन र जनसभाले प्रतिक्रियावादी र प्रतिगामीहरूका तिकडम, षड्यन्त्र, दमनको प्रतिवाद गर्दै नेपालमा नयाँ क्रान्तिका लागि जनता जागरुक भैरहेको सन्देश दिएको छ ।

साथै यो जनप्रदर्शन र जनसभाले अब नेपालका सच्चा देशभक्त, वामपन्थी, जनवादी र प्रगतिशील शक्तिहरूले एकजुट भएर जनता र राष्ट्रको मुक्तिका लागि अघि बढ्न प्रेरित गरेको छ र अब यो शक्ति एक ठाउँमा उभिएर सामाजिक फासिवादी दलाल संसदीय व्यवस्थाको उन्मूलन गरी वैज्ञानिक समाजवाद स्थापनाको मार्ग कोर्न ढिला गर्नु हुँदैन भन्ने सन्देश दिएको छ । अन्यथा अहिलेको अस्तव्यस्त र अराजक परिवेशलाई प्रतिगामीहरूले जनतामा भ्रम छरेर अन्तिम प्रतिक्रान्तिको तानाबाना नबुन्लान् भन्न सकिँदैन । त्यसैले मङ्सिर ८ गतेले दिएको सन्देशलाई हृदयङ्गम गर्न जरुरी छ । सम्पादकीय
२०७५ मङ्सिर १२ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :