पत्रकार चन्दलाई रिहा गर्न सङ्गठनको माग

काठमाडौँ : क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले अनलाइन समाचार पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले गिरफ्तार गरेकोमा आपत्ति व्यक्त गर्दै तत्काल रिहा गर्न माग गरेको छ । सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेले मङ्गलबार विज्ञप्ति जारी गरी चन्दलाई तत्काल रिहा गर्न माग गरेका छन् । डुम्रेले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ यसप्रकार रहेको छ :

क्रान्तिकारी पत्रकार सङ्गठन नेपालले पछिल्लो समय देशव्यापी रूपमा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा बहस चलाउँदै आएको छ । केही समयअगाडिदेखि लागू भएको मुलुकी ऐन २०७४ ले पत्रकारिता क्षेत्रमा स्वतन्त्रतापूर्वक काम गर्नसमेत नसक्ने स्थिति बनाइरहँदा यस्ता कानुनहरूलाई खारेजीको मागसहित हामीले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराइरहेका छौँ । हाम्रो सङ्गठन आज पनि कुण्ठित गरिएका पत्रकारका अधिकारको पुनर्बहाली गर्न सङ्घर्षरत छ । पछिल्लो समय देशका विभिन्न क्षेत्रबाट समाचार लेखेकै आधारमा पत्रकारहरूलाई धरपकड गर्ने, गिरफ्तारी गर्ने र मुद्दा लगाउने काम सरकारले गरेको छ । यसै सन्दर्भमा अनलाइन समाचार पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । समाचार लेखेकै कारणले उहाँलाई गिरफ्तार गर्नुले प्रेसजगत्को घाँटी निमोठिएको छ । समाचार गलत थियो वा समाचारमा चित्त नबुझेको भए पत्रकारहरूको आचारसंहिता बनाउने जिम्मेवार निकाय प्रेस काउन्सिलबाट उचित उपचार खोज्न सकिन्थ्यो । तर प्रहरीले जबरजस्त हस्तक्षेप गरी गिरफ्तार गर्नुले प्रेस काउन्सिलको समेत अपमान भएको छ । एउटा श्रमजीवी पत्रकारले जनतालाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दागर्दै कार्यस्थलबाटै गिरफ्तार गरिनु पत्रकारहरूको पेसागत मर्यादामाथिको हस्तक्षेप मात्रै होइन, पत्रकारिताको स्वतन्त्रताको धज्जी उडाउने कामसमेत भएको छ । पत्रकारलाई समाचार लेखेकै भरमा गरिएको अमानवीय हर्कतको हामी श्रमजीवी पत्रकारको हक, हित र सुरक्षाका लागि अहोरात्र सङ्घर्षरत हाम्रो सङ्गठन क्रान्तिकारी पत्रकार सङ्गठन घोर भत्र्सना गर्दछ । साथै गिरफ्तार पत्रकारको तत्काल रिहाइको माग गर्दै यस्ता हर्कतहरू पुनः नदोहो¥याउन अपिल गर्दछौँ  ।

२०७५  मङ्सिर ११ गते प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :